८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मिर्गाैलापीडितका छोराछोरीको उच्च शिक्षाको खर्च जुट्यो

विद्यालय भर्ना गर्ने कार्यक्रममा मिर्गाैलापीडित पुनसँगै छोराछोरी । तस्बिरः हरिकृष्ण गौतम÷नागरिक

म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट जुवाङका दुई बालबालिकालाई आर्थिक सहयोगसँगै उच्च शिक्षासम्मको खर्च जुटेको छ । आमाले दोस्रो विवाह गरेको र बुबा दुवै मिर्गाैलामा खराबि आएपछि ती बालबालिका अप्ठेरोमा परेका थिए ।  

३ वर्षिय धिरन र ८ वर्षिया ज्ञानु पुनको उच्च शिक्षासम्म र त्यसपछिको शिक्षामा समेत आवश्यक पर्ने खर्च सुनिश्चितता भएको हो । दुवैजनालाई जिपी फाउण्डेशन अमेरिकाले शिक्षा, स्वास्थ्योपचार, लालनपालन लगायतको आवश्यक खर्च उपलब्ध गराउने निश्चित गरेको हो ।  

विदेशमा रहेका बुबा चित्रबहादुर पुन मिर्गाैलामा खराबि आएपछि घर फर्किदा आमाले दोस्रो विवाह गरी सम्पर्कविहीन भएपछि अलपत्र परेका ज्ञानु र धिरनलाई अमर तामाङको स्मृतिमा जिपी फाउण्डेशन अमेरिका मार्फत सहयोग हुने महिला संयोजक दावा शेर्पाले बताइन । उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको जिम्मेवारी लिएपछि इसारा लामा मार्फत दरबाङको केबि एकेडेमीमा कक्षा १० सम्म मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने सम्झौता समेत भएको छ । फाउण्डेसनले आवश्यक सम्पूर्ण खर्च गर्ने महिला संयोजक शेर्पाले बताईन् ।  

मासिक शुल्क, लत्ताकपडा, आवासीय सुविधाका साथै पकेट खर्च समेत फाउण्डेशनले दिने सम्झौता भएको विद्यालयका प्रबन्धक निर्देशक हिरा पुनले बताए । विद्यालयले समेत मासिक र होस्टेल शुल्कमा २५ प्रतिशत छुट दिएको उनले बताए । त्यस्तै ज्ञानु र धिरनको संयुक्त  नाममा गरिमा विकास बैंकमा रहेको खातामा ३ लाख १९ हजार रुपैयाँ जम्मा भएको स्थानीय भ बहादुर पुनले बताए ।  

यसैबीच विदेशमा गएको समयमा श्रीमतीले दोस्रो विवाह गरेपछि अलपत्र परेका छोराछोरीलाई पहिलोपटक विद्यालयमा देखेपछि मृगौला पीडित निकै नै खुसी भए । आफ्नो परिवारलाई सुखमा पाल्छु भनेर धन कमाउन खाडी गएर घर फर्किने बेलामा श्रीमतीले दोस्रो विवाह गरेपछि विचल्लीमा परेका छोराछोरीसँग बोल्न खोज्दा गला अवरुद्ध भएको उनले बताए । आमाको काखमा गुटुमुटु सुत्ने बेलामा मुटु नै कमाउने जाडोमा खाली खुट्टा, एकसरो लुगा लगाएको तस्वीर समाचारमा देखेका चित्रबहादुरले तीन महिनापछि छोराछोरीलाई अंगोलो हालेर पटक–पटक भक्कानिए ।  

दरबाङको केबी एकेडेमी एण्ड बोर्डिङ स्कुलमा चित्रबहादुर भावुक बनेको देखेपछि कार्यक्रममा उपस्थित धेरैले आँशु थाम्न सकेनन् । चित्रबहादुर छोराछोरीको शिक्षादीक्षामा सहयोग जुटेपछि विद्यालयमा पुगेर आफ्नो पीडा पोख्न खोज्दा सम्हाल्न नसकेर भक्कानिएर रोएका थिए ।  रोग लिएर विदेशबाट फर्किदा त्यसअघि कमाएको पैसा लिएर श्रीमती बेपत्ता भएपछि डायलासिस गर्ने खर्च समेत नभएको अवस्थामा निस्कोटबासीको पहलमा संकलन भएको आर्थिकले सहज भएको उनले बताए । पोखराको आस्था क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरमा उपचारार्थ पुनले छोराछोरीको शिक्षादीक्षामा प्राप्त सहयोगले आफ्नो रोग आधा निको भएजस्तो महसुस भएको बताए । ‘छोराछोरीको चिन्ताले सताइरहन्थ्यो, । अब सहयोगीको साथले उनीहरुलाई विद्यालय जान सहज भयो’ उनले भने । 

प्रकाशित: १५ पुस २०७७ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App