५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय गौरवका सिंचाइ आयोजना : समष्टिगत प्रगति न्यून

रानीजमरा कुलरीया सिंचाइ आयोजनाको लम्कीखण्डको नहर। तस्विर सौजन्य : ऊर्जा मन्त्रालय

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिंचाइका आयोजनाको समष्टिगत प्रगति निरासाजनक भएपनि चालु आवको चौमासिक प्रतिवेदन भने  सन्तोषजनक देखिएको छ।  ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिंचाइका आयोजनाको चालु आवको चौमासिकमा सन्तोषजनक भौतिक तथा वित्तीय प्रगतिमा भएको  जनाएको छ।  

मन्त्रालयले  सार्वजनिक गरेको चौमासिक प्रतिवेदन अनुसार ऊर्जा मन्त्रालयले पछिल्लो चार महिनामा ७८ प्रतिशत वित्तीय र ७७.८८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ।  सिंचाइतर्फको वित्तीय प्रगति ४२. ६६ र भौतिक प्रगति ७३. ६४ छ।  मन्त्रालयको समष्टिगत वित्तीय प्रगति ६८.७३ प्रतिशत र भौतिक प्रगति ७६. ७४ प्रतशित छ।  

मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ का लागि कूल बजेट ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो।  चालु आवको चार महिनामा १४ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ।  

सुनकोसी मरिनको एक वर्षमा १ प्रतिशत प्रगति

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको एक वर्षको अवधिमा समष्टिगत भौतिक प्रगति एक प्रतिशत मात्रै भएको छ।  यो आयोजना २०७६/७७ आवदेखि  निर्माण सुरु भएको हो।  भर्खरै सुरु भएकाले यो आयोजनाको हालसम्मको समष्टिगत प्रगति १ प्रतिशत मात्रै छ। यो आयोजनाको समष्टिगत वित्तीय प्रगति  ०.५४ प्रतिशत मात्रै भएको छ।  यो आयोजनाको सुरुङ निर्माण कार्यको लागि पूर्व योग्यताको सूचना प्रकाशन भई मूल्यांकन भइरहेको जनायो।  हेडवक्र्स पावरहाउस सर्जसाफ्ट आदिको डिटेल्स इन्जिनियरिङ डिजाइन कार्यको डाफ्ट रिपोर्ट तयारी  कार्य अन्तिम चरणमा पुगेको  जनायो।  कोभिड १९को कारणले जग्गा अधिग्रहण सम्बन्धि आवश्यक कार्यमा ढिलाई भइरहेको छ। त्यसैगरी आयोजनाको विभिन्न संरचनाहरुको विस्तृत इन्जिनियरिङ डिजाइन कार्यमा ढिलाई भइरहेको छ।  यो आयोजनाको चालु आवको चार महिनाको अवधिमा ९८.६८ प्रतिशत भौतिक प्रगति भएको छ।  सोही अवधिमा वित्तीय प्रगति भने ४.२७ प्रतिशतमा मात्रै सीमित भएको छ।  

भेरी बबईको ४० प्रतिशत  

चालु आवको चार महिनाको अवधिमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक प्रगति ८०.२६ प्रतिशत भएको छ।  सोही अवधिमा वित्तीय प्रगति २७.९३ प्रतिशत भएको छ।  राष्ट्रिय गौरवमा सूचीकृत भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको समष्टिगत प्रगति ४० प्रतिशत भएको छ ।  यो आयोजनाको समष्टिगत वित्तीय प्रगति ३५ प्रतिशत मात्रै भएको छ।  यो आयोजना ०६७/६८ सालदेखि निर्माण सुरु गरिएको हो।    सरकारले यो आयोजना ०७९/८० सम्म सम्पन गरी बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सेवा उपलब्ध गराउन भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा खसालिने योजनासहित सुरु गरेको थियो । यसबाट ४६.८ मेगावाट बिजुली पनि उत्पादन गर्ने लक्ष्य छ । चालु आवको चौमासिकमा कोभिड १९ को कारणले निर्माण सामग्री तथा उपकरण आदीको ढुवानीमा अवरोध आएकाले निर्माण कार्य प्रभावित भएको जनायो।  

बबईको समष्टिगत भौतिक ५१.८९ प्रतिशत

आव २०४५/४६ सालदेखि निर्माण सुरु भएको बबई सिंचाई आयोजनाको समष्टिगत भौतिक प्रगति हालसम्म ५१.८९ प्रतिशत मात्रै भएको छ।  यो आयोजनाको समष्टिगत वित्तीय प्रगति ४५.७१ प्रतिशत भएको छ।  त्यसैगरी बबई सिंचाई आयोजनाले चालु आवको चार महिनामा लक्ष्यको ८०.७८ प्रतिशत भौतिक प्रगति गरेको छ।  यो आयोजनाको वित्तीय प्रगति ३८.२२ प्रतिशत मात्रै रहेको छ।   मन्त्रालयले सिक्टा सिचाई आयोजनाको लागि २८ करोड १२ लाख रुपैयाँ बिनियोजन गरेकोमा चालु आवको चौमासिकसम्म ४२.५१ प्रतिशत रकम मात्रै खर्च गरेको छ।  यो आयोजनाले चार महिनाको अवधिमा भौतिक प्रगति ९६.९३ प्रतिशत हासिल गरेको छ।  

रानीजमरा कुलरीयाको ४८.९ प्रतिशत

राष्ट्रिय गौरवमा सूचीकृत रानी जमरा कुलरीया सिंचाई आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ४८.९ प्रतिशत भएको छ।  यो आयोजनाको वित्तीय प्रगति भने ४८. २६ प्रतिशत भएको मन्त्रालयले जनायो।  त्यसैगरी रानी जमरा सिचाई आयोजनाको चालु आवको चार महिनाको अवधिमा ८०. २६ प्रतिशत भौतिक प्रगति भएको छ।  सोही अवधिमा वित्तीय प्रगति भने २७.९३ प्रतिशत मात्रै  मन्त्रालयको प्रतिवेदनले देखाएको छ।  सरकारले यो आयोजना २०८०/८१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।  

 

 

प्रकाशित: २२ मंसिर २०७७ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App