५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

'सुध्रिएन अत्तरिया चौक'

अत्तरिया चौकको सडकको अवस्था । तस्बिर : पुष्पराज/नागरिक

अत्तरिया चौक सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार हो। जहाँ, पुग्ने वित्तिकै सुन्दर सुदूरपश्चिमको कल्पना गरेर आएका आगन्तुकहरूले सोचेभन्दा फरक पाउने गरेका छन्। वर्षौंदेखि अत्तरियाको मुख्य चौकको सडक फुटेको छ। फुटेको सडकमा गुडिरहने गाडीले उडाउने धुलोले साँच्चै प्रदेशको स्थायी राजधानी तथा प्रदेशकै प्रमुख प्रवेश द्वारका रुपमा रहेको अत्तरियालाई ‘गिज्याइ’ रहेको भान हुन्छ। हो, त्यही सडक वर्षौदेखि स्थानीयले मर्मत सम्भार गरिदिन पटक–पटक आग्रह गर्दा पनि अहिलेसम्म सुध्रिन सकेको छैन।  

मोहनापुल–अत्तरिया निर्माणाधीन ६ लेन सडक कालोपत्रे भइसकेको छ। सीमा क्षेत्र मोहनापुलदेखि सुदूरपश्चिम प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी अत्तरिया पुग्न अहिले केही बेर लाग्दैन। चिल्लो बाटोमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुगिन्छ, तब आइपुग्छ ‘धुलाम्य चोक’। चौकमै पुग्दा लाग्छ कुनै दुर्गम ग्रामीण क्षेत्रको ग्राभेल सडकमा सवारी सधान गुडिरहेको छ। यस्तै पूर्व पश्चिम राजमार्गबाट अत्तरियास्थित ट्राफिक पोष्ट नजिक पुग्दा गज्जबकै सडक निर्माण भएको भान हुन्छ। ट्राफिक पोष्टदेखि चौक नजिकसम्म आरसिसी ढलान गरी चाक्लो सडक बनाइएको छ। तर, आरसिसी सकिने बित्तिकै चोकमै पुनः उस्तै ‘धुलाम्य’ सडक भेटिन्छ।  

प्रवेशद्वारकै सडकको अवस्था नाजुक रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा बताउँछन्। ‘यो अत्तरिया चोक वर्षौंदेखि बिग्रिएको अवस्थामा छ,’ उनले भने,‘अहिलेसम्म कसैले पनि बनाउने प्रयास गरेको छैन।’ खाल्डाखुल्डी परेको ठाउँमा टाल्न नसके पनि ग्राभेल हालेर खाडल पुरिदिन पटक–पटक स्थानीय तह र सडक डिभिजन कार्यालयलाई आग्रह गर्दा पनि कसैले नसुनिदिएको गुनासो अर्का स्थानीय प्रेमराज भट्ट गर्छन्। 

‘अगाडि पछाडि राम्रो सडक छ, अत्तरिया चौकैमुनि खाल्डाखुल्डी छन्,’ उनले भने,‘चौकमा पुग्ने जो कोही अत्तरिया चौकको अवस्था देख्दा चिन्तित हुन्छन्।’ अगाडि पछाडिको चिप्लो सडक देखेर सवारी हुइँक्याउँदै आउनेहरु चौकमा पुगेपछि ब्रेक हान्दा दुर्घटना हुने भय बढेको बताउँदै उनले भने,‘खाल्डा खुल्डीले दैनिक दुर्घटना बढीरहेका हुन्छन्।’ सामान्य वर्षा हुँदा समेत अत्तरिया चौकका खाल्डाखुल्डी भरिएर जलमग्न हुने गरेको बताउँदै उनले भने,‘पानी नपर्दा भने चौक धुलाम्य हुन्छ, अगाडि पछाडि आएको सवारी साधान नै देखिँदैन।’  

प्रदेशको राजधानी तोकिएको अत्तरिया मुख्य चौकको सडक व्यवस्थित बनाउनु पर्ने बताउँदै योगेश रावलले भने,‘कमसेकम प्रदेशको राजधानी तोकिएको सहरको सडकको अवस्था प्रदेश सरकारले राम्रो बनाइदिनुपथ्र्यो।’ प्रदेशको मुख्य प्रवेशद्वार नै थोत्रो देखिएपछि त्यसले समग्र सुदूरपश्चिमको अवस्था देखाउने भएकाले यसलाई राम्रो बनाउनुपर्ने उनले सुझाए।  

अत्तरिया चोकको फुटेको सडकले सौन्दर्य विग्रनुका साथै धुलाम्य हुँदा चौकमा ड्युटी गर्ने ट्राफिक प्रहरीलाई श्वास प्रश्वासको समस्या हुने गरेको बताउँदै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी बामदेव गौतमले भने,‘मुख्य चौकमै सडक फुटेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ।’ सडक निर्माणका लागि डिभिजन सडक कार्यालय महेन्द्रनगरलाई पटक पटक मौखिक रुपमा जानकारी गराएको बताउँदै उनले भने,‘चाँडो सडक बनाइदिएमा ट्राफिक व्यवस्थापनमा सहजता हुन्थ्यो।’    

अत्तरिया चौकको फुटेको सडकलाई चालू आर्थिक वर्षमा मर्मत सम्भार गरिने बताउँदै सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशीले भने,‘६ लेन सडकसँगको लेबलमा चौकमा माटो भरान गरेर मर्मत सम्भार गरिने छ।’ उनले यसका साथै अत्तरिया चौकसँगै नालामा रहेका स्ल्यावलाई पनि मर्मत सम्भार गरिने बताए। उनले अबको केही दिनमै अत्तरिया चौकमा परेका खाडललाई टेण्डर आह्वान गरेरै पूर्व–पश्चिम र उत्तरी सडकलाई चार लेनको बनाइने उनले बताए।

प्रकाशित: १९ मंसिर २०७७ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App