१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना परीक्षणमा एन्टिजेन विधि अपनाइने

पिसिआर बिधिबाट कोभिड १९ संक्रमण परीक्षण गर्दै आएकोमा अबदेखि एन्टिजेन विधिबाट परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल निजी क्षेत्रमा एकाध रुपमा परीक्षण हुँदै आएको यो विधि सरकारले लाखौंमा परीक्षण गर्नेगरी रिएजेन्ट ल्याउने तयारी गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। वरिष्ठ प्याथोलोजिष्ट डा. हरिचन्द्र उपे्रतीका अनुसार किट जस्तै प्रविधिमा मेसिनमा रिएजेन्ट र मानिसको स्वाब नमुना राखेर परीक्षण गर्ने विधि हो। यो परीक्षण विधिबाट तुरुन्तै रिपोर्ट आउँछ। किटजस्तै भाँडोमा पहिले नै कोरोना भाइरसको जेनेटिक मेटरियल राखिएको हुन्छ। त्यसको एक कुनामा घाँटी या मुखबाट निकालिएको स्वाब राखेर परीक्षण प्रक्रिया हुन्छ।

रिएजेन्ट परिक्षणको लागि विश्व स्वास्थ्य संगठनले सुरुको चरणमा नेपालका लागि १ लाख रिएजेन्ट किट छुट्टयाइसकेको र दोस्रो चरणमा नेपाल सरकार आफैले खरिद गर्ने तयारी भएको प्रवक्ता गौतमले बताए। ‘विश्व स्वास्थ्य संगठनको मुख्यालयमा तयारी अवस्थामा छ, नेपाल आइपुग्दा करिब एक महिना लाग्छ,’ उनले भने।

संघले दिएको रिजेन्ट तथा सामग्रीको प्रयोगसंगै नेपालले ३ नमुना परीक्षण गर्ने गरी तुरुन्तै रिएजेन्ट खरिद गर्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ। एन्टिजेन परीक्षण पिसिआर परीक्षणको तुलनामा बढी विश्वसनीय भएकाले यो परीक्षण विधि प्रयोगमा ल्याउन लागेको गौतमले बताए। ‘पिसिआर विधिबाट ७० प्रतिशत भरपर्दो रिपोर्ट हुन्छ भने यसको ८५ प्रतिशत,’ उनले भने।

कोरोनामै परीक्षणका लागि अमेरिकाले नेपाललाई १ हजार किट दिएको र केही दिनमै आउने क्रममा रहेको डा. गौतमले जानकारी दिए।

प्रकाशित: २९ कार्तिक २०७७ ०२:२२ शनिबार

एन्टिजेन विधिबाट परीक्षण पिसिआर परीक्षण