६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाडीमा छैन सावधानी

फाइल तस्बिर।

सवारीसाधनमा यात्रुले मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने, लामो दूरी भएका कारण सुरक्षित खानपिन र उठबस जस्ता कुरामा अति सावधानी अपनाउनुपर्ने जस्ता मापदण्ड बनाएर कोभिड–१९ (कोरोना भाइरस) का कारण बन्द भएका यातायात सञ्चालन गर्ने सरकारले निर्णय ग-यो। तर, कोरोना भाइरस न्यूनीकरण नहुँदा पनि यातायात व्यवसायीले उक्त मापदण्ड पालना नगरेको पाइएको छ।

गाडी चालक र सहचालक आफैँ मास्क र स्यानिटाइजर प्रयोग नगर्दा यात्रुहरू पनि आफ्नो दायित्वबाट पछाडि हट्ने गरेका छन्। कोचाकोच अवस्थामा रहेका यात्रुले यात्रा पूरा नगर्दासम्म माक्स नखोल्ने भनिए पनि केही यात्रुले मास्कसमेत प्रयोग गरेका हुँदैनन्। चालक र सहचालक माक्स लगाए पनि चिउँडोमा लगाउँछन्। त्यसको कुनै अर्थ हुँदैन। धेरै चालकले चिउँडोमा झुन्ड्याएको मास्क प्रयोग गर्ने समयसीमाभन्दा धेरै प्रयोग गरिएको जस्ता देखिन्छन्।

‘यात्रु बस्दा नै सहचालकले माक्स, स्यानिटाइजर अनिवार्य लगाइदिनु पर्छ,’ नेपालगन्जबाट सुर्खेत आएका कालीकोटका दिपेन्द्र बुढाले भने, ‘चालक, सहचालक आफैँ लगाउँदैनन्, अनि उनीहरुले यात्रुलाई कसरी सावधानी गराउलान्।’ यस्तो अवस्थामा यात्रु आफैँले सावधानी अपनाउनु पर्ने भए पनि त्यस्तो हुन नसकेको उनको भनाइ छ।

गाडीमा सावधानी नअपनाइँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने डर हुने भन्दै उनले भने, ‘सरकारी मापदण्ड पूरा गर्न यात्रुले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ।’ जसले नागरिकको दायित्व पूरा हुने र कोरोना भाइरस संक्रमणको डर पनि कम हुने उनले बताए। सुर्खेतस्थित वीरेन्द्रनगर रहेको बसपार्कबाट दैलेख जाँदै गरेको गाडीभरि यात्रु थिए। धेरैले मास्क प्रयोग गरेका थिए भने थोरैले लगाएका थिएनन्। चालक र सहचालक मास्क लगाएका थिएनन्। उनीहरूलाई यात्रु तानातान गर्नमै व्यस्त थिए। ‘गाडीमा बस्दा अनिवार्य मास्क लगाउन मापदण्ड भए पनि सबैले लगाउँदैनन्,’ सुर्खेतबाट दैलेख जाँदै गरेका प्रवीण केसीले भने, ‘गाडी कर्मचारीले पनि समातेर गाडीभित्र बसाल्छन्।’ गाडीमा बसाइँ व्यवस्थापन नहुँदा पनि जोखिम बढ्दो छ।

‘गाडी चालक र सहचालक दैनिक धेरै मान्छेसँगको सम्पर्कमा हुन्छन्,’ सम्झना ऐडीले भनिन्, ‘उनीहरूले त झन अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने हो। तर उनीहरू आफैँ मास्क र स्यानिटाइजर प्रयोग गर्दैनन्।’ गाडीमा चढ्नुपर्ने बाध्यता भएको भन्दै उनी भन्छिन्, ‘तर गाडीमा बस्दा सुरक्षित रहेको अनुभूति भएन।’ हवाइ सेवा सञ्चालन गर्दा गरिएको जस्तो मापदण्ड यातायात क्षेत्रमा अनिवार्य गर्नुपर्ने उनको भनाइ छ। यातायात व्यवसायीले सरकारी मापदण्ड पूरा गरे नगरेको अनुगमन गर्ने निकाय ट्राफिक प्रहरी गाडीसँग पैसा उठाउन नै ठिक्क हुने यात्रुहरूको गुनासो छ। ट्राफिक प्रहरीलाई ‘घुस’ दिँदा सरकारी मापदण्ड पूरा नगरे पनि हुने उनी यात्रुहरू बताउँछन्।

गाडीमा अर्काे जोखिम भने गाडी व्यवसायीको व्यवहार। गाडीभित्र जान लाग्दा वा अर्काे गाडीमा जान खोज्दा गाडी कर्मचारीले समातेर गाडीभित्र बसाल्नु। जबकी कोरोना भाइरस एकअर्काेलाई छुँदा र दुई मिटरभन्दा नजिक भएर बोल्दा वा बस्दा सर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। तर गाडी कर्मचारीको यस्तो व्यवहारले सहजै एकबाट अर्काेमा कोरोना सर्ने सम्भावना देखिन्छ। तिहार नजिकिँदै गर्दा यात्रुको चाप बढ्दो छ। त्यसमा पनि स्वास्थ्य सुरक्षा सावधानी नअपनाउँदा कोरोना भाइरसको संक्रमणको त्रास पनि बढ्दै गएको छ। कर्णालीमा पछिल्लो समय कोरोना संक्रमण दिनानुदिन बढ्दै गएका छन्।

यातायात व्यवसायीले भने सरकारी मापदण्ड पूरा गरेको बताउँछन्। ‘सरकारले तोकेको मापदण्ड पूरा गरेका छौं,’ यातायात व्यवसायी लक्ष्मण बुढाले भने, ‘गाडीमा मास्क र स्यानिटाइजर अनिवार्य गरेका छौं।’ उनले यसो भनिरहँदा उनको गाडीमा सरकारी मापदण्ड पूरा गरेको देखिँदैनथ्यो। गाडीभरि यात्रु थिए। उनी आफैँ स्वयम्ले मास्क चिउँडोमा झुन्ड्याएका थिए। ‘गाडीका क्षमताभन्दा बढी यात्रु राखेको छैनौं,’ उनी भन्छन्, ‘सिट नजिक हुँदा यात्रु भने एकअर्काेसँग ‘टच’ हुन्छन्।’ कोरोना भाइरसका त्रासभन्दा पनि बैंकको ऋणका डरले यस्तो त्रासका बेला पनि गाडी चलाउन बाध्य भएको उनको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०७७ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App