१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

होम आइसोलेसनमै बढ्यो जोखिम

कोभिड १९ संक्रमण परीक्षण गर्नुभन्दा पाँच दिनअघि नै नेपाली कांगे्रसका नेता मीन विश्वकर्मालाई रुघाखोकीको समस्या देखिएको थियो। चार/पाँच दिनसम्म पनि रुघाखोकी निको नभएपछि उनले कात्तिक १ गते कोरोना परीक्षण गरे। त्यही दिन उनलाई कोरोना पोजिटिभ भएको रिपोर्ट आयो। रिपोर्ट आएपछि नौ दिनसम्म विश्वकर्माले घरैमा अक्सिजन लिने, ज्वरोको औषधि खाने जस्ता थेरापी चलाइरहे। यति गर्दा पनि निको नभएपछि उनी ९ गते वीर अस्पतालको कोभिड वार्ड र १० गते आइसियुमा भर्ना भए। सुधार नभएपछि उनलाई कात्तिक ११ गते ग्रान्डी अस्पताल लगियो। अहिले उनको उपचार भेन्टिलेटरमा भइरहेको छ।

हास्य कलाकार मनोज गजुरेलमा पनि कात्तिक पहिलो साता कोरोना संक्रमण पुष्टि भयो। तर स्वास्थ्य अवस्थामा सुधार नभएपछि बुधबार उनलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बु लगियो। समस्या गम्भीर देखिएकाले उनलाई आइसियुमा भर्ना गरिएको अस्पतालले जनाएको छ।

विश्वकर्मा र गजुरेल होम आइसोलेसनबाट गम्भीर भएर अस्पताल पुग्ने प्रतिनिधि पात्र मात्र हुन्। कोभिड १९ उपचारमा संलग्न अस्पतालका अनुसार पछिल्लो समय संक्रमितमा जटिल समस्या देखिन थालेपछि अस्पताल जाने बढिरहेका छन्। यसरी अस्पताले जानेमा धेरैजसो होम आइसोलेसनमा बसेका संक्रमित रहेको अस्पतालहरुले जनाएका छन्।

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका बिरामीमध्ये १५ प्रतिशत जति होम आइसोलेसनबाट आएका छन्। यसैगरी होम आइसोलेसनमा बस्दा निको नभएको भन्दै दैनिक औसत तीनदेखि चारजना त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुग्ने गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक पाँच÷छ जना यस्ता बिरामी पुगिरहेका छन्। जसमध्ये आधा कोरोना परीक्षण गरेका र आधा परीक्षण नगरेका संक्रमित रहेको सो अस्पतालका कोभिड १९ संयोजक डा. विमल पाण्डेले बताए। स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्र अस्पताल जाने प्रवृत्ति बढेकोले अस्पतालमा आइसोलेसन वार्ड खाली हुन थालेको र आइसियु वार्ड भरिन थालेको अस्पतालहरुले जनाएका छन्।

पछिल्लो समय होम आइसोलेसनमा बसेकाहरू निमोनिया र श्वासप्रश्वास समस्याको समस्या लिएर अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले बताए। यसरी ढिला गरी अस्पताल पुगेमा उपचार सहज नहुने उनले बताए। उनका अनुसार अस्पतालमा हाल दैनिक पाँच÷६ जना यस्ता बिरामी पुग्छन्। ‘चार÷पाँच दिनसम्म खोकी र ज्वरो नघटेमा अस्पताल आउनुपर्नेमा श्वास फेर्न कठिन भएपछि मात्र संक्रमित अस्पताल आउँछन्,’ उनले भने।

अस्पताल गएपछि कोरोना संक्रमण हुन्छ र खर्च पनि लाग्छ भन्ने डरले बिरामी सकेसम्म घरमै मनपरी औषधि खाएर बस्दा जटिल समस्या देखिएको चिकित्सक बताउँछन्। कतिपयले आफूखुसी डेक्सोना औषधि किनेर खाने गरेको, कतिपयले घरमै अक्सिजन लिने गरेको र कतिपयले सिटामोल मात्र लिने गरेका छन्। विशेषगरी डेक्सोना र अक्सिजन आफूखुसी चलाउनेमा जटिल समस्या बढेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड १९ संयोजक डा. सन्तकुमार दास बताउँछन्।

‘अहिले कोरोना संक्रमितले होम आइसोलेसनमै डेक्सोना प्रयोग गर्ने चलन बढेको देखिन्छ,’ डा. दासले भने। उनका अनुसार डेक्सोना मधुमेहका बिरामीले प्रयोग गरे अन्य भाइरल तथा व्याक्टेरियाजन्य संक्रमण बढाउँछ। त्यसैगरी दमका दीर्घरोगीमा कोरोना संक्रमण भएमा घरमै अक्सिजन लिएर बस्नाले जोखिम बढ्छ। अक्सिजनले सास फेर्न सजिलो भए पनि रोग नियन्त्रणमा सहयोग नगर्ने भएकाले दीर्घरोगी अक्सिजनको भरमा होम आइसोलेसनमा बस्नु उचित नभएको डा. दास बताउँछन्।

होम आइसोलेसनमा जोखिम पहिचान नगरी कोरोना संक्रमितहरु बस्ने क्रममा मृत्युदर बढेको चिकित्सहरु बताउँछन्। ‘पहिला दैनिक एक/दुई जनाको मृत्यु हुन्थ्यो भने अहिले दैनिक २०/२५ जनाको मृत्यु भएको देखिन्छ,’ पाटन अस्पतालका डा. पाण्डेले भने। होम आइसोलेसनमा गम्भीर भएपछि मात्र अस्पताल जाने चलनले एक जना बिरामीको बाटैमा मृत्यु भएको र चार जनाको अस्पताल पुगेको तीन/चार घण्टामै मृत्यु भएको शसस्त्र प्रहरी बल अस्पतालका कोभिड १९ संयोजक डा. प्रवीन नेपालले बताए।

होम आइसोलेसनमै गम्भीर भएपछि उपचारमा पुग्दा फोक्सोमा धेरै नै क्षति भइसकेको हुने, यस्ता बिरामीलाई आइसियु चाहिने र भनेकै बेला आइसिय खालि नहुँदा मृत्युको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन्। उचित समयमा अस्पताल पुगेमा डेक्सोना, रेमडिसिभिर र प्लाज्माथेरापीको प्रयोगले निको हुने सम्भावना बढ्ने तर ढिला पुगेमा निको हुने सम्भावना घट्ने डा.दासले बताए। जोखिम समूह, लक्षणको तह अवधि हेरी समयमै अस्पताल पुगेमा निको हुन्छ।

स्थानीय निकायको जिम्मामा रहेको होम आइसोलेसन तथा संस्थागत आइसोलेसनका सही निगरानी नहुनाले कोरोना संक्रमितहरु सिकिस्त बिरामी भएपछि मात्र अस्पताल पुग्ने गरेको चिकित्सकहरुको आरोप छ। अहिलेको अवस्थामा स्थानीय निकायले होम आइसोलेसनमा रहेकाहरुको निगरानी गर्ने स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्छ। जुन कुरामा स्थानीय निकायको ध्यान नपुगको चिकित्सकहरु बताउँछन्। ‘स्थानीय निकायलाई संक्रमितले जानकारी दिने र स्वास्थ्यकर्मीले संक्रमितको स्वास्थ्य स्थितिको जानकारी लिने क्रम सबै स्थानीय निकायमा प्रभावकारी देखिएन,’ सशस्त्रका डा. नेपालले भने।

त्यसैगरी, होम आइशालेसनमा रहेको अवधिमा संक्रमितले नियमित आफ्नो ज्वरो नाप्ने, अन्सिजनको तह हेर्ने यन्त्रहरु घरमै अनिवार्य राखेर हेर्ने र यी दुवैको स्थितिमा सुधार नभएमा अस्पताल गएर छातिको एक्सरे गर्ने चिकित्सकको सुझावअनुसार भर्ना हुन आवश्यक भए हुने र नभएमा घर फर्किने चिकित्सको सुझाव छ।

होम आइसोलेसनबाट कति बेला अस्पताल जाने ?
चिकित्सकका अनुसार कोरोनाका बिरामीमा निम्न समस्या देखिएमा कोरोना संक्रमित अस्पताल गइहाल्नु पर्छ। ज्वरो सात दिनसम्म नघटेमा, शरिरमा अक्सिजनको मात्र ९२ भन्दा घटेमा, संक्रमितलाई श्वास फेन गाह्रो हुन थालेमा अस्पताल जान ढिला गर्नु हुँदैन। त्यसै गरी मिर्गौला, क्यान्सर, दम, मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगको समस्या भएका संक्रमितहरु पनि ढिला नगरी अस्पताल जानुपर्ने चिकित्सकको सुझाव छ। र युवा उमेरका छन् र अन्य रोग छैन भने ७ दिनपछि पनि ज्वरो नघटेमा, अक्सिजनको तह ९२ भन्दा कम भएमा, श्वास फेर्न गाह्रो हुन थालेमा अस्पताल जानुपर्छ।

प्रकाशित: २४ कार्तिक २०७७ ०३:११ सोमबार

होम आइसोलेसन जोखिम बढ्यो