२०६६ सालमा झाडापखालाबाट जाजरकोटमा करिब एक सय ५३ जनाको मृत्यु भयो। जाजरकोटमै २०७१ चैत र २०७२ वैशाखमा फैलिएको सिजन फ्लुका कारण २७ जना, २०७४ माघमा रूघाखोकीका कारण १२ जनाको मृत्यु भयो। स्वास्थ्य निर्देशनालयको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा करिब दुई सयभन्दा बढीले झाडापखाला, क्ष्यरोग, सिजनल फ्लु, औलो, टाइफाइटलगायतका कारण ज्यान गुमाए।
यो वर्ष मात्रै गत भदौ कालीकोटमा औलो देखिएको थियो। आठ जनासम्ममा फैलिएको उक्त औलो तत्काल स्वास्थ्यकर्मीको पहलमा नियन्त्रणमा आयो। त्यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेत र सल्यानमा डेंगु देखिए पनि यसले ठूलो रूप लिएन। खानपिन र दूषित पानी प्रयोगले यो सिजनमा प्रत्येक वर्ष कर्णालीमा कुनै न कुनै प्रकोप देखिन्थ्यो। बर्सेनि दर्जन बढीले ज्यान गुमाएका थिए भने सयौं बढी प्रभावित हुन्थ्ये।
स्वास्थ्य सरसफाइमा सरकार र विभिन्न गैरसरकारी संस्थाले बर्सेनि करोडाैं रकम खर्चिन्छन्। तर विश्वमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीको समयमा यो संख्या शून्य भएको सरकारी तथ्यांक छ। यतिबेला भने कर्णालीले पुरानो नियति भोग्नु परेन। विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण भने फैलियो। तर महामारीकै रूपमा देखिएको छैन। कोरोनाबाट बच्न कर्णालीवासीले पहिलाको बानी परिवर्तन गरेकाले यस वर्ष झाडापखाला, औलो, सिजनल फ्लुलगायतका रोग नदेखिएको सामाजिक विकासमन्त्री दल रावलले बताए।
‘कर्णालीमा अशिक्षाले गर्दा खानपान व्यवस्थित थिएन,’ उनले भने, ‘अहिले त्यो बानी हटेको छ। खानापानमा पनि ध्यान दिन थालिएको छ।’ दूषित पानी र खानपानकै कारण कर्णालीमा कयौंपटक झाडापखाला, सिजनल फ्लुलगायतका रोगले ठूलो क्षति पु¥याएको स्वास्थ्य निर्देशनालयका महामारी प्रकोप शाखाका प्रमुख श्याम आचार्यले बताए। ‘अहिले खाना खाँदा अनिवार्य हात धुनै बानी छ,’ उनले भने, ‘दुर्गममा खात धोएर खाने बानी कम थियो।’ नियमित हात धोए, फोहोर पदार्थ नछुए वा घर वरिपरि फोहोर नगरे, सफा पानी खाए, खाना व्यवस्थित गरे कोरोनाबाट बच्ने सन्देश प्रवाह भएपछि बाध्यताले मान्छेले स्वास्थ्यमा सचेत हुन थालेको चिकित्सकहरू बताउँछन्।
उनकाअनुसार बर्सेनि कर्णालीमा विभिन्न प्रकोपबाट हजारौं कर्णालीवासी बिरामी हुने गरेका छन्। कोरोना भाइरसले गर्दा अहिले सिजनल फ्लुसमेत देखिएको छ। कोरोना भाइरसले आर्थिक र सामाजिकरुपमा ठूलो क्षति गरे पनि स्वस्थ रहन आनाबानी पनि ठूलो प्रभाव पारेको चिकित्सकहरू बताउँछन्। करोडौं रकम खर्चेर पनि आनाबानी परिवर्तन गर्न सकिएको थिएन नागरिक समाजका खेम रेग्मीले भने, ‘कोरोना भाइरसबाट बच्न मान्छेले आनाबानी परिवर्तन गरे।’ कोरोना भाइरसले ठूलो असर पु-याए पनि स्वास्थ्यको क्षेत्रमा केही सकारात्मक भूमिका खेलेको उनको भनाइ छ। सधैं जनशक्ति अभाव हुने कर्णालीमा अहिले करारमा समेत स्वास्थ्यकर्मी परिपूर्ति गरिएको छ। दुर्गमका स्वास्थ्यचौकीको स्तरोन्नतिसँगै पूर्वाधार र प्रविधि थपिएका छन्।
कोरोना भाइरसका कारण कारण कर्णालीमा ६ जनाले ज्यान गुमाएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। उनका अनुसार तीन हजार चार सय ४२ जना संक्रमित भए। सिजनल फ्लु सामान्य मात्रामा देखिए पनि यसले क्षति नगरेको उनको भनाइ छ। प्रकोपको समयमा यस वर्ष रोगका कारणभन्दा बाढीपहिरो, खोलानालाजस्ता दैवी प्रकोपका कारण मानिसले ज्यान गुमाए। ‘पहिला खाना खाँदा हात धोएर खानुपर्छ भन्ने सेचतना थिएन,’ पश्चिम सुर्खेतका बिर्खबहादुर बिकले भने, ‘अहिले कोरोना भाइरसबाट बच्न पनि खाना खानेबेला र बेलाबेला अन्य समयमा पनि हात धुन्छौं।’ पहिलेभन्दा अहिले सफासुघर हुँदा पनि झाडापखाला, सिजनल फ्लु, रूघाखोकी, टाइफाइटजस्ता रोग नदेखिएको उनले बताए।
प्रकाशित: २२ आश्विन २०७७ ०१:०५ बिहीबार