१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

यसरी ताने पहिलो पटक महिलाले कुमारीको रथ (फोटो फिचरसहित)

उपेन्द्र लामिछाने, काठमाडौं, असोज १८- इन्द्रजात्राको अवसरमा राजधानीका महिलाले बुधबार कुमारीको रथ तानेका छन्। राजधानीका विभिन्न टोलबाट आएका उनीहरू पुरुषसँगै रथ तान्ने काममा सहभागी भए। कुमारी रथ महिला मात्रैले तान्ने उनीहरूको पूर्वयोजना भने सफल हुन सकेन।
सोचेजस्तो नभए पनि रथ तान्न पाएकोमा उनीहरू खुसी छन्। 'रथको डोरी समाउन पाउँदा निकै खुसी लाग्यो,' टिमिला महर्जनले भनिन्, 'निक्कै जोड लगाएर घिच्यायौं।' राम्रो व्यवस्थापन नभएका कारण असुविधा भए पनि ऐतिहासिक अवसरमा सहभागी हुन पाएकोमा उनले खुसी व्यक्त गरिन्।

रथ तान्न आएकी किलागलकी ७० वर्षे लक्ष्मी महर्जनले बुढेसकालमा आफ्नो इच्छा पूरा भएको सुनाइन्। 'भीडमा गएर डोरी केहीबेर तानेँ,' उनले भनिन्, 'भीड दौडन थालेपछि केही पछि हटेँ।' लामो समयदेखि मन्दिरको डिलमा बसेर जात्रा हेर्दै आएकोमा बुधबार पहिलो पटक तल ओर्लेर जात्रामा सहभागी हुन पाएको उनले बताइन्।

ज्यापु महागुठी, महिला विभागको अग्रसरतामा उनीहरूले रथ तान्ने काममा हात बढाएका हुन्। विभागकी सदस्य विद्या महर्जनले आयोजकले अन्तिम समयमा आएर सहयोग नगरेको गुनासो गरिन्। 'रथलाई रोक्न सक्दैनौ भनेर उनीहरूले पुरुष स्वयंसेवक पठाए,' उनले भनिन्, 'जसका कारण महिलामात्रैले रथ तान्ने इच्छा पूरा हुन सकेन।' रथ तान्नका लागि ६ सय महिला आए पनि सयले मात्र डोरी समाउन पाएको उनले बताइन्। उनीहरूले बसन्तपुरबाट कुमारीको रथ तान्दै प्याफल, यट्खा, नरदेवी किलागल हुँदै वसन्तपुरसम्मै पुर्‍याएका थिए। 

राति पौने १० बजे बसन्तपुरमा ठड्याएको लिंगो ढालेर बाग्मतीमा सेलाएसँगै यस वर्षको इन्द्रजात्रा सकिएको छ।

प्रकाशित: १७ आश्विन २०६९ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App