२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश ५ : प्रहरीमा पनि फैलँदै कोरोना, ५३ जना कोरोना संक्रमित प्रहरी उपचारमा

कोरोना संक्रमण प्रहरी संगठनमा पनि बढ्दै गएको छ । प्रदेश ५ का १२ जिल्ला मध्ये तराईका जिल्लामा कोरोना संक्रमित हुने प्रहरी अधिक छन्। शान्ति सुरक्षा र कोरोना नियन्त्रणका लागि सरकारका हरेक निर्णय कार्यान्वयनमा खटिने भएकाले प्रहरी कोरोना जोखिममा परेका हुन । प्रदेश ५ मा अहिले ५३ जना सक्रिया कोरोना संक्रमित रहेको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

उनका अनुसार कपिलबस्तुमा जनपथ प्रहरी सबैभन्दा धेरै संक्रमित भएका छन । कपिलबस्तुमा ३३, बाँके ६, रुपन्देही ४, प्यूठान ४ र बर्दियामा ६ जना कोरोना संक्रमित उपचारमा रहेका छन्। प्रहरीका कार्यालय प्रमुखदेखि विभिन्न तहमा कार्यरतलाई कोरोना देखिएको हो । ‘संक्रमण सबै तहमा देखिएको छ, उपचारपछि निको भएका पनि छन,’ प्रहरी बरिष्ठ उपरीक्षक बैदवारले भने ।

इप्रका बुटवलका १३ जना कैदीमा कोरोना

पछिल्ला केही दिनयता कोरोना संक्रमण समुदाय तहमा फैलिएपछि सबै क्षेत्र जोखिममा देखिएको छ । प्रहरी फ्रन्टलाईनमा खटिने भएकाले जोखिम अनुमान भएकै थियो । तर, प्रहरीमा कोरोना संक्रमण देखिएसँगै कार्यालय र कैदीबन्दीमा समेत संक्रमण देखिन थालेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका ४ जना प्रहरीमा संक्रमण देखिएको थियो । त्यसलगत्तै कैदीहरुको पिसिआर परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको छ । बुटवल स्थित इलाका प्रहरी कार्यालयका कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय थप असुरक्षित देखिएको छ । बुटवलमा रहेका आइसोलेशन अस्पतालमा संक्रमितले भरिएपछि संक्रमित मध्ये ६ जनालाई भैरहवा स्थित भिम अस्पतालमा भर्ना गरि उपचार गरिएको छ । बाँकी रहेका ७ जनालाई भने बिहिबारसम्म इलाका प्रहरी कार्यालयमै राखिएको थियो ।  

बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा बेड नै नभएकाले राख्न नसक्ने बताएपछि बुधबार संक्रमित पुष्टि भएपनि ७ जनालाई प्रहरी कार्यालयमै राख्नुपरेको हो । कोरोना संक्रमण देखिएकाले कार्यालयका अन्य कर्मचारीहरुको समेत स्वाब संकलन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

सानो समूहबाट सेवा प्रवाह  

कोरोनाले महामारीको रुप लिएपनि प्रहरीले भने निरन्तर शान्ति सुरक्षा र कोरोना नियन्त्रणमा जुट्नुपर्ने भएकाले सुरक्षा सावधानी अपनाएर कामलाई निरन्तरता दिने गरि रणनिति बनाएको छ । कोरोना संक्रमण हुँदैमा आत्तिनुपर्ने अवस्था नभएकाले सावधानी अपनाउन १२ वटै जिल्लाका प्रहरी संगठनलाई सानो समूह बनाएर परिचालन गर्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक वैदवारले बताए ।

कार्यालय, फिल्डमा खटिने प्रहरीहरूको समूह विभाजन गरेर नियमित डयूटीमा खटाउने निति लिइएको उनले बताए । प्रदेश ५ मा करिब सयको हाराहारीमा सुरक्षाकर्मीहरू संक्रमित भएका छन् ।

प्रकाशित: ११ भाद्र २०७७ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App