७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रदेश ५ : सात जिल्लामा निषेधाज्ञा

बाँकेमा पेइङ आइसोलेसन सेन्टर सञ्चालन

प्रदेश नं. ५ मा समुदायमा कोरोना भाइरसको संक्रमण बढेसंगै बिभिन्न जिल्ला तथा पालिकाहरूले निषेधाज्ञा जारी गरेका छन । स्थानीय प्रशासनले संक्रमणको दर र अवस्था हेरी पुर्ण र आंशिक निषेधाज्ञा जारी गरेका हुन । प्रदेशका बाह्र जिल्ला मध्ये ६ वटा जिल्ला भारतसंग जोडीएका छन्। लकडाउन खुलेपछि आन्तरिक चहलपहल सगै लुकिछिपि भारतीय कामदार नेपाल भित्रने र नेपालीहरू मल तथा सामान खरिदकालागि भारतीय बजार पुग्ने क्रम बढेपछि संक्रमितको संख्या ह्वात्तै बढ्यो । जसलाई रोक्न केही समय निषेधाज्ञा तथा लकडाउन गर्नु परेको स्थानीय प्रशासनको भनाइ छ ।

प्रदेशका १२ जिल्ला मध्ये ७ वटामा निषेधाज्ञा जारी छ । एउटामा आँशिक निषेधाज्ञा छ । तीन वटा सामान्य अवस्थामै छन । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, प्युठान, अर्घाखाँची, पाल्पा र गुल्मीमा निषेधाज्ञा छ ।

रुपन्देहीमा भदौ १४ गते सम्म,कपिबस्तुमा १५ गते सम्म, नवलपरासीमा १० गते,प्युठानमा १५ गते,र्घाखाँचीमा १० गते र गुल्मीमा भदौ १२ गते सम्म निषेधाज्ञा छ । यी जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द हुनुका साथै हिडडुलमा रोक लगाइएको छ ।

भदौ ६ सम्म पुर्ण निषेधाज्ञा गरीएको बर्दियामा अहिले आंशिक छ । साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा रहेको र दिउँसोमा भिडभाड सभा समारोह जस्ता कार्यक्रममा रोक लगाइएको छ ।

बाँकेमा कोहलपुर नगरपालिकामा भदौ १० गते सम्मलाई निषेधाज्ञा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । समुदायमा संक्रमण फैलीएपछि बाँकेमा यसअघि १४ दिन निषेधाज्ञा गरीएको थियो । ‘फेरी संक्रमण बढे सम्बन्धित क्लष्टरलाई शिल गर्दै आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्नेछौ’ प्रजिअ कुरुम्वाङले भने । दाङमा रातीको समयमा आवतजावतमा रोक लगाइएको छ । रोल्पा र रुकुम भने सामान्य छन ।  

बाँकेका ४ होटलमा पेइङ आइसोलेसन

संक्रमण रोकथाम तथा उपचारकालागि प्रत्येक स्थानीय तहमा एक/एक वटा क्वारेन्टिन र आइसोलेसन सेन्टर तयार गर्न यसअघि नै प्रदेशको कोरोना संकट व्यवस्थापन केन्द्रले निर्देशन दिइएको थियो । सोही अनुरुप केही स्थानीय तहले सामुदायिक भवन खोजेर क्वारेन्टिन र आइसोलेसन सेन्टर तयार गर्दैछन । तर अधिकांश पालिकाहरूले आइसोलेसन, क्वारेन्टिन बनाएका छैनन । रुपन्देहीमै अधिकांश स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसन सेन्टर छैन । सबैभन्दा धेरै संक्रमित भेटिएको कपिलवस्तुमा कृष्णनगर र शिवराज नगरपालिकामै क्वारेन्टिन छैन । आइसोलेसन सेन्टर छ तर अधिकांश संक्रमितलाई होम आइसोलेसनमा पठाइएको छ ।  

बाँकेमा १ सय ६० बेडको आइसोलेसन सेन्टर छ । बाँकेको संकट व्यवस्थापन केन्द्र र सम्बन्धित पालिकाको संयुक्त पहलमै नेपालगञ्ज र कोहलपुरमा पेइङ आइसोलेसन बनाइएको छ । त्यसकालागि बाँकेका होटल व्यवसायीले राम्रो समन्वय गरेको प्रशासनले जनाएको छ ।

नेपालगञ्जको सिटी प्यालेस, इन्द्रेणी,सामथ्र्य इन र कोहलपुरको अतिथि होटलमा आइसोलेसन सेन्टर संचालन भइरहेको छ । जहाँ प्रतिदिन १३ सय, २ हजार र २५ सय शुल्क तीरेर संक्रमित आइसोलेसनमा बस्न सक्छन । होटलको पेइङ आइसोलेसनमा बस्नेमा चिकित्सक,नर्स,कर्मचारी र व्यापारी धेरै छन ।

स्थानीय प्रशासनका अनुसार बर्दियाका ८ वटा स्थानीय तहले क्वरेन्टाइन र आइसोलेसन तयार गरेका छन । जिल्लामा ८ सय ७० बेडको क्वारेन्टिन र ४ सय १७ बेडको आइसोलेसन सेन्टर रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । आइसोलेसन अस्पताल नहुँदा लक्षण सहितका बिरामीलाई बाँके पठाउनु पर्ने बाध्यता छ । प्रदेशका पहाडी जिल्लाहरूले भने स्कुलबाट क्वारेन्टिन हटाइएपछि भवन अभाव देखाउदै क्वारेन्टिन बनाएका छैनन । अधिकांश जिल्लामा आइसोलेसन सेन्टर पनि जिल्ला सदरमुकाममा छ । प्रदेशका सबै जिल्ला र स्थानीय तहहरूले होम क्वारेन्टिन  र होम आइसोलेसनलाई नै प्राथमिकता दिएका छन । जसका कारण संक्रमितको सख्या बढेपनि भएका क्वारेन्टिन र आइसोलेसन सेन्टरहरू खाली छन ।  

लक्षण सहितका संक्रमित थपिएपछि बुटवल,भैरहवा,दागं र बाँकेका आइसोलेसन अस्पतालहरू भने भरीभराउ छन ।  अस्पतालको सेवा बिस्तार नगरीए जटिल अबस्था निम्तने बताउछन बुटवलको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापा । होम आइसोलेसन र होम क्वारेन्टाइनमा बस्नु अन्यथा नभएपनि ती मापदण्ड अनुरुप हुनु पर्नेमा डा थापाले जोड दिए ।

यो प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या १ हजार १५९ छ । २३ जनाको मृत्यु भइसकेको छ । कुल ५ हजार ५८१ संक्रमित मध्ये ४ हजार ३९९ जना निको भएर घर फर्केका छन । प्रदेशमा ४  वटा आइसोलेसन अस्पताल छन । बेड क्षमता १ सय ८३ हो । आइतबार साँझसम्म आइसोलेसन र्वाडमा ७५ जना र आइसीयुमा १७ जना लक्षण सहितका संक्रमितको उपचार भइरहेको छ ।  

प्रदेशमा १ सय ३७ वटा आइसोलेसन सेन्टर छन । ४ हजार ४३९बेड क्षमता भएको भनिएका ती आइसोलेसनमा अहिले ८५२ जना संक्रमित रहेको प्रदेशको स्वाास्थ्य निर्देशनालयले जनाएको छ । ८२ हजार २२३ जनाको पिसीआर टेष्ट गरीएकोमा ७२ हजार २०८ को नेगेटिभ र ५ हजार ५५२ जनाको पोजेटिभ रिर्पोट आएको हो । २ हजार ४६३ जनाको  रिर्पोट आउन बाँकी छ ।

निषेधाज्ञा जारी भएका जिल्लाहरू  

१ रुपन्देही — भदौ १४ गते सम्म,

२ कपिबस्तु – भदौ १५ गते सम्म

३ नवलपरासी –भदौ १० सम्म

४ प्युठान — भदौ १५ सम्म

५ अर्घाखाँची – भदौ १० सम्म

६ गुल्मी —भदौ १२ सम्म ।  

७ पाल्पा —भदौ १२ सम्म

आशिंक निषेधाज्ञा भएका  

१ बर्दिया–राती ९ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा,

२ बाँके — कोहलपुर नगरपालिका क्षेत्रभित्र मात्रै निषेधाज्ञा —भदौ १० गते सम्म

३ दाङ — रातीको समयमा आवत जावतमा रोक ।

निषेधाज्ञा नभएका

१ रोल्पा  

२ रुकुम

प्रकाशित: ८ भाद्र २०७७ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App