६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जथाभावी खनेको सडकले बगायो गाउँ

बझाङ पहिरो

बुँगल नगरपालिका–३ को मिणी पुस्तौं पुरानो बस्ती हो। मिणीका ६७ वर्षीय ददी कुँवर त्यही गाउँमा जन्मिए, हुर्किए। अहिलेसम्म उनको गाउँमा माथिबाट एउटा ढुंगासमेत खसेको याद छैन। तर सोही गाउँमा मंगलबार राति पहिरो जाँदा दुईजनाको मृत्यु हुनुका साथै ४ जना घाइते भए। १५ घरपरिवार विस्थापित भएका छन्।

गाउँमाथिबाट सडक खनेपछि यसपालि गाउँ नै विस्थापित भएको कुँवरले बताए। उनले भने, ‘हामीले गाउँमाथिबाट बाटो नबनाऊ भन्दाभन्दै पनि स्थानीय तहले बाटो बनाइदिँदा बस्ती नै विस्थापित बन्यो।’ सडक नबनाउन अनुरोध गर्दा विकासविरोधीको संज्ञा दिइएको बताउँदै उनले भने, ‘पहिले मलाई नै विकासविरोधी बनाइयो, अहिले त्यही विकासले बस्ती उजाड बनाइदियो।’

गाउँमाथि खेल मैदान र सडक निर्माण गर्दा जम्मा गरिएको माटोको ढिस्को वर्षाको भलले बगाएर कोलु खोलामा थुप्रिँदा पानीको बहाव थेग्न नसकेपछि खोला गाउँमा पसेको थियो। गाउँमा पसेको खोलाले पूरै बस्ती नै विस्थापित गरिदिएको कुँवरले बताए। ‘गाउँका लागि ल्याइएको खानेपानीको ट्यांकीमा बाढीको पानी पस्यो, त्यहींबाट हाम्रो दशा आयो,’ उनले भने, ‘खोलाको बहाव बढ्यो, त्यो पानी खानेपानीको ट्याङ्कीमा पस्यो, त्यहींबाट बहाव बढेर गाउँ नै विस्थापित बनाइदियो।’ यो सबैको कारण सडक निर्माण नै भएको उनी बताउँछन्। बाढीसँग आएको पहिरोले प्रताप ताम्राकारको घर बगाएको थियो भने अन्य १५ परिवार विस्थापित बनेका हुन्।

बुगल नगरपालिकाले क्रिकेट मैदान बनाउने नाममा ५० लाख र्खच गरेर डाँडो काटेर मैदान बनाएको बताउँदै कुँवरले भने, ‘त्यहीसँगै रिङरोड बनाउने भन्दै सडक बनाएर माटो थुप्र्याइयो।’

सडकले नै गाउँका दुईजनाको ज्यान लगेको बताउँदै अर्का स्थानीय अक्कल धामीले भने, ‘पहिरोले दुईजना छिमेकीलाई लग्यो, चारजनालाई घाइते बनाइदियो, बाँकी १५ परिवार विस्थापित भयौं।’ गाउँ पूरै विस्थापित भएपछि अब कहाँ बस्ने भन्ने चिन्ता थपिएको उनले बताए। प्राविधिकले अध्ययन नगरी डोजर चालकको डिजाइनमा निर्माण गरिएको सडकले गाउँ विस्थापित भएको स्थानीयको आरोप छ। ‘स्थानीय तहले प्राविधिकलाई प्रयोग नै गरेन,’ धामीले भने, ‘डोजर चालकको डिजाइनले नै यस्तो अवस्था आइलाग्यो।’

पहिरोले मंगलबार राति १४ वर्षीय सचिन ताम्राकार ५ वर्षीय सुदिप ओखेडको ज्यान लिएको थियो। सोही पहिरोका कारण ५७ घरपरिवार उच्च जोखिममा छन्।

स्थानीयले प्रताप ताम्राकारको घरको व्यवस्थापनका साथै जोखिममा परेका नागरिकको उचित बसोबासका लागि व्यवस्था गरिदिन बुँगल नगरपालिकालाई ज्ञापन पत्र बुझाएको स्थानीय लोकेन्द्र कुँवरले बताए। प्राकृतिक विपत्तले मिणी गाउँलाई विपत्तिमा पारेको बुँगल नगरपालिकाका मेयर धनबहादुर बिष्टले बताए। उनले भने, ‘गाउँमा मृत्यु भएका दुईजनाका परिवारलाई प्रतिमृतक एक लाखका दरले सहयोग प्रदान गरिनेछ।’ पहिरो गएको सडकको किनारमा ग्याबिन जाली लगाएर बस्तीलाई जोगाउने बताउँदै उनले भने, ‘अब खेल मैदान र सडकको पहिरो रोक्न चाँडै नै गुरुयोजना बनाइनेछ।’

प्रकाशित: ५ भाद्र २०७७ ०१:२५ शुक्रबार

बझाङ पहिरो