७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निषेधाज्ञा तोडेपछि चितवनमा हवाई फायर, एक जना पक्राउ

प्रतिकात्मक तस्बिर

कोरोना सङ्क्रमण नियन्त्रणका लागि भनेर जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले सोमबार हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१, पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय दुईपक्षबीच झडप हुने अवस्था आएपछि भीड नियन्त्रण गरी निषेधाज्ञा कार्यान्वयनका लागि हवाई फायर गरिएको उनले बताए ।

भीडलाई उत्तेजित गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय ठाकुर बर्तौला रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । राप्ती नगरपालिका प्रमुख प्रभा बरालले पिप्ले मन्दिरमा पूजा गरिएको ढुङ्गा सोही नगरपालिकाको पाख्रिबासकी सरस्वती पुन नाम गरेकी महिलाले लगेपछि स्थानीयले ढुङ्गा फिर्ता ल्याउनुपर्ने भन्दै भेला भएका थिए ।  

ती महिलाले सपनामा भगवानले सो ढुङ्गा ल्याउन भनेको भन्दै लगेको प्रहरीले जनाएको छ । ढुङ्गा फिर्ता ल्याउन भेला भएका स्थानीयलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको थियो ।  

प्रकाशित: १ भाद्र २०७७ १२:२८ सोमबार

निषेधाज्ञा