कोरोना संक्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको पर्सामा बन्दाबन्दी कडा पार्न प्रहरीका साथमा सेना पनि परिचालन गरिएको छ ।
साउन १८ देखि जारी निषेधाज्ञा थप कडा पार्न आइतबारदेखि सेना परिचालन गरिएको पर्सा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण व्यापक हुन थालेपछि वीरगन्ज महानगरपालिका क्षेत्रमा साउन १० देखि निषेधाज्ञा जारी गरिएको थियो भने साउन १८ गतेदेखि पर्सा जिल्लाभर बन्दाबन्दी घोषणा गरिएको हो ।
निषेधाज्ञा भदौ १३ गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी आशमान तामाङले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
निषेधाज्ञालाई थप कडाइसाथ लागू गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको पर्सा प्रशासनले जनाएको छ ।
प्रकाशित: १ भाद्र २०७७ १२:१७ सोमबार