९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कोरोनाविरुद्ध यसरी लड्दैछ दोलखा

दोलखाको सदररमुकाम चरिकोटमा लकडाउनमा गस्ती गरिरहेका सशस्त्र प्रहरी। तस्विर: रमेश/नागरिक

उत्तरका गाउँहरुमा सक्रिय संक्रमित देखिन थालेपछि एक साता लकडाउन घोषणा गरेको स्थानीय प्रशासनले दोलखामा कोरोना नियन्त्रणका लागि सबै संयन्त्र परिचालन थालेको छ। उत्तरका गौरीशंकर र कालिञ्चोक गाउँपालिकामा ८ जना संक्रमित फेला परेपछि जिल्ला विपत्त व्यवस्थापन समितिको बैठकले आइतबारदेखि भदौ ६ गतेसम्म एक साताका लागि सबै आवागमन र चहलपहल बन्द गर्न जिल्ला लकडाउन गरेको छ।

लकडाउनकै अवधिमा संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्नेदेखि स्वाब जम्मा गर्ने सम्मका काममा स्वास्थ्यकर्मी र स्थानीय सरकारका कर्मचारीहरु खटिएका छन्। लकडाउन पालना गराउन करिब ५ सयको संख्यामा जिल्ला भर सुरक्षाकर्मी परिचालित भएका छन्। आइतवार बिहानैदेखि जिल्लाका मुख्य बजार केन्द्रहरु चरिकोट, सिंगटी, दोलखा, जिरी, मैनापोखरी, देउराली, भैंसे, मालुखोला सहित सबै ग्रामिण बजारहरु बन्द छन्। सडकमा सवारीसाधन गुडेका छैनन्। सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु खुलेका छैनन्। मानिसहरु बाहिर निस्केका छैनन्। जिल्लाको सुरक्षा ब्यबस्था कडा पारिएको छ।    

गौरीशंकर गाउँपालिकामा विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गर्ने क्रममा राजधानीबाट भर्खरै गाउँ फर्किएका प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकको समेत सब लिदा विदेशबाट आएका एक युवा सहित उनलाई कोरोना देखिएको थियो। साउन १९ गते गाउँँ फर्किएका ती चिकित्सक मार्फत ८३ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा ५ जनालाई संक्रमण  पुष्टि भएको थियो। यस्तै कालिञ्चोक गाउँपालिकामा विदेशबाट आएका एक युवकमा कोरोना देखिएपछि ति युवक मार्फत कन्ट्रयाक्ट ट्रेसिङ भएका ४८ जनाको स्वाब धुलिखेल पठाइए पनि उनीहरुको रिपोर्ट सोमबार दिउसोसम्म आइपुगेको छैन्।  

संक्रमित मध्ये कालिञ्चोक गाउँपालिकाका युवकलाई धुलिखेल अस्पताल पठाइएको छ। मलेसियाबाट आएका गौरीशंकरका संक्रमित युवक प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटको आइसोलेसनमा छन भने गौरीशंकरका चिकित्सकसहित पाँचै जना प्राथमिक स्वास्थ्य केन्द्र सुरीमा बसिरहेका छन्।  

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले संक्रमितहरुको ट्रेसिङ सकिएको र स्वाब लिने तयारी भइरहेको सुनाए। ‘गौरीशंकर गाउँपालिकामा संक्रमितका परिवार र उनीहरु मार्फत प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी भइसककेको छ, छिट्टै स्वाब लिने तयारीमा छौं’ उनले भने – ‘कालिञ्चोकका ४८ जनाको रिपोर्टको प्रतिक्षामा छौं’। शर्माले गौरीशंकरका यस अघि पठाइएका ८३ जना मध्ये २५ जनाको पुनः परिक्षण गराइने बताए।  

यसै बिच समुदायमा प्रत्यक्ष घुलमिल भएकाहरु छनोट गरेर जिल्लाका अन्य स्थानीय तहका ३ सय जनाको नमुना परीक्षण गराउने तयारी जिल्ला विपत्त व्यवस्थापन समितिले थालिरहेको छ। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार जिल्लामा समुदाय स्तरमा संक्रमण फैलिएको छ छैन भनेर हेर्नका लागी स्थानीय सरकारहरु मार्फत कर्मचारी, व्यापारी, पेशाकर्मी, सुरक्षाकर्मी, चालक, बैंकका कर्मचारी लगायत समाजमा प्रत्यक्षरुपमा बढी घुलमिल र धेरै मानिसहरुसंग सम्पर्क हुनेहरुको नमुना परीक्षण गरिनेछ। 

नगरपालिकाहरुबाट ५० र गाउँपालिकाहरुमा एक पालिकाबाट ३० जना सम्मको नमुना लिने तयारी समितिको छ। यही नुमुना परिक्षणका आधारमा सात दिनको लकडाउन खोल्ने वा जारी राख्ने निर्णय हुने प्रजिअ शर्माले सुनाए। संक्रमण फैलिन नदिन स्थानीय सरकारहरु समेत सक्रिय छन्। सबै स्वास्थ्य संस्थामा कर्मचारी २४ सै घण्टा तयारी हालतमा राखिएका छन्।  

स्थानीय सरकार र वडाहरुलाई कोरोना संक्रमितको मृत्यु भईहालेमा अन्त्यष्टि गर्ने सुरक्षित स्थान तयारी हालतमा राख्न स्थानीय प्रशासनले परिपत्र गरिसकेको छ। सदरमुकाममा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बेडको आइशोलेसन निर्माण गर्नका लागी जिल्ला स्तरीय विपत ब्यवस्थापन समितिले वागमती प्रदेश सरकारलाई लिखित प्रस्ताव पठाइसकेको छ।  

लक्षण भएका बिरामी बढ्दै गए आइशोलेसन कक्षमा राख्नका लागि अहिले धुलिखेल अस्पताल पठाउने गरिएको छ। संख्या बढ्दै गए धुलिखेलले समेत बिरामी नलिएमा जिल्लामै आइशोलेसन चाहिने कारण आईसोलेसन निर्माणको पिरलो स्थानिय अधिकारीहरुलाई छ।  बिरामी ओसार्न सबै स्थानीय तहहरुमा एम्बुलेन्स तयारी हालतमा राखिएको छ।

प्रकाशित: १ भाद्र २०७७ ०७:४२ सोमबार

कोरोनाविरुद्ध