२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

उपत्यकामा कोरोना नियन्त्रण प्रहरीकै भरोसामा

प्रवेशमा कडाइ गर्न आग्रह

फाइल तस्वीर

उपत्यका कोरोना संक्रमणको ‘हब’ बन्नै लाग्दा यहाँ छिर्ने नाकामा भने ओहोरदोहोर बढ्दो छ। कोरोना महामारी नफैलिँदै नाकाहरूमा कडाइ गरेको सरकार संक्रमण व्यापक फैलिरहेको बेला भने कमजोर देखिएको छ। नाका र चेकपोष्टमा कडाइ गर्ने जिम्मेवारी प्रहरीलाई नै दिइएको भए पनि प्रहरीले मात्रै नाकामा ओहोरदोहोर गर्नेलाई सम्हाल्न सक्ने अवस्था छैन। आफैंलाई संक्रमण फैलने डरमा प्रहरी स्यमं रहेका छन्। पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री र अबुझ यात्रुका कारण आफूहरूलाई उपत्यकाका नाकामा कडाइ गर्न कठिन भइरहेको प्रहरीको भनाइ छ।  

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले नाकाहरूमा ओहोरदोहोर गर्ने संख्या बढेको स्वीकार गरे। उनले पास लिएरै आउनेको संख्या पनि बढेको जानकारी दिए। तर, ती यात्रुहरू कहाँबाट आए र कहाँ जान्छन् भन्ने रेकर्ड प्रहरीसँग हुँदैन। प्रहरीले बाहिरी पासको आधारका छाड्ने गरेको छ। डिएसपी श्रेष्ठले आफूहरूले सक्दो कडाइ गरे पनि कतिपय यात्रु चोर बाटो अपनाएर ओहोरदोहोर गरेकाले त्यसले स्थिति झन् भयाभह हुनसक्ने जानकारी दिए। उनले भने, ‘हामीले सक्दो कडाइ गरेकै छौं, तर यस्तो विषयमा पनि अरूलाई बिन्ती र कारबाही गर्नुपर्ने अवस्था आउनु राम्रो होइन, सकेसम्म सर्वसाधारण आफैं चेतनशील भएको भए हामीलाई दबाब पर्ने थिएन।’ उनका अनुसार हरेक दिन बिनापास आएका ५० भन्दा बढी सवारीसाधन प्रहरीले फिर्ता गरेको छ। कतिपय पास लिएर आएका सवारीसाधनले यात्रु बोकेका कारण प्रहरीले रोक्ने गरेको छ। तर, लामो दूरीको यात्रापछि नाका छिरेका उनीहरूलाई प्रहरीले फर्काए पनि भित्री बाटोबाट धमाधम उपत्यका छिर्ने गरेका छन्।

मुख्यनाकामा मात्रै कडाइ गर्न निकै चुनौतीपूर्ण रहेकाले प्रहरी प्रधान कार्यालयले उपत्यका प्रवेश गर्नुपूर्व त्यो सवारीसाधन कहाँकहाँ हुँदै आउँछ त्यसबारेमा रेकर्ड राख्न र कडाइ गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले यदि सुर्खेत हुँदै आउने सवारी हो भने उसलाई त्यहाँदेखि काठमाडौंसम्म आउँदा  ठाउँ–ठाउँमा प्रहरीले जाँच गर्नुपर्ने बताए।  

तर, उपत्यकाका नाकामा बिनापास आएका सवारीसाधनको भीड हेर्दा अन्यत्र जाँच नै नहुने रहेछ भन्ने प्रस्ट हुन्छ। उपत्यकासम्म जसोतसो आउने यहाँ आएर फोन गरेरै भए पनि प्रवेश गर्ने प्रवृत्तिले उपत्यकामा कारोना संक्रमण भयाभह हुने यातायातकर्मीहरू बताउँछन्। प्रहरीले मुख्य नाकामा कडाइ गरे पनि सामान्य भित्री बाटो प्रयोग गरेर यात्रु उपत्यका भित्रिइरहेको उनीहरूको भनाइ छ।  

यातायातकर्मी पे्रमहादुर थापाले प्रशासन र प्रहरीकै कमजोरीका कारण उपत्यकामा कोरोना संक्रमण बढेको बताए। उनले नाकामा प्रहरीले सामान्य जाँच मात्रै गरेकाले उपत्यका भित्रिनेको भीड रहेको जानकारी दिए। ‘म आफंै पैदल यात्रा गरेर नाकाको अवस्था बुझ्न गएको छु, तर प्रहरीले त्यसरी कडाइ गरेको छैन, यसले गर्दा उपत्यकामा संक्रमणको भयाभह हुँदैछ,’ उनले भने। उनले लकडाउनका बेला यात्रु कम ओहोरदोहोर गरे पनि त्यसपछि भने सडक निकै व्यस्त भएको बताउँदै फेरि लकडाउन गर्नुपर्न बताए। उनले चन्द्रागिरी, रामकोट, सितापाइला, कीर्तिपुरलगायत क्षेत्रको चोर बाटो हुँदै यात्रुहरू उपत्यका छिर्ने गरेको बताए।  

यसरी उपत्यकाबाहिरबाट आएकाहरूको ‘कन्ट्याक टेस्ट’ र विवरण संकलन नगर्दा उनीहरूमा कोरोना पोजेटिभ देखिए पनि सम्पर्कविहीन हुने अवस्था छ। प्रहरी र पिसिआर गराउने निकायले उनीहरूको पर्याप्त विवरण नराख्नु गम्भीर लापरबाही देखिन्छ। शनिबार स्वास्थ्य मन्त्रालयले पिसिआर गरेका ६ जना व्यक्तिको कोरोना पोजेटिभ देखिए पनि अझै उनीहरूको पहिचान हुने सकेको छैन। पिसिआर गराउने व्यक्ति आफैं संयमित र जिम्मेवार नबनेका कारण उनीहरूलाई सम्पर्क गर्न नसकिएको स्वाथ्य मन्त्रायलले जनाएको छ।  

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारीले पिसिआर गराएका व्यक्तिहरू अस्पताल र प्रशासनको सम्पर्कमा रहनुपर्ने बताए। उनले भने, ‘पिसिआर गरेर फरार हुनु लाहपरबाही हो, यसले समुदाय मात्रै होइन, परिवारलाई नै असर पार्छ, त्यसकारण पिसिआर गराएका व्यक्तिले नतिजा नआएसम्म आवतजावत गर्दा ख्याल गर्नुपर्ने हुन्छ।’

प्रवेशमा कडाइ गर्न आग्रह

काठमाडौंं उपत्यका नगरपालिकाका मेयरहरूले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सरकारलाई आग्रह गरेको छ। आइतबार उपत्यका नगरपालिका फोरमका पदाधिकारीले रक्षा मन्त्रालयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको छलफलमा उपत्यका प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्न आग्रह गरेका हुन्।  

फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफलका क्रममा नाकामा कडाइ गर्न, अनाधिकृत रूपमा प्रवेश गर्ने र गराउनेलाई कारबाही गर्न आग्रह गरेको थिए।  

‘काठमाडौं उपत्यकामा घनाबस्ती रहेकाले संक्रमण समुदायमा पुग्ने खतरा रहेको हुँदा यहाँ प्रवेश गर्ने नाकामा कडाइ गर्न सरकारलाई आग्रह गरेका छौं,’ छलफललगत्तै काठमाडौं महानगरपालिका प्रमुख शाक्यले भने, ‘उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा पहिलाको जस्तो नाकामा कडाइ आवश्यक रहेको छ।’  

उनले फोरमले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ताका लागि नयाँ नाम दर्ता र नवीकरण गर्ने मिति साउन मसान्तसम्म रहेकामा त्यसलाई बढाउन पनि आग्रह गरिएको बताए। ‘उपत्यकामा समुदायस्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखेर हुने गरेर भेला र जात्रालगायतमा कडाइ गर्न सुझाव दिएका छौं,’ उनले भने।  

फोरमले सार्वजनिक यातायात निषेध गरी निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न पनि सरकारलाई आग्रह गरेको थियो। फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेका लागि संघीय सरकारले एकीकृत रूपमा क्‍वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बताए।  

‘मास्क नलगाउनेलाई कारबाही गर्नुपर्ने, पिसिआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरीय क्‍वारेन्टिन व्यवथापनका लागि ध्यान दिनुपर्ने सुझाव सिसिएमसीलाई दिएका छौं,’ उनले भने, ‘संक्रमण नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा तीन हप्ता पुनः रोक लगाउनुपर्ने र अन्य सवारीसाधनमा जोर–बिजोर लागु गर्न सुझाव दिएका छौं।’  

फोरमले लकडाउन खुकुलो भएसँगै व्यापारिक क्षेत्र तथा सपिङ मल संक्रमणको उच्च जोखिममा रहने भएकाले सो क्षेत्रमा मापदण्डको पूर्ण पालना गर्न सुझाव दिएको थियो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावलाई सिसिएमसीमा निर्णय गरी अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए। हाल काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेसँगै संक्रमित बढिरहेको छन्।

प्रकाशित: २६ श्रावण २०७७ ०२:३२ सोमबार

कोरोना नियन्त्रण उपत्यका