मंगललबार राती कोरोनासँग मिल्दो लक्षण भएका सप्तरीका तीन जना मृतक मध्ये एकजनामा कोरोना पुष्टि भएको छ ।सप्तरीको रुपनी गाउँपालिका–५, का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
बुधबार अबेर राती आएको पिसिआर परीक्षण रिपोर्टअनुसार पुरूषमा कोरोना पुष्टि भएको यादवले बताए । एक महिनाअघि मलेसियाबाट फर्केका उनी क्वारेन्टिनमा नबसेर सीधै घर पुगेका थिए । होम क्वारेन्टिनको नाममा घर बस्दै आएका उनमा एक सातादेखि ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या थियो अध्यक्ष हरेराम यादवले नागरिसँग भने,‘सुरुमा राजबिराजकै निजी क्लिनिकहरुमा उपचार गराए । तर निको नभएपछि मंगलबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुग्दा चिकित्सकले थप उपचारका लागि धरान रेफर गरिदिएको थियो, उनले भने,‘धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउने बितिकै उनको मृत्यु भएको थियो ।’
कोरोना संक्रमणको आशंकामा हामीले उनको शव अन्तिम संसकार गर्न रोकेर जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गरायौं उनले भने,‘स्वास्थ्य कार्यालयले उनको शवको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको छ ।’ विदेशबाट फर्केर घर बस्दै आएका उनको पिसिआर विधिबाट परीक्षण भएको थिएन । पटक पटक पीसीआर परीक्षणका लागि बोलाउँदा उनी पन्छिने गरेको अध्यक्ष यादवले बताए ।
जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले परीक्षणका लागि स्वाब संकलन गराएका थिए ।
मंगलबार राती नै राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कोरोनासँग मिल्दो लक्षण भएका दुई जनाको मृतकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुबै जना मृतकको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाएका थियौं स्वास्थ्य प्रमुख यादवले भने , उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका डाकनेश्वरी नगरपालिका–९ का ७५ वर्षीय बृद्ध र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको थियो । दुवै जनामा शंकास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोकी स्वाब परीक्षण गराइएको थियो ।
प्रकाशित: २१ श्रावण २०७७ १६:४५ बुधबार