१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सैनिक कल्याणकारी कोष साढे ५१ अर्बको

नेपाली सेनाअन्तर्गत सैन्य कल्याणकारी कोषको कुल सम्पत्ति ५१ अर्ब ६१ करोड पुगेको छ। कोषको नगद मौज्दात तथा विभिन्न निकायमा गरिएको लगानी पाँच अर्ब ४७ करोड २४ लाखसमेत गरी कुल ५१ करोड ६१ करोड ४ लाख पुगेको नेपाली सेनाले जनाएको छ।  

गत वर्ष कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६१ लाख रहेकोमा यो वर्ष १८.९० प्रतिशत अर्थात् ७ अर्ब २९ करोड १९ लाखले वृद्धि भई ४५ अर्ब ८६ करोड ८० लाख पुगेको हो। यसलाई सेनाले ऐतिहासिक वृद्धिदर भनेको छ। आव २०७६÷७७ मा मुलुकको अर्थतन्त्रलाई विश्वव्यापी महामारी कोभिड–१९ ले नकारात्मक असर पारे पनि सैनिक कोषको समग्र आर्थिक गतिविधि भने सन्तोषजनक रहेको सेनाले जनाएको छ।  

सेनाले यस वर्ष समस्याग्रस्त वित्तीय संस्थाहरूसँगको निक्षेप असुलीमा पनि सन्तोषजनक उपलब्धि हासिल गरेको छ। विगतका वर्षमा कोषको करिब ८५ करोड रुपैयाँ बराबर निक्षेप जोखिममा रहेकोमा हाल उक्त निक्षेप उल्लेख्य रूपमा घट्न गई साँवा रकम ५ करोड दुई लाख ६६ हजार मात्र रहेको सेनाले जनाएको छ। सेनाले आगामी वर्षसम्म जोखिममा रहेको निक्षेप न्यून गर्ने लक्ष्य राखेको जनाएको छ। निक्षेप नीतिमा अवलम्बन गरिएको प्रभावकारी व्यवस्थापनले निक्षेप घटाउन सफल भएको सेनाले जनाएको छ।  

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनअनुसार कोष र त्यसअन्तर्गतका निकायको फछ्र्योट गर्न बाँकी बेरुजु २० करोड १४ लाख १७ हजार रहेकोमा गत असारसम्ममा १२ करोड ७० लाख २३ हजार रुपैयाँ अर्थात् ६३.०६ प्रतिशत फछ्र्योट भएको सेनाले जनाएको छ। बाँकी बेरुजु ७ करोड ४३ लाख ९४ हजार पनि फछ्र्योट गर्ने गराउने कार्य भइरहेको सेनाले जनाएको छ।

नेपाली सेनाले कल्याणकारी कोषअन्तर्गत ‘चार स’ को नीति अवलम्बन गर्दै आएको छ। जसअन्तर्गत स्वास्थ्य, शिक्षा, सीप तथा स्वरोगजार एवं सुविधा तथा सहुलियत रहेका छन्। यसअन्तर्गत कोषले बहालवाला सैनिकका परिवार तथा अवकाशप्राप्त सैनिक र तिनमा आश्रित परिवार तथा गैरसैनिकलाई समेत विभिन्न सेवा दिँदै आएको छ।  

आगामी वर्ष सञ्चालित औषधोपचार सुविधालाई महामारीलगायत जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सक्षम गराउने कोषको लक्ष्य रहेको छ।  २०३२ सालमा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत् प्राप्त करिब एक करोड २४ लाख एक हजार रुपैयाँबाट सो कोषको स्थापना भएको हो। 

प्रकाशित: १७ श्रावण २०७७ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App