२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोमा पुरिएका दुई मृत फेला, पहिरोमा २० अझै बेपत्ता

तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा दुई साता अघिको पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिला बुधबार मृत फेला परेका छन् । योसमेत सोही पहिरोमा एकै परिवारका पाँच महिलाले ज्यान गुमाएका छन् ।

पहिरोमा हराइरहेका ८४ वर्षीया सोमबुटी शेर्पा र उनकी छोरी ४८ वर्षीया सेम्साङ शेर्पा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जनाए । उनका अनुसार सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाउँदै खोजी गर्दा उनीहरुको शव सडेगलेको अवस्थामा भेटिएको हो । घटनाकै दिनदेखि सुरक्षाकर्मीको टोली पहिरोमा हराइरहेकाहरुको खोजीमा निरन्तर जुटेको थियो ।

गत साउन १ गते अबिरल वर्षासँगै बस्तीमाथिबाट खसेको पहिरोले स्थानीय ६० वर्षीया गेल्जेन शेर्पाको घर पुरेको थियो । घरसँगै उनका आमा, बहिनी, श्रीमती र दुई छोरी पहिरोमा पुरिएका थिए । घटनाकै दिन गेल्जेनकी ३५ वर्षीया श्रीमती निमासाङ्मु र १६ वर्षीया जेठी छोरी याङ्जी मृत भेटिएका थिए । उनकी कान्छी छोरी १२ वर्षीया छिरिङओङ्मु शव भोलिपल्ट फेला परेको थियो । गेल्जेन र उनका एक छोरा चितवनमा रहेकाले बाँचेका थिए ।

जम्बु र बुल्कुटे पहिरोमा बेपत्ता फेला परेनन्

भोटेकोसी नदी कोरिडोरको जम्बु र बुल्कुटे बाढीपहिरोमा परी तीन सातादेखि हराइरहेका २० अझै फेला परेका छैनन् । सुरक्षाकर्मीले बेपत्ताको खोजी भने जारी राखेका छन् ।

स्थानीय खोल्सीले बाढीपहिरो ल्याउँदा बाह्रविसे नगरपालिका–५ को जम्बुका दुईको ज्यान गएको थियो । त्यहाँ १७ बेपत्ता भएका थिए । उनीहरु अहिलेसम्म बेपत्तै छन् । त्यस्तै सोही दिन भोटेकोसी गाउँपालिका–५ बुल्कुटेमा स्थानीय खोल्सीको बाढीले बगाएका तीन अझै हराइरहेका छन् । बेपत्ता एक बालक भने घटनाको सातापछि मृत फेला परेका थिए । बाह्रविसे र भोटेकोसीमा साताबीचमा भएका तीन बाढीपहिरोको घटनामा मात्रै आठ जनाले ज्यान गुमाएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बेपत्ताहरु फेला पर्न नसकेको बताए । खोजी कार्य भने जारी राखेको उनले जनाए । मृतक र बेपत्ताका परिवारलाई आर्थिक राहत उपलब्ध गराउन गृह मन्त्रालयसँग अनुरोध गरिएको प्रजिअ ढकालले बताए ।

प्रकाशित: १४ श्रावण २०७७ १२:४६ बुधबार

मृत फेला