७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

रुकुम घटनाका पीडितलाई पाँच लाख सहयोग

रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यहाँ आज अयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।

यही जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा परी मृत्यु भएको थियो । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको पनि मृत्यु भएको थियो ।

सहयोग रकम मृतकका प्रत्येक परिवारलाई पचास हजार रुपैयाँका दरले तीन लाख, प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार र कानूनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा पाँच लाख रकम नगरपालिकाका प्रमुख घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो । सोही अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले भने, '२१औँ शताब्दीमा आएर पनि १६औँं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाएसम्म मानिसको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।'

भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले सोती घटना अन्तिम हुनुपर्ने र अब यस्तो घटना हुन नहुने बताए । गायक तथा राष्ट्रिय कलाकार समूहका अध्यक्ष गायक यश कुमारले अमेरिका, अष्ट्रेलिया, युकेलगायत विभिन्न देशबाट रकम संकलन गरिएको जानकारी दिए ।

प्रकाशित: १४ श्रावण २०७७ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App