रुखबाट लडेपछि वर्ष दिनदेखि ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको पहलमा अस्पताल लगिएको छ । डाले घाँस काट्नेक्रममा रुखबाट लडेर ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारीलाई वर्ष दिनपछि उपचारमा लगिएको हो । रुखबाट लडेपछि ओछ्यानमा मुढो लडाएझैं सुतेकोसुतै हुने, तल्लो पेट बेसरी दुख्ने र खाना खाए लगत्तै वान्ता हुने समस्याबाट थलिएकी चिनामायाँलाई हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको पहलमा मंगलबार साँझ टिचिङ अस्पताल भर्ना गरिएको छ ।
सालचौतारा–ओफ्लाङ–राईघाट सडक अनुगमनमा गएकोबेला नाजुक अवस्थाकी चिनामायाँलाई भेटेर फर्किएको केही समयपछि उपमेयर राईले व्यक्तीगत खर्चमा जीप रिजर्भ गरेर अस्पताल पठाएकी हुन् । ‘१९ वर्षपछि ओफ्लाङ पुग्दा चिनामायाँलाई दर्दनाक अवस्थामा भेटे । उसको अवस्था देखेर म आफै छक्क परे,’ उपमेयर राईले भनिन्, ‘परिवारलाई उपचारमा लैजानु, सकेको सहयोग गर्छु भनेको थिएँ । पछि उपचारमा लैजाने भएपछि सहयोग गरेको हुँ । उपचार सफल हुने रहेछ भने अरु सहयोग गर्नुपर्छ । सहयोगका लागि साथीभाईलाई पनि गुहारिरहेको छु ।’
चिनामायाँ २०७६ साल असार २१ गते रुखबाट लडेकी हुन् । लडेर घाईते भएपछि उनलाई बीर अस्पतालसम्म लगियो, बीर अस्पतालले न्यूरोमा रेफर गरेको थियो । तर आर्थिक अवस्थाका कारण उनलाई आफन्तले घर फर्काएपछि उनी ओछ्यानमा कष्टपूर्ण दिन बिताउन बाध्य बनिन् । रुखबाट लडेको तीन महिनासम्म उनको बोली आएन । हाल मानसिक अवस्था सामान्य भए पनि उनी आफै ओल्टोकोल्टो फर्कन सक्दैनिन् । ओछ्यानमा उनका हातखुट्टा चलमलाउँछन् । हातखुट्टा तन्काउन सक्छन्, खुम्च्याउन सक्छन् तर आफै केही गर्न सक्दिनन् । खाना खान मन गर्छिन् तर निल्न सक्दिनन् । खाना निले लगत्तै वान्ता गर्छिन् । थोरै रस मात्र निल्न सक्छिन् । उनको शरीर सुरेर हाड र छाला मात्र बाँकी रहेको छ । लडेर ओछ्यान परेका कारण चिनामायाँको कक्षा १० को पढाई रोकिएको छ ।
‘पहिला पनि उपचारमा लगेको रहेछ तर उपचार नहुँदै घर ल्याइएको रहेछ,’ उपमेयर राईले भनिन्, ‘चिनामायाँले उपचारमा लैजाऔं, मरेँ भने बाटैमा फाल, मलाई यसरी ओछ्यानमा विजोग पारे नसुताऔ भन्ने गरेकी रहिछन् । त्यही भएर पनि एक पटक उपचारमा लैजानका लागि सल्लाह दिएको थिएँ ।’ बुधबारदेखि आइसियूमा राखेर उनको उपचार सुरु गर्ने तयारी भइरहेको फुपाजु सुर्ज अधिकारीले बताए ।
प्रकाशित: १४ श्रावण २०७७ ०५:०२ बुधबार