११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

संक्रमित घरमै बस्दा छिमेकी त्रासमा

गौरीगंगा नगरपालिका–५, अण्डैयामा रहेकी संक्रमित किशोरीको घर। तस्बिरः पुष्पराज जोशी/नागरिक

गौरीगंगा नगरपालिका–५की १६ वर्षीया किशोरी भारतको मुम्बईबाट फर्किइन्। मुम्बईबाट आमासहित आएकी उनी क्वारेन्टिनमा नबसी सिधै घर गइन्। घरमा पुगेकै दिन उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो।त्यसपछि उनलाई छिमेकीले आइसोलेसनमा राख्न सुझाव दिए तरघरपरिवारको दबाब र जनप्रतिनिधिको बेवास्ताका कारण उनी आइसोलेसनमा नबसी घरमै छिन्।

भारतबाट आएका छिमेकीमा कोरोना संक्रमित भेटिएको बताउँदै स्थानीय हेमा बोगटीले भनिन्,‘म आफैं भारतबाट फर्किंदा २२ दिन क्वारेन्टिनमा बसें, तर यहाँ संक्रमितलाई सिधै घरमै राखियो।’ घरमै बसेका संक्रमितका कारण त्रास बढिरहेको उनले बताइन्। ‘घर पछाडिका छिमेकीलाई कोरोना संक्रमण भएको छ,’ उनले भनिन्,‘कतै हामीसम्म पनि सर्छ कि भन्ने सन्त्रास लागिरन्छ।’  

संक्रमितलाई घरमै राख्दा त्रास बढेको बताउँदै अर्की छिमेकी मीना साउदले भनिन्,‘हाम्रा स–साना बालबालिकासँगै ज्येष्ठ नागरिक पनि छन्। छिमेकमै कोरोना संक्रमित हुँदा हामी झनै त्रासमा छौँ।’ आफ्नो ७ महिनाको छोरा रहेको बताउँदै उनले भनिन्,‘बालबालिकामा सबैभन्दा बढी संक्रमितको खतरा हुन्छ भन्ने सुनेकी छु, त्यसैले पनि चिन्ता लागिरहन्छ।’  

कोरोना संक्रमित परिवारका बालबालिकासँग आफ्ना बालबालिका पनि घुममिल भएकाले संक्रमणको शंका लागिरहेको बताउँदै हेमाले भनिन्,‘यस्तो बेला सबैले सजगता अपनाउनुपर्ने हो, तर खै यहाँ अहिलेसम्म न त स्वास्थ्यकर्मी न कुनै सरोकारवाला नै आए।’ स्वास्थ्यकर्मी आएर जनचेतनासम्बन्धी जानकारी दिनुपर्नेमा अहिलेसम्म कोही नआएको उनले बताइन्।  

संक्रमितको घरमा चर्पी नभएका कारण संक्रमित दिसा–पिसाब गर्न खोला तथा जंगल जाने भएकाले पनि थप त्रास बढेको बताउँदै अर्की छिमेकीले भनिन्,‘विरोध गरौं, जीवनभरको दुश्मनी बढ्छ, नगरौं रोग सर्ने डर छ।’ यस्तो बेला छिमेकीलाई न त सहयोग गर्न सकिने न त विरोध नै गर्न सकिने अवस्था आएको बताउँदै उनले भनिन्,‘जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाले आइसोलेसनमा राख्न पहल गर्नुपर्नेमा त्यसो हुन नसक्दा डरैडरमा दिन काटिरहेका छौं।’  

नेपाली बोलीभाषा नजान्ने र आइसोलेसनमा बस्न डर लागेकाले घरमै बस्न दिन आग्रह गरेको बताउँदै संक्रमितकी हजुरआमाले भनिन्,‘नातिनीलाई नेपालको बोलीभाषा आउँदैन, यहाँ एक्लै बस्न पनि डर मान्छे, त्यही भएर घरमै सुरक्षित राख्छौं भनेर आग्रह गरेका हौं।’  

नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न नसक्ने र आइसोलेसनमा बस्न डर मान्ने भएका कारण घरमै सुरक्षित बस्न अनुमति दिएको वडा नम्बर ५ का वडाध्यक्ष जंगबहादुर विकले बताए। उनले भने,‘संक्रमित भएको रिपोर्ट आएपछि हामी उनको घरमा गएर आइसोलेसनमा बस्न आग्रह ग¥यौं, उनीहरूले जान मानेनन्।’

गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले कोरोना संक्रमित घरमै बस्दा छिमेकमा त्रास बढ्नु स्वभाविकै भएको बताइन्। उनले भनिन्,‘संक्रमितलाई घरमै राख्दा छिमेकमा लसपस हुन्छ र संक्रमण फैलने डर उत्तिकै हुन्छ, त्यसैले हामीले बनाएको आइसोलेसनमा राख्नुपर्ने हो।’ उनले यसबारे बुझेर प्रतिक्रिया दिने बताइन्।  

गौरीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख आशा दाहालले नगरपालिकाका संक्रमितका लागि भनेर चौमालामा आइासेलेसन बनाइएको बताउँदै भनिन्,‘अण्डैयामा संक्रमित रहेकी किशोरीका परिवारलाई यहाँ आइसोलेसन छैन भन्ने जानकारी नभएको हुन सक्छ।’ आफूले चाँडै बुझेर आइसोलेसनमा ल्याउन पहल गर्ने उनले बताइन्। 

प्रकाशित: १४ श्रावण २०७७ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App