नेपालगन्जको पुरानो व्यस्त मानिने त्रिभुवन चोकमा बिहानैदेखि मानिसको भीड लाग्ने गर्छ। चोकमा जम्मा हुने भीडबाट यसै साता स्वाब संकलन गरी १३० जनाको पिसिआर परीक्षण गरिएकोमा मिठाई पसले, ज्यालागर्ने मजदुर र आन्तरिक राजस्व कार्यालय बाँकेमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण भेटियो।
सेवाग्राहीको भीड लाग्ने यातायात कार्यालय बाँकेका कम्प्युटर अपेरटरमा पनि गत आइतबार कोरोना पोजेटिभ देखियो। यी घटनाले उच्च जोखिममा रहेको बाँकेमा कोरोना समुदायस्तरमै फैलिएको हो कि भन्ने आशंका गरिएको छ। तर लकडाउन खुलेपछि सार्वजनिक दूरी र कोरोनाको सम्भावित संक्रमणबारे त्यति धेरै वास्ता गरिएको छैन। स्थानीय तहले पनि कोरोना संक्रमण घट्दै गएको भन्दै क्वारेन्टिन र आइसोलेसन बन्द गर्दै गएका छन्। स्वास्थ्य अधिकारीले भने जिल्लामा कोरोनाले कुनै बेला पनि संकटपूर्ण अवस्था सिर्जना गर्नसक्ने खतरा रहेको बताउँदै आएका छन्।
कोरोनाको जोखिम अझै कायम रहेकाले सर्तक रहनका लागि बाँकेमा थप कडाइ गरिएको छ। जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बाँके कोरोनाको जोखिमबाट अझै मुक्त नभएको भन्दै थप कडाइ गर्ने निर्णय गरेको हो। अब बाँकेमा सार्वजनिक कार्यक्रम गर्दा २५ जनाभन्दा बढी मानिस जम्मा हुन पाउने छैनन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको बैठकले बाँकेमा कोरोना सम्भावित जोखिमलाई टार्न विभिन्न निर्णय गरेको छ। यसमा आन्तरिक राजस्व कार्यालय र यातायात कार्यालय अर्को सूचना प्रकाशित नहुन्जेलसम्म बन्द गर्ने निर्णय गरिएको छ।
बाँकेको अधिकांश स्थानीय तहले क्वारेन्टिन र सरकारी निकायले आइसोलेसन सेन्टर हटाइसकेका छन्। जोखिम अझै कायम रहेकोले आइसोलेसन सेन्टर र क्वारेन्टिनलाई पूर्ण रूपमा बन्द नगर्न स्थानीय तहलाई आग्रहसमेत गरिएको प्रमुख जिल्ला अधिकारीले बताए।
बाँकेमा पछिल्लो समय सार्वजनिक कार्यक्रममा मानिसको भीड बढ्दै गएको थियो। लकडाउनपछि सामाजिक दूरी कायम नहुँदा बजारमा संक्रमणको खतरा बढ्दै गएको छ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बाँके अझै कोरोनाको उच्च जोखिममा रहेको बताए। उनले भने, ‘बाँकेमा कुनै संकटपूर्ण अवस्था आउन सक्छ। लकडाउन खुलेपछि बाँकेमासंक्रमण बढ्दै गएको देखिन्छ। यसले संक्रमण फैलिने खतरा बढेको छ। सार्वजनिक कार्यालयमा कार्यरत कर्मचारीमा पनिकोरोना पुष्टि भएको छ। यसले पनि खतरा बढ्दै गएको संकेत गर्छ।’ जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा कोरोना संक्रमितको संख्या ४ सय ५ जना पुगेको छ।२ जनाको कोरोनाका कारणले मृत्यु भइसकेको छ।
प्रकाशित: १४ श्रावण २०७७ ०२:४३ बुधबार