५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सालचौतारा–राईघाट सडक निर्माण सुरु

सालचौतारा–वफ्लाङ–राईघाट सडक निर्माण अनुगमनकाक्रममा हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राई लगायत । तस्बिर : नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको गौरबको योजनाकारुपमा रहेको सालचौतारा–वफ्लाङ–राईघाट सडक निर्माण सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको सालचौताराबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको वफ्लाङ हुँदै सुनकोसी किनार जोड्ने १४ किलोमिटर सडक निर्माण सुरु गरिएको हो । गौरवको योजनाकारुपमा  नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ३० लाख बजेट बिनियोजन गरे पनि निर्माण कम्पनी रेग्मी निर्माण सेवाले ५० लाख ५० हजारमै सडक निर्माणको ठेक्का लिएको नगरपालिकाका योजना शाखाका नासु रमेश श्रेष्ठले बताए ।  

गत असार २१ गते पूरा गर्ने शर्तमा २०७७ साल जेठ ४ गते सम्झौता गरिएको सडक निर्माणको काममा भने निर्माण कम्पनीको ढिलासुस्ती देखिएको छ । हालसम्म सालचौताराबाट वफ्लाङ नजिकसम्म सडक खन्दा कामको प्रगती करिब १० प्रतिशत मात्र सकिएको छ । निर्माण कम्पनीले तोकिएको समयका सडक निर्माणको काम पूरा नगरेपछि ६ महिना म्याद थप भएको नगरपालिकाले जनाएको छ । सालचौताराबाट आर्थिक वर्ष २०७५/०७६ मा करिब एक किलोमिटर ट्र्याक ओपन गरिएकामा यसपल्ट सोही ट्र्याक हुँदै सुनकोसी किनारमा रहेको राईघाट जोड्नेगरी सडक विस्तारको काम सुरु गरिएको हो । हाल दुई वटा मेसिन प्रयोग गरेर सडक निर्माणको काम भइरहेको छ ।  

भौगोलिक बिकटताका कारण सडकको पहुँचभन्दा बाहिर रहेका वफ्लाङका स्थानीयलाई सडकको सञ्जालमा जोड्ने लक्ष्यका साथ सालचौतारा–वफ्लाङ–राईघाट सडक निर्माण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताईन् । सडक निर्माण भएपछि वफ्लाङ, राईघाटका ६८ घर परिवार सडक सञ्जालमा जोडिने नगरपालिकाले जनाएको छ । सुनकोसी किनारसम्म सडक पुगेपछि उदयपुर पुग्न समेत सहज हुने छ । सडक निर्माणको प्रगतीको विषयमा शनिबार उपमेयर राई नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

प्रकाशित: ११ श्रावण २०७७ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App