२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

'कोरोना नियन्त्रण होस, सुख शान्तिले बाँच्न पाइयोस'

हरेक वर्षको नाग पञ्चमीको दिनमा जुम्लादेखि सरकारी टोेली बडिमालिका तिर प्रस्थान गर्छ । त्यो टोलीको एउटै मात्र पुकार हुन्छ,‘देशमा शान्ति स्थायीत्व होस, मनोकानमा सबैका पुरा होउन् ।’ जुम्लादेखि बडिमालिका जाने टोलीलाई स्थानीयले फुल अक्षेता दिएर मनको चाहना पुरा गर्ने शक्ति मिलोस भन्ने कामना गर्छन् ।  

तर यो पटक अलि भिन्न तरिकाले पुकार गरे । बडिमालिका जाने टोलीलाई विदा गर्न पुगेका स्थानीयको एउटै मात्र आवाज थियो,‘बडिमालिकाले यो पटक विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस निर्मुल पार्न शक्ति मिलोस । सबैले ढुक्क संग बाँच्न पाउने अवस्था सिर्जना होस । कोरोनाको त्रास हटोस, हरेक जनजनमा सुख शान्ति र समृद्धि मिलोस । यो शक्ति बडिमालिका माइले प्रदान गरोस । ’  

जुम्लाको एक सरकारी टोलीलाई शनिबार नेपाली सेनाले सलामी दिएर जुम्ला सदरमुकाम खलङ्गाबाट बिदाइ गरियो । बाजुरामा रहेको बडिमालिका भगवतीको दर्शनार्थ मन्दिरतर्फ प्रस्थान गरेको सरकारी टोलीलाई नेपाली सेनाले सलामी दिएर बिदाइ गरेको थियो । टोलीको विदाई गर्न कोरोना त्रासका बीच स्थानीय भेला भएका थिए । उनीहरुले ध्वजा, अक्षेता बोकेर गाउँदेखि खलंगासम्म पुगेका थिए । उनीहरुले बडिमालिकाको जयजयकार गर्दै कोरोना निर्मुल पार्न शक्ति दिनुपर्ने भन्दै प्राथना गरे ।

गत वर्षहरुमा १५/२० जनाको तिर्थालु र सुरक्षाकर्मीसहितको टोली जाने गरेको थियो । तर यसवर्ष कोरोना भाइरसको त्रासका कारण ५ जनाको सरकारी टोलीलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासहित नेपाली सेनाले पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर सम्मानका साथ पठाएको हो ।

परम्परादेखि नै हरेक वर्षको एकपटक जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलने छ । हरेक वर्ष नाग पञ्चमीको दिन तीर्थालुसहित जुम्लाबाट सरकारी टोलीसहित बाजुरामा रहेको बडिमालिका भवतीको मन्दिर दर्शनका लागि प्रस्थान गर्ने गर्दछन् । टोलीको नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकायलगायत सर्वसाधाणले फूलमाला, अबिरसहित पञ्चेबाजाका साथ  बिदाई गर्ने चलन रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओेमप्रकाश देवकोटा बताउँछन् ।

उनका अनुसार यो पटक जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा हरिहर काफ्लेको नेतृत्वमा ५ जनाको टोली बडिमालिका तिर प्रस्थान गरेको गरेको हो । त्यो सरकारी टोली १७ दिनपछि जुम्ला सदरमुकाम आइपुग्ने छ । दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतीको झोली र तिर्थालुलाई परिक्रमा गराएपछि सरकारी टोली बाजुरातर्फ हिडेको हो । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पनि पेटारो नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ ।  

भक्तजनले आफ्नो वर पूर्तिसंगै कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि भेटीसँगै मार्सीधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा, तोरणजस्ता प्रसादहरू पठाएका छन् । जिल्लाबाट गएको टोलीसँगै गाउँगाउँबाट पनि अन्य धर्मावलम्बीहरू थपिँदै जाने गर्दछन् ।

चन्दननाथ नगरपालिका–९ श्रीढुस्का विष्णुप्रसाद उपाध्याय अहिले वर्ष गरी एघारौँ पटक धार्मिक रुपमा प्रसिद्ध मन्दिर बडिमालिका पूजाआजाका लागि गइसकेका छन् । उनले भने,‘यो यहाँका धार्मिक मान्यता हो । यो मान्यताको संरक्षण गर्न सबै जुट्ने बेला आइसकेको छ । ’ बडिमालिका पठाउने डोली प्रहरी र सेनाले दुबै तिर डोरी राखेर निश्चित संख्यामा मात्र बजार परिक्रममा गर्न लगाएका थिए । सहभागी सबैले मास्कको प्रयोग गरेका थिए ।

प्रकाशित: १० श्रावण २०७७ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App