१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

'हचुवाकै भरमा हटाइयो लकडाउन'

सरकारले मंगलबार राति एक्कासी लकडाउन खोलेको कदमलाई विज्ञहरुले हचुवाको भरमा खोलेको प्रतिक्रिया दिएका छन् । स्वयं स्वास्थ्य मन्त्रालयले उच्च जोखिमकै बीचमा लडकडाउन खोलिएको बुधबारको नियमित बैठकमा संकेत गरेको छ ।  

नियमित प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने,‘ जोखिम अझै धेरै छ, विश्वका धेरै देशहरुले यस्तै अवस्थामा त्रुटि गर्नाले धेरै जनधनको क्षति बेहोर्नु परेको हामीले देखेका, पढेका र सुनेका छौं, हाम्रो व्यवहार समुचित हुन सकेन भने खुल्ला स्थितिले हामी कहाँ जोखिम निम्ताउन सक्छ ।’

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.बासुदेव पाण्डेले सरकारको उच्च तहले लकडाउन खोलेको यसमा महाशाखाको सुझाव नभएको बताए । मन्त्रालयकै एक अधिकारीले लकडाउन खोल्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल नभएको जानकारी दिए । ‘यो मन्त्रिस्तरीय निर्णय हो, तर भारतमा कोरोना संक्रमणमा बृद्धि भइरहेको बेला हामी उच्च जोखिममा र्छाैं’ महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बुधबार नागरिकसित भने ।

लामो समयको लकडाउनको कारण जनजीविकामा परेको असरलाई सामान्य गर्न लकडाउन खोलेको प्रमुख डा.पाण्डेले बताए । यो अवधिमा कोभिड १९ बाट बच्ने उपाय लकडाउनकै जस्तो पालना गरिदिएमा ठूलो विपत्तिबाट बचिने डा.पाण्डेको सुझाव छ । ‘लकडाउन खुलिसक्यो अबको जिम्मेवारी भनेको हरेक व्यक्ति आफैको हो, जनस्वास्थ्य नियम पालना गर्नु पर्‍यो’ उनले भने ।

लकडाउनको मोडेल मात्र परिवर्तन गरेको कोभिड १९ संकट व्यवस्थापन शाखाका प्रमुख महेन्द्र श्रेष्ठले औंल्याए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर तथा अनुगमन शाखाका प्रमुख डा. विकास देवकोटाले सरकारले खोलेको लकडाउनलाई पुरानै अवस्थामा फर्केको भनेर नबुझ्न आग्रह गरे । ‘मैले केही ठाउँमा नजिकै जमघट भएर मास्क खुल्ला गरेर गफ गरेको देखें,यस्ते हो भने महामारीको रुप लिन सक्छ’ उनले भने । अबका दिनहरुमा भौतिक दुरी कामय गर्न, मास्क लगाउन र भीडमा नबस्ने बानीकै अभ्यासमै रहन आग्रह गरे ।

साथै यो अवधिमा समुदायमा छिटो कोरोना पत्ता लगाउने र अन्यत्र फैलिन नदिने अस्पताल केन्द्रित काम हुनु पर्ने सुझाए । यो अवधिमा गृहमन्त्रालयका निकाय र स्थानीय निकायको भूमिका नियम पालना गर्नमा र कोभिड १९ मैत्री पहुँच विस्तारमा केन्द्रित हुुनु पर्ने बताए ।

राष्ट्रिय इपिडिमालोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले सरकारले व्यवसायीहरुको दवावमा हचुवाकै भरमा लकडाउन खोलेको बताए । यो अवधिमा व्यवसायीले राष्ट्र बैंकले समेत व्याज छुट दिएर आम्दानी गरे पनि थप कमाइको लागि सरकारलाई दवाव दिएको आरोप लगाए । सरकारमा भएको ध्रुवीकरणको असर पनि लकडाउन खोल्ने निर्णयमा पुगेको उनले बताए । ‘केपी सरकार अल्पमत परेको कारण व्यवसायीको दवावमै यो निर्णय भएको देखिन्छ, तर जुन निर्णय भयो, हचुवाको भरमा भयो’ उनले भने । 

लकडाउन खुल्नु अघि हुनु पर्ने तयारी अपुग रहेको उनले औल्याए । ह्याम्स अस्पतालका भाइरोलोजिष्ट डा. अनुप सुवेदीले विना गृहकार्य खुकुलो लकडाउनमै सबैजसो व्यवसाय खुलेको बेला संक्रमितको छिटो पहिचान गर्ने, छिटो कन्ट्रयाक्ट टे«सिङको तयारी पुरा नगरी लकडाउन खोलेको आलोचना गरे । ‘युरोपमा जर्मनीले छिटो पहिचान र कन्ट्रयाक्ट टे«सिङको तयारी पुरा गरेर मात्र लकडाउन खोलेर सफल भए’ उनले भने । ‘यो तयारी बिना लकडाउन खोल्दा पछुताउनु पर्ने हुन सक्छ’ डा.सुवेदीले भने ।

राष्ट्रिय इपिडिमोलोली तथा रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक डा. बाबुराम मरासिनीले भारतमा संक्रमण बढेर लकडाउन भएको बेला त्यसको असर नेपालका ठूला सहरमा पर्न सक्ने भएकोले जोखिम कायमै रहेको अवस्थामा सरकारी तहबाट ठूलो तयारी आवश्यक रहेको बताए । लकडाउन हटाउने क्रममै पालना गर्नुपर्ने अनिवार्य नियम बाध्यकारी बनाएर मात्र खुकुलो पार्नु पर्ने बताए । रेष्टुराँमा जाँदा भौतिक दुरीको व्यवस्था व्यवसायीले गर्नुपर्ने, स्थानीय निकाय, सेवा प्रदायक तथा व्यवसायीले अनिवार्य रुपमा सेनिटाइजर, सावुन पानीको व्यवस्था गर्नुपर्ने, काठमाडौकै जत्तिकै द्रुत गतिमा उपत्यका बाहिरका दुरदराजमा परीक्षणको पहुँच हुनु पर्ने मरासिनीको सुझाव छ ।

प्रकाशित: ७ श्रावण २०७७ १४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App