निरन्तरको वर्षाले गर्दा धरानको सेउती र सर्दु खोलामा बाढी आइरहेको छ । यही बाढीमा यहाँका पर्यटनकर्मीहरूले कायकिङको सफल परीक्षण गरेका छन् ।
वर्षाको समय त्यसै पनि पर्यटनको लागि अफ सिजन हो । त्यसमाथि कोभिड १९ को महामारी र लकडाउनले गर्दा झण्डै ४ महिनादेखि नेपालको पनि पर्यटन क्षेत्र ठप्प छ । लकडाउन विस्तारै खुकुलो हुँदै गएपछि अफ सिजनलाई अप सिजन बनाउन बाढीमा कायकिङको परीक्षण गरिएको हो । एक्स्ट्रीम धरानको आयोजना र सेतु एड्भेञ्चर प्रालिको सहकार्यमा मंगलबार सर्दु र सेउती दुवै खोलामा कायकिङको परीक्षण भएको थियो । साहसिक खेल पर्यटनको कायकिङको परीक्षण सफल भएको एक्स्ट्रीम धरानका सचिव राम राईले जानकारी दिए ।
वर्षाको समयमा खेर गइरहेको पानीलाई सदुपयोग गर्दै पर्यटकीय गतिविधि गर्न सकिन्छ कि भनेर परीक्षण गरिएको एक्स्ट्रीमका सचिव राईको भनाई छ । उनका अनुसार सर्दु खोलामा धरान १३ स्थित झेलुंगे पुलबाट कायकिङ गरिएको थियो । सेतु एड्भेञ्चर प्रालिका प्रोपाइटर सेतु सिलवालले करिब पाँच किलोमिटरसम्म कायकिङ गरेका थिए । यस्तै, उनले सेउती खोलाको बाढीमा पनि गरेका थिए । ‘अहिले पर्यटनको कुनै पनि गतिविधिहरू भएको छैन, यो बेला अफ सिजन पनि हो, तर अफ होइन अप सिजन बनाउनुपर्छ भनेर वर्षाको बाढीको बेला कायकिङ परीक्षण गरेका हौं,’राईले भने,‘सफल पनि भयो, भविष्यमा डगी र र्याफ्टीङ पनि गर्नसकिन्छ ।’
एक्स्ट्रीम धरान साइक्लिङ, र्याफ्टिङ, प्याराग्लाइडिङलगायत विभिन्न साहसिक खेल पर्यटनसम्बन्ध संस्थाहरू आवद्ध भएको संस्था हो । यसले विभिन्न साहसिक खेलकुद तथा पर्यटनको सम्भावनाहरूको खोजी गर्ने गरेको छ । सेतु सिलवालले धरानमा नै कार्यालय खोलेर तमोर नदीमा पर्यटकहरूलाई र्याफ्टिङ गराउदै आएका छन् । वर्षाको बेला खोलामा आउने बाढीमा पनि साहसिक पर्यटकहरूलाई आकर्षित गर्न सकिने सिलवाल बताउछन् । ‘कही अवरोध भएन, एकदमै एड्भेञ्चर फिल भयो । पछि अरु साथीहरूलाई पनि ल्याएर गराउछौं,’ उनले भने ।
सिजनमा अरुण, सुनकोशी, तमोरबाट पर्यटकहरूले र्याफ्टीङ गर्छन् । तर, अफ सिजनको बेला पनि वर्षा पछि आएको बाढीमा साहसिक पर्यटकहरूलाई आकर्षित गर्न सकिने एक्स्ट्रीमका सचिव राई बताउँछन् । ‘एड्भेञ्चर गर्न रुचाउने मान्छे समय कुर्दैन, जति बेला पनि एड्भेञ्चर गर्न चाहन्छ । त्यसैले यो बेला पनि गराउन सकिन्छ,’उनले भने,‘परीक्षण सफल भयो । यसलाई निरन्तरता दिनको लागि स्थानीय, प्रदेश सरकारले पनि थप ध्यान पुर्याउनुपर्छ ।’
उनका अनुसार निरन्तरता दिनको लागि थप जनशक्ति चाहिन्छ । यस्तै,खोला किनारमा हुने अतिक्रमण रोकेर रुखविरुवा खोप्नुपर्छ भने जथाभावी उत्खनन गर्ने कार्य पनि रोक्नुपर्छ । खोला किनारमा अहिले वस्ती भएकोले सिसा, टिनका पाता, फलमका टुक्राहरू फाल्ने गर्छन् । यसले पनि र्याफट र कायकलाई फुटाइदिने जोखिम भएको उनले बताए । ‘पहिरो जान दिनु भएन । उत्खनन गर्न पनि दिनु भएन । खोला आफ्नै गतिमा वग्न दिनुपर्छ । त्यसो हुँदा चुच्चो ढुंगा खियाइदिन्छ, र र्याफ्टलाई असर गर्दैन,’उनले भने ।
प्रकाशित: ७ श्रावण २०७७ १३:३४ बुधबार