९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्युठान दुर्घटना : चिताको धुवासँगै उड्यो सपना

दुर्घटनामा मारिएका पाचँ जना युवाहरुको सोमबार राती संयुक्त अन्त्येष्टि गरिदै ।

होलेरी नजिकै बाईजा गाउँको जंगलमा सोमबार लहरै बनाइएका चितामा एकै टोलका ५ जना युवाको शव जलिरहदा रोल्पा रोईरहेको थियो । साउने झरीमा आकास रोए जस्तै मलामीका आखा पनि एकनासले बगिरहेका थिए । चितामाथिको धुवा जस्तै मृतकहरुको सपना पनि सोहि धुवासंगै उडिरहेको थियो । निशब्द मलामीहरु भन्दा बढि मृतकका परिवारको अवस्था थप पीडादायक थियो । गत शनिबार प्युठानको रुमालेमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका रोल्पाका मजदुरहरुको सोमबार राती सामूहिक अन्त्येष्टि गरिएको हो ।

काखको सन्तान छिमेकीलाई समाउन दिएर शोला चढाउनु अघि श्रीमानको अनुहार अन्तिम पटक हेरेर अर्धचेत बनेका किशोरीहरु अनि उमेरको छोरालाई दागबत्ति दिन बाध्य बुवाहरु बाचुन्जेल छटपटीमै रहने छन् । मलामी गएका होलेरी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका पत्रकार सन्तोष शर्मा भन्छन् ‘अत्यन्त दुःखद र भावबिह्वल अवस्था थियो । सबै निशब्द ।’ शर्माले थपे ‘मृत्यु आफैमा पीडादायक हुन्छ । तर बाईजा गाउँको पीडा बेग्लै थियो । यस्तो अकल्पनिय र अपुरणीय पीडा कसैले भोग्नु नपरोस ।’

गएको बैसाखमा बिहे गरेका १९ वर्षीय थमन बाठामगर छिमेकी साथीहरुसंगै उज्यालो भविष्यका लागि कामको खोजीमा प्युठान लागेका थिए तर उनि नफर्किने गरि गएका छन् । २१ वर्षीय सागर बस्नेतकी श्रीमती ३ महिनाको काखे बच्चा च्यापेर मृतक श्रीमानको शव हेर्दै भक्कानिरहदा २४ वर्षीय रिमबहादुर बस्नेतकी श्रीमती कुस्मा बस्नेत ६ महिने छोरा बोकेर बिलाप गर्दै थिईन् । एकै टोलका ६ जना युवाको मृत्युपछि यतिबेला बाईजा गाउँ शोकमा डुबेको छ । मृतकका घरमा पुग्ने छिमेकी र आफन्तहरुसंग बोल्ने शब्द समेत छैन ।

लाउलाउ खाउखाउको उमेरमा सिउदो पुछिएका गाउँछिमेकका बुहारी अनि बाला उमेरमा टुहुरा बनेका बालबालिका, उमेरले नेटो काटेका मृतकका बुवा आमा, भावबिह्वल छ होलेरी नजिकैको बाईजा गाउँ । जीवन यात्रा सहज बनाउने आशामा रोजगारी खोज्न बाहिरी जिल्ला गएका युवा उमेरका छोराको किरिया बसेका बुवाहरुको अवस्था दर्दनाक छ । छोरी चेलीको सिउदो पुछिदिनु पर्दाको बाध्यताले बाईजा गाउँका आमाहरु छटपटिमा छन् ।

घर छेउँमा रोजगारीको अवसर नभएपछि प्युठानको सडक निर्माणमा मजदुरीका लागि हिडेका रुन्टीगढी गाउँपालिका ५, बाईजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय बिरेन्द्र बाठा, १९ वर्षीय थमन बाठा, गोर्बधन बुठा र त्रिबेणी गाउँपलिकाका २५ वर्षीय कमल कुँवरले ज्यान गुमाएका थिए । यतिबेला बाईजा गाउँमा सागर, कबिराम, थमन र बिरेन्द्रका बुवाहरु छोराको किरीया बसेका छन् भने बुवा नभएका कारण रिमबहादुरका दाई भाईको किरीया बसेका छन् । एउटै घटनामा मारिएका बाईजा गाउँका ५ युवाको सोमबार राती संयुक्त अन्त्येष्टि गरिएको थियो भने गोबर्धन बुढामगरको मंगलबार बिहान अन्तेष्टि गरिएको छ ।  

समय समयमा बाहिरी जिल्लामा हुने विपद र बिभिन्न दुर्घटनामा रोल्पाली मजदुरहरुले ज्यान गुमाईरहने गर्दछन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले आउदा दिनमा जिल्लामै रोजगारीको सृजना गर्दै युवाहरुलाई आफ्नै जिल्लामा काममा लगाउने वातावरण बनाउनु पर्ने रोल्पालीको अनुरोध रहेको छ ।

प्रकाशित: ६ श्रावण २०७७ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App