१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

समुदायमा देखियो कोरोना संक्रमण

लकडाउन खुकुलो भएसँगै समुदायबाट धमाधम संक्रमितहरू फेला पर्ने थालेका छन्। वीरगञ्जमा पिसिआर परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टअनुसार शनिबार फेला परेका थप ८ जना नयाँ संक्रमितमध्ये ६ जना समुदायबाट आएका व्यक्ति रहेका छन्। अन्य २ जना भने क्वारेन्टिनमा बसेको अवस्थामा परीक्षण गरिएको थियो। यसअघि बिहीबार राति आएको रिपोर्टमा वीरगञ्जमा २ युवतीसहित ३ जनामा कोरोना संक्रमण देखिएको थियो। ति संक्रमित पनि समुदायबाट आएका थिए।  

‘समुदायबाट मानिसले आफ्नो परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो,’ एक जना चिकित्सकले भने, ‘यसको अर्थ संक्रमणको स्रोत समुदायमा नै छ, संक्रमितहरू पहिचान नहुँदै समुदायमा घुलमिल भएर बसेको हुन सक्छन।’ वीरगञ्ज पथलैया करिडोरको एक औषधी उद्योगमा कार्यरत कामदार कर्मचारी रहेका ३ जना ३२, ३७ र ४१ वर्षका पुरुष संक्रमित भेटिएका छन्। उनीहरूले सरकारी नियमअनुसार शुल्क बुझाएर वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए।  

बाराको करैयामाई घर भएका एक जना ४० वर्षीय पुरुषले पनि आफैँ गराएको परीक्षणमा उनी संक्रमित भएको पुष्टि भएको छ। पर्साको औंराहाकी २८ वर्षीया महिलाको नाम संक्रमितको सूचीमा रहेको छ। उनले पनि आफ्नो स्वाब शुल्क तिरेर नारायणी अस्पतालमा परीक्षण गराएकी थिइन। वीरगञ्जको नेशनल मेडिकल कलेजबाट स्वाब संकलन गरिएका एक जना २६ वर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ। ती सबै जनाले आफ्नो इच्छाअनुसार स्वाब परीक्षण गराएका थिए।  

देशभर कोरोना संक्रमण हुनेको संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाए पनि वीरगञ्ज भने समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ।  

गत बिहीबार सखुवा पर्साैनीकी २२ वर्षीया महिला, काठमाडौं स्थायी ठेगाना भइ यहाँ कार्यरत ४५ वर्षीय पुरुष र वीरगञ्ज श्रीपुरका १८ वर्षीया युवती गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीनै जनाको असार ३१ गते स्वाब संकलन गरिएको थियो। बिहीबार राती आएको रिपोर्टमा संक्रमण पुष्टि भएको थियो। देशभर कोरोना संक्रमण हुनेको संख्या घट्दै गएको तथ्यांकले देखाए पनि यहाँ भने समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ। बाहिरबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिने र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको ट्रयाक रेडर्क अनुसार परीक्षण गर्दा समुदायमा रहेका व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिन थालेको छ।

पछिल्लो तथ्यांकले समुदयमा कोरोना संक्रमित लुकेर बसेको र यसको कारण जोखिम बढ्दै गएको देखिन्छ। लकडाउन खुकुलो भएपछि बजारमा भिड्भाड पहिलेको जस्तै हुँदा र स्वास्थ्य सुरक्षामा ध्यान नदिँदा संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ। लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा सजिलै आवतजावत गर्ने भएकाले पनि संक्रमणको जोखिम बढेको नागरायणी अस्पतालका डाक्टर मदन उपाध्यायको भनाइ छ।  

समुदायमा रहेका व्यक्ति नै संक्रमित भएको पुष्टि भएपछि कोरोना संक्रमितहरू लुकुर रहेको हुनसक्ने र यसले थप जोखिम बढाउने उनले बताए। अहिलेको अवस्थालाई हर्दा समुदायमा परीक्षणको दर बढाएर जतिसक्दो सबै ठाउँमा परीक्षण गर्नुपर्नेमा उनले जोड दिए। कोरोना संक्रमण रोकथाम गर्नका लागि सरकारले प्रभावकारी काम गर्नुपर्ने र परीक्षणका दायरा बढाउनुपर्ने उनको भनाइ छ। वीरगञ्जको नागरायणी अस्पतालका चिकित्सकका अनुसार अहिलेसम्म यहाँ परीक्षण गरिएका मध्ये ९८ प्रतिशत लक्षण नदेखिएका कोरोना संक्रमित रहेको तथ्यांकले देखाएको छ। 

प्रकाशित: ५ श्रावण २०७७ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App