१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नाचागान र इन्टरनेटमा दिन बिताउँछन् क्वारेन्टिन बस्नेहरु

नाचगान गर्दै गोरखा नगरपालिकाको क्वारेन्टिनमा बसेकाहरु । तस्बिर : नागरिक

गोरखा नगरपालिका १० टक्सारको मनकामना बहिरा आवासीय विद्यालयको क्वारेन्टिनमा बसेकाहरु हरेक बिहान डेढदेखि दुई घण्टा ब्यायाम गर्छन् । गितको तालमा नाचगान गर्ने, क्वारेन्टिनको सुरक्षार्थ खटिएका नेपाली सेना, स्वास्थ्यकर्मीसँगै ब्यायाम गरेर उनीहरुको समय बितेको छ । पटक–पटक गरी एक सय ३६ जना बसिसकेको क्वारेन्टिनमा अहिले १७ जना मात्रै बाँकी छन् । 

‘एक सय १७ पुरुष र १९ जना महिला यहाँ बसिसक्नुभयो’ क्वारेन्टिमा खटिएकी स्वास्थ्यकर्मी ज्योती श्रेष्ठले भनिन् ‘अहिले १७ जना बाँकी हुनुहुन्छ ।’ बसेकाहरु मध्ये अधिकांश विदेशबाट आउनेहरु छन् । भारतबाट ४९ जना, तेस्रो मुलकबाट २० जना र ६७ जना नेपाल भित्रकै जिल्लाबाट क्वारेन्टिन बसेका थिए । त्यहाँ रहेकालाई बिहान ब्यायाम गराउने, खाजा, खाना दिने गरिन्छ । दिनभरी र साँझपनि क्वारेन्टिनमा बसेकाहरु इन्टरनेट चलाएर समय बिताउँछन् । ‘मेरो साथीले क्वारेन्टिन ठिक छ, राम्रो सुविधा छ भनेपछि म पनि विदेशबाट आएको हुँ’ अहिले क्वारेन्टिनमा बसिरहेका एक युवकले भने । 

गोरखा नगरपालिकाले बनाएको उक्त क्वारेन्टिनमा अन्य गाउँपालिका र नगरपालिकाका मानिस पनि बस्ने गरेका छन् । ‘गोरखा नगरपालिकाको नाका भएर आएका अन्य पालिकाका नागरिकलाई पनि हामीले राखेका छौँ’ नगरप्रमुख पन्तले भने । क्वारेन्टिन ब्यवस्थापनका लागि प्रदेश र संघीय सरकार कतैबाट रकम निकासा नहुँदा नगरपालिकाले आफैँ ब्यवस्थापन गरेको उनले बताए । क्वारेन्टिनमा बसेकाहरुको अवस्था बुझ्न पटक–पटक आफैँ पुगेको बताउँदै उनले भने ‘क्वारेन्टिन ब्यवस्थापन गर्न सक्दो प्रयास गरेका छौँ ।’ सुरक्षाकर्मीको सहयोगले क्वारेन्टिनमा बसेकाहरुलाई सेवा दिन सहज भएको उनले बताए । 

क्वारेन्टिनमा रहेका मध्ये १० जनालाई पिसिआर पोजेटिभ देखिएको छ । ‘१० मध्ये सात जना निको भएर घर जानुभयो, तीन जना आइसोलेसनमा पठाएका छौँ’ क्वारेन्टिन ब्यवस्थापनमा खटिएका कर्मचारी चित्रबहादुर अधिकारीले भने । गोरखाका केही स्थानीय तहले निर्माण गरेको क्वारेन्टिन भने आधारभुत पूर्वाधार समेत नभएको गुनासो बसेर फर्केकाहरुको छ ।

प्रकाशित: २७ असार २०७७ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App