आज साेमबार पनि देशभर वर्षा हुने र त्यसबाट बाढी, पहिरो, डुबानजस्ता विपद् आउन सक्ने सम्भावना रहेको भन्दै मौसमविद्ले सजग रहन सबैलाई आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मौसम बदली भएको छ भने केही स्थानमा वर्षा पनि भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नम्बर १, २, ५ र सुदूरपश्चिम प्रदेशका एक–दुइ स्थानमा भने ठूलै पानी पर्ने सम्भावना छ ।
यस्तै राति पनि देशका धेरै ठाउँमा वर्षा जारी नै रहने तथा यसअघि उल्लिखत प्रदेशसहित गण्डकी प्रदेशका समेत एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।
सोमबार बिहान ६ बजे महाशाखाले जारी गरेको २४ घण्टे चेतावनीमा वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले पनि वर्षाका कारण देशभरजसो नै बाढीको जोखिम रहेको जनाएको छ । साेमबार सूचना जारी गर्दै महाशाखाले बाढीकाे जाेखिम रहेका खाेला/नदीकाे जानकारी गराएकाे हाे । हेर्नुहाेस् सूचना :
प्रकाशित: १५ असार २०७७ ०८:३० सोमबार