पाल्पा गुल्मी सडकखण्डमा पहिरोले २ वटा सवारीसाधन बगाउँदा तीनजनाको मृत्यु भएको छ। सडकमा गुडिरहेको ट्याङ्कर र ट्रकलाई पहिरोले बगाउँदा ३ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घटनास्थलमा दुईजना र एकजनाको भने उपचारका क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। सोमबार रातिसम्म मृतकको भने पहिचान हुन सकेको छैन ।
लु १ क १९२८ नम्बरको ट्याङ्कर पहिरोसँगै सडकबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। लु २ ख १३७६ नम्बरको ट्रक भने सडकबाट करिव १ सय मिटर तल पहिरोसँगै बगेर अडकिएको थियो। एउटा गाडी भने पहिरोले क्षतविक्षत भएको छ।
अबिरल वर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा दुर्घटना भएको हो। पहिरोले तेल बोक्ने ट्याङ्कर र ट्रकमा ठूलो क्षति पुगेको छ। पहिरोले कुखुरा बोक्ने बोलेरो जिप र कारमा भने सामान्य क्षति पुगेको छ। पहिरो आउनासाथ सडकमै रोकिएकाले जिप र कारमा रहेकाहरु भने सकुशल रहेको प्रहरीले बताएको छ।
अविरल वर्षासँगै आएको पहिरोले पाल्पा गुल्मी सडक अवरुद्ध भएको छ। घटनालगत्तै उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको थियो।
प्रकाशित: ९ असार २०७७ ०२:४२ मंगलबार