२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा बढ्यो सुरक्षा

लकडाउन अवधिमै नौ स्थानमा थपियो सीमा प्रहरी

सीमा निगरानीका लागि नाका क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्लाका सुरक्षा प्रमुख लगाएत सुरक्षाकर्मीहरू । तथा खांग्रामा सीमा सुरक्षार्थ सशस्त्र प्रहरीबलको पोष्ट उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजाल । तस्बिर सौजन्य : शिबु खनाल ।

एक वर्ष अघि सम्म दाङको नेपाल भारत सीमा क्षेत्रमा एक स्थानमा मात्रै सीमा सुरक्षा प्रहरीको उपस्थिति थियो । कोयलावासमा मात्रै रहेको सीमा सुरक्षा प्रहरीलाई ८३ किलोमिटर सीमा क्षेत्रको निगरानीका लागि हम्मे हम्मे पथ्र्यो । सडक नहुनु, पैदल हिँडेरै सुरक्षाकर्मीहरूले सीमा रक्षार्थ अहम भुमिका निर्वाह गर्दै आए । तर एकै स्थानमा मात्रै रहेको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको उपस्थिति अहिले सीमा क्षेत्रमा बढाइएको छ । फलतः अहिले सीमा सुरक्षामा चुनौती धेरै हद सम्म कम भएको छ । 

कोयलावास पछि सुनपथरी नाकामा सशस्त्र प्रहरीको दोस्रो सुरक्षा पोष्ट खडा भयो । ‘एक स्थान (कोयलावास) मा मात्रै सीमा सुरक्षार्थ प्रहरीको उपस्थिति हुँदा सीमा निगरानीमा समस्या भएको थियो,’ दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘एक वर्ष यता सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको सुरक्षा पोष्ट बढान सुरु गर्यौँ ।’  

कोरोना संक्रमणको उच्च जोखिम बढेपछि प्रशासनले नेपाल भारत सीमा क्षेत्रलाई दाङमा कोरोना संक्रमण भित्रन सक्ने प्रमुख जोखिम क्षेत्रका रुपमा मान्यो । भारतमा बढिरहेको संक्रमण यी खुला सीमा नाकाबाट हुने मानिसहरूको आगमनले संक्रमण सहजै भित्रन सक्ने प्रशासनको आँकलन थियो । फलतः कोयलावास र सुनपथरी नाका बाहेकका अन्य खुला (आवतजावत बढि हुने) नाकामा प्रहरीको उपस्थिति बढाउनु अपरिहार्य नै थियो । 

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्न तथा सीमा सुरक्षाका लागि लकडाउन अवधिमै थप ९ स्थानमा सशस्त्र प्रहरीको पहुँच विस्तार गरिदियो । अहिले सशस्त्र प्रहरीको उपस्थिति ११ नाकामा बिस्तार भैसकेको छ । ‘कोरोना संक्रमणको त्रासका कारण पनि खुला रहेको सीमा क्षेत्रबाट वारीपारी हुने मानवीय आउजाउलाई रोक्नु पर्ने नै थियो,यसर्थ पनि सुरक्षा कडाई आवश्यक थियो,’ रिजालले भने, ‘यो संगै सीमा क्षेत्रको सुरक्षाका लागि कमजोर सुरक्षा व्यवस्थापनलाई बढाउने हेतुले लकडाउन अवधीमै थप ९ स्थानमा सुरक्षा पोष्ट खडा गर्यौँ ।’  

प्रमुख जिल्ला अधिकारी रिजालले अहिले सीमा क्षेत्रमा सुरक्षा दृष्टिकोणले पहिलेको तुलनामा धेरै बल पुगेको भन्दै नाका क्षेत्रमा सीमा सम्वन्धी कुनै पनि समस्या नरहेको बताए । यसअघि भने, फाट्टफूट्ट रुपमा भारतीय पक्षले हेपाहा व्यवहार देखाउने गरेको गुनासो सीमा क्षेत्रका नेपालीहरूबाट आउने गर्दथे । ‘अहिले सीमा र सीमा क्षेत्रमा बसोबास गर्दै आएका दंगाली नागरिकहरूमा कुनै समस्या छैन,’ प्रजिअ रिजालले भने, ‘स्थानीयलाई पनि प्रहरीको उपस्थिति पाएपछि सुरक्षित महशुस गराइदिएको छ ।’ उनका अनुसार थप आठ स्थानमा छिट्टै सशस्त्र प्रहरीको उपस्थिति बढाउने तयारी भैरहेको छ । यसर्थ सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा केन्द्रीत गर्ने उदेश्यले जिल्लाका कारागारहरूमा समेत सशसत्र प्रहरीको सुरक्षा हटाइएको छ । कारागारहरूको सुरक्षा केही दिन अघि देखि नेपाली सेनाले गर्दै आएको छ ।  

नेपाल भारत सीमा क्षेत्रमा खटिएका प्रहरीहरू दुई स्थानबाहेक नौ स्थानमा कच्ची घरमा बस्दै आएका छन् । कोयलावासमा त्यहाँ रहेको भन्सार कार्यालयको भवनमा प्रहरी बस्दै आएको छ भने, सुनपथरीमा प्रदेश सरकार र राजपुर गाउँपालिकाको लगानीमा सरकारी संरचना निर्माणको काम भैरहेको छ । अन्य नौ स्थानमा भने, स्थानीयका कच्ची घर भाडामा प्रयोग गरिएको छ । ‘कोयलावासमा पहिले देखिनै भन्सार कार्यालयको भवनमा प्रहरी बस्दै आएको छ, यसैगरि सुनपथरीमा नयाँ भवन बन्दै छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अन्य नौ स्थानमा भने स्थानीय नागरिकहरूका कच्ची (फुस)ले छाएका घरमा बसेका छन् ।’

हराएको पिलर अँझै बनेन

दाङमा पर्ने ८३ किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा कुल ७७ वटा सीमा स्तम्भहरू हुन् । तर लामो समय देखि यो सीमा क्षेत्रमा ७६ वटा मात्रै सीमा स्तम्भ छन् । खवरी खोला भन्ने स्थानमा रहेको सहायक स्तम्भ खोलाले बगाएको निकै लामो समय भैसक्यो  । तर खोलाले बगाएको यो स्तम्भको पुनरनिर्माण बर्षौँ वितिसक्दा पनि हुन सकेको छैन ।  

‘धेरै समय अघि खोलाले बगाएको एउटा सीमा स्तम्भ अहिले सम्म बन्न सकेको छैन,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘खबरी खोला भन्ने स्थानमा सीमा स्तम्भ खोलाले बगाएको रहेछ ।’ सीमा पुनरनिर्माणका लागि दुई देशीय सम्झौता हुनु पर्छ । यहि सम्झौताका आधारमा दुबै देशका प्रतिनिधिहरू सहभागी भई सीमाको एकिन स्थान किटान गरि पुनरनिर्माण गर्नुपर्ने हुन्छ । यसैगरि नेपाल तर्फका जिर्ण अवस्थामा रहेका अन्य सीमा स्तम्भहरूको भने मर्मत भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । ‘हराएको स्तम्भ बाहेक अरु जिर्ण अवस्थामा रहेको सीमा स्तम्भहरूको भने मर्मत भएको छ,’ उनले भने ।

प्रकाशित: ७ असार २०७७ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App