१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सरकारविरुद्ध सडकमै लम्पसार

शनिबार सहिदगेटनजिकै सडक पेटीमा सुतेर सरकारविरोधी प्रदर्शन गर्दै युवा। तस्बिर: केशवराज थोकर/नागरिक

शनिबार बिहान १०ः१५ बजे। साँघुरा सडकपेटीभरी लम्पसार छन् केही जवानहरू। पेटीमा ढले झैं गरेका उनीहरू कोही राताम्मे छन्, कोही पहेंलपुर। दृश्य हेर्दा लाग्छ, कुनै फिल्मको सुटिङ हुँदैछ यहाँ। यस्तो देखेर प्रहरी पनि अचम्म मान्दै छन्। सञ्चारकर्मीहरू फोटी खिच्न दौडिँदै छन्।  

छातीमा प्लेकार्ड टाँसेर सुतेका ती जवान शरीरहरू वास्तवमा निदाएका त थिएनन् तर निदाए झै गरेको सरकारलाई ब्युँझाउने प्रयास गर्दै थिए। प्रहरी भने निदाए झैं गरेका तीनै जवानहरूमाथि जाइलाग्न पानीको फोहरासहित सडकमा तम्तयार थिए। शनिबार सहिदगेटमा देखिएको यो दृश्य निकै अनौठो थियो।

सडकपेटीमा लम्पसार परेको दृश्य केही समयदेखि लगातार सरकारविरोधी प्रदर्शन गर्न निस्किरहेका युवाहरूको थियो। पछिल्लो समय यी युवाहरूको समूहले गरेका प्रदर्शनमध्येकै यो फरक प्रदर्शन थियो। प्लेकार्ड बोकेर सडकमा उभिने, सामाजिक दुरी कायम राखी सडकमै थचक्क बस्ने, कहिले राष्ट्रियगान बजाएर प्रदर्शन सुरु गर्ने, कहिले थरीथरीका कलात्मक प्लेकार्ड बनाउनेजस्ता रचनात्मक प्रदर्शन युवाहरूले गर्दै आइरहेका छन्। केही दिनअघि प्रदर्शनकै क्रममा उनीहरूले राष्ट्रियगान बजाएपछि प्रहरीले प्रदर्शनकारीसँगै स्यालुट मार्नुपरेको थियो। ‘हामी यहाँ तडकभडक गर्न आएका होइनौं, सकेसम्म शान्तिपूर्वक आफ्ना मागहरू राख्छौं तर माग सुनुवाइ भएन भने जे पनि हुनसक्छ,’ प्रदर्शनमा उत्रिएका नरेन्द्र रेग्मीले भने।

विभिन्न तरिका अपनाएर रचनात्मक प्रदर्शन गर्दै आइरहेका युवाहरूले शनिबार गरेको प्रदर्शनले धेरैको ध्यान खिचेको थियो। उनीहरूले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरूलाई व्यंग्य गरेका थिए।

विरोधका विभिन्न तरिका अपनाएर रचनात्मक प्रदर्शन गर्दै आइरहेका युवाहरूले शनिबार गरेको प्रदर्शनले धेरैको ध्यान खिचेको थियो। उनीहरूले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरूलाई व्यंग्य गरेका थिए। प्रधानमन्त्रीले बेसार खाएर कोरोना जितौं भनेर दिएको अभिव्यक्तिलाई उनीहरूले खुब गतिलो व्यंग्य गरे। युवाहरूले आफ्नो जिउभरी बेसार छर्किएर सडकमा लम्पसार परेका थिए।

त्यस्तै, विदेशबाट नेपालीलाई समयमै उद्धार गर्न नसकेको, क्वारेन्टाइनको बेहाल अवस्था, महामारीको बेला पनि सरकारले गरेको कर असुली, महामारीविरुद्ध लड्न झिनो व्यवस्थापनलगायत विषय पनि उनीहरूको विरोधको ताचरो हुँदै आएको छ। सरकारले केही समयअघि कोरोना नियन्त्रणमा १० अर्ब खर्च भएको घोषणा गरेको थियो। त्यसलगत्तै त्यो खर्चको विवरण माग्न युवाहरू सडकमा उत्रिएका थिए।  

सरकारले साताअघि उक्त खर्चको झाराटारी विवरण सार्वजनिक गरेको थियो। तर युवाहरूले त्यसको यथार्थ विवरण माग गरेका छन्। ‘त्यत्रो बजेट कहाँ गयो अत्तोपत्तो छैन, १० अर्ब साँच्चै पारदर्शी ढंगले खर्च भएको भए यस्तो हालत हुनेथिएन, यस्तोबेला पनि सरकारका अधिकारीहरूले करोडौं घोटाला गरेका छन्,’ सहिदगेटमा भेटिएका अभियन्ता सुसन बस्नेतले भने।

सरकारविरुद्ध यी यस्तै प्रदर्शन गर्न इनफ इज इनफ र कोभिड १९ नेपाल नामक फेसबुक ग्रुप बनाइएको छ, जसमा दुई लाखभन्दा बढी युवाहरू आबद्ध छन्। उनीहरूले सामाजिक सञ्जालमै छलफल गरेर प्रदर्शन र सरकारविरोध कार्यक्रमहरू आयोजना गर्दै आइरहेका छन्। उनीहरूले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने र कोभिड संक्रमणको बेला सरकारले गरेको खर्चको चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरिरहेका छन्।  

केही दिनयता युवाहरूले उपत्यकाबाहेक पोखरा, धनगढी, विराटनगर, झापा, इटहरीलगायत क्षेत्रमा पनि प्रदर्शन गर्दै आइरहेका छन्। शनिबार उपत्यका, पोखरा, विराटनगरलगायत ठाउँमा उनीहरूले प्रदर्शन गरेका थिए।

प्रदर्शन नितान्त युवाहरूले गर्दै आइरहेको भनिए पनि विवेकशील, साझा पार्टी, नेपाली कांगे्रसलगायत पार्टीका नेताहरू पनि बीचबीचमा देखिने गरेका छन्। उनीहरूले आफूहरू युवालाई हौसला र सही कार्यमा समर्थन गर्न आएको बताउने गरेका छन्। विवेकशीलका नेता उज्जवल थापाले राम्रो कामको सदैव समर्थन रहने बताए। ‘हामी युवाहरूलाई साथ र हौसला दिन चाहन्छौं, युवाहरू नै यो देशका भविष्य हुन्, उनीहरूलाई चित्त नबुझ्ने काम गर्नु सरकारको ठूलो कमजोरी हो,’ उनले भने। उनले युवाहरूलाई हौसला दिनका लागि आफूहरू सडकमा निस्किएको जानकारी दिए।

प्रकाशित: ७ असार २०७७ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App