रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, रिन्जेन नुर्पु घलेको गोठमा अहिले १५ वटा चौरी छ । उनले गत वर्ष ओखलढुंगाबाट ल्याएर गोठमा चौरी थपेका हुन् । थपिएका चौरीलाई घाँस पुर्याउन हम्मेहम्मे पर्छ । किनकी खर्कमा घाँस पहिले जस्तो छैन ।
खर्कको क्षेत्र पनि घटेको छ । पहिले नौवटा गोठ राख्ने गरिएको तमे खर्कमा अहिले उनको सहित तीनवटा गोठ छ । तर पर्याप्त मात्रामा घाँस छैन । घाँस नपुग्दा चौरीले थोरै मात्र दुध दिन्छ । ‘चौरीलाई पर्याप्त घाँस दिन सके पो दुध दिन्छ’, उनले भने, ‘घाँस थोरै हुँदा कृषकलाई धेरै घाटा हुन्छ ।’
तमे खर्कमा पहिले ९ वटासम्म गोठ हुन्थ्यो । चौरी धेरै हुन्थे । खर्कमा घाँस र पानीको समस्या थिएन । कृषकहरूले अहिले भन्दा दोब्बर चौरी त्यहाँ चराउने गरेका उनले बताए । अहिले त्यहाँ तीनवटा मात्र गोठ छ । खर्क टाढा–टाढा छ । उनलाई लाग्छ, चौरी पालन गर्नका लागि खर्क पर्याप्त चाहिन्छ । खर्क घट्नु अहिलेको प्रमुख समस्या हो ।
धुन्चेबाट तीन ठाउँमा सरेपछि तामे खर्क पुगेको उनले बताए । उनी त्यहाँबाट अझै दुई वटा खर्क सरेर मूलखर्क पुग्छन् । यो खर्कमा पानीको समस्या भने छैन । तर घाँसको समस्या भने धेरै छ ।
उनले सुरुमा ८ वटा चौरीबाट आफ्नो व्यवसाय सुरु गरेका थिए । अहिले उनीसँग १५ वटा चौरी छ । उनी अहिले ६५ वर्षको भए । ‘सानैदेखि चौरी चराउने काम गर्दै आएको थिएँ’, उनले भने, ‘सुरुमा चौरी गोठालो जाँदा घाँसको अभाव झेल्न परेको थिएन् ।’ १५ वर्ष हुँदादेखि उनको पशुपालन यात्रा सुरु भयो ।
उनले अहिले उत्पादन भएको दुधबाट घिउ बनाउँदै आएका छन् । पहिले यो समयमा उनले चीज उत्पादन केन्द्रलाई दुध बेचिरहेका हुन्थे । केन्द्रले दुध नलिएको बेला छुर्पी र घिउ बनाउँछन् । एउटा चौरीले १५ बेत ब्याएपछि ती चौरी बेच्ने गरेको उनी बताउँछन् ।
अहिले चौरी गोठ घट्दै गएको छ । २०७२ बैशाख १२ गते आएको भूकम्पले धेरै खर्कमा पानीको मुहान सुकेको उनी बताउँछन् । जौबारी खर्कमा रहेको कुवा पनि सुक्यो । फुलुङ खर्कमा पनि पानी बोक्न धेरै टाढा जानुपर्ने भयो । ‘पहिले माथिमाथि गएपछि पानीको समस्या कम हुन्थ्यो’, उनले भने, ‘अहिले त १ कोश टाढाबाट पानी ल्याउन पर्छ ।’
चौरीलाई चाहिँ पानी खुवाउन झन्झट गर्न पर्दैन । चौरीलाई एक पटक पानी खाने ठाउँमा पुर्याएपछि दोस्रो पटक आफैं जान्छ र फर्कन्छ । ‘एकचोटि देखाएपछि चौरी पानी खान आफैं जान्छ’, उनले भने, ‘मान्छेका लागि मात्र पानी बोक्नपर्ने हो ।’
यो खर्कमा उनी जेठ महिनाभरी बस्छन् । त्यसपछि उनको गोठ असारभरी मारमेहेन्दो खर्कमा रहन्छ । साउन÷भदौमा फुलुङ खर्कमा पुग्छ । असोजपछि उनको गोठ पुनः तमे खर्कमा नै आइपुग्छ ।
प्रकाशित: १४ जेष्ठ २०७७ ११:४८ बुधबार