२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमितलाई चार दिनसम्म अस्पताल पुर्‍याइएन

कर्णालीका एक मात्र कोरोना संक्रमित दैलेखस्थित ३५ वर्षीय युवालाई अस्पताल पुर्‍याउनुको सट्टा विद्यालयमा राखिएको छ । जसले गर्दा मनबोल कमजोर बनेको कोरोना संक्रमित आठबीस–१, सात्तलाका ती युवाले बताए ।  

कोरोना संक्रमितको उपचारका लागि भन्दै प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी मिसन अस्पताललाई कोरोना अस्पतालका रूपमा तोकिएको छ । उक्त अस्पतालहरूमा आवश्यक रकमसमेत पठाइसकिएको छ । तर उक्त अस्पतालमा नलिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डविपरीत सदरमुकामको सरस्वती माध्यमिक विद्यालय झुप्रेसालमा राखिनु गलत भएको भन्दै आठबीस नगरपालिकाले असहमतिसमेत जनाएको छ ।

नगरपालिकाले महाविपत्तिको घडीमा प्रदेश सरकारको भूमिका खेदजनक भएको जनाएको छ । ‘एकातिर कोरोनाको महामारीविरुद्ध लड्नु पर्ने छ,’ उपप्रमुख दीपा बोहराद्वारा हस्ताक्षेरित असहमति पत्रमा लेखिएको छ, ‘अर्काेतिर जनतालाई सरकारको अभिभावकत्वको व्यवहारिक प्रत्याभूति दिलाउनु पर्ने दायित्व छ ।’ यी दुवै भूमिकामा प्रदेश सरकार चुकेको उक्त असहमति पत्रमा उल्लेख छ । कोरोना उपचारका लागि तोकिएका अस्पतालमा नपुर्‍याइ नगरवासी संक्रमित ती युवालाई विद्यालयमा राख्नु स्वास्थ्यमाथि ठूलो खेलवाड भएको नगर उपप्रमुख बोहराले जनाइन् । 

दैलेखका कोरोना संक्रमित व्यक्तिको उपचारमा भेदभाव भएको आठबीस–१, का वडाध्यक्ष प्रवसिंह विकले जनाए । मन्त्रीका आफन्त, पारिवारिक सदस्य, कार्यकर्ता र निर्वाचन क्षेत्रका आफ्ना मतदातालाई सामान्य चोटपटक लाग्दा गाडी र हेलिकोप्टर प्रयोग गर्ने र कोरोना संक्रमित व्यक्तिको उपचारमा विभेदकारी, अन्यायपूर्ण र गैरजिम्मेवारी ढंगले विद्यालयमा राखिएको उनको भनाइ छ ।

विद्यालयमा पढ्न आएको नभइ उपचारका लागि आएकाले आफूलाई सुविधा सम्पन्न अस्पतालमा लिनु पर्ने कोरोना संक्रमित ३५ वर्षीया युवाले जनाएका छन् । ‘विद्यालयमा राख्दा मेरो मनोबल कमजोर हुँदै गएको छ,’ उनले भने, ‘अपेक्षा गरे जसरी उपचार पाएको छैन ।’ अस्पतालका अन्य बिरामी र स्वास्थ्यकर्मीहरू डराएका कारण संक्रमित व्यक्तिलाई अस्पतालको सट्टा विद्यालयमा राखिएको स्थानीयको आरोप छ । सबैको उपचारमा पहुँच स्थापित गर्नुको विपरीत पहुँचका आधारमा विभेदकारी र अन्यायपूर्ण ढंगले उपचारमा लापरबाही भएको स्थानीय बताउँछन् । यता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने उपचारमा कुनै विभेद नगरिएको बताए । संक्रमितको अवस्था सामान्य भएकाले जिल्लामै उपचार गराएको भन्दै उनले भने, ‘अवस्था बिग्रियो भने कोरोना अपस्तालमा ल्याए उपचार गर्छाैं ।’ अहिले दैलेखमै कोरोना संक्रमितको उपचार भइरहेको मन्त्री भण्डारीले जानकारी दिए ।

दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले कोरोना संक्रमित व्यक्तिको उपचारको व्यवस्थाका लागि छलफल भइरहेको जानकारी दिए । ५ गते राति सवा १० बजे उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि भन्दै संक्रमित ती युवालाई ६ गते साँझ करिब ५ बजेतिर जिल्ला सदसरमुकाम पुर्‍याइएको थियो । 

प्रकाशित: ९ जेष्ठ २०७७ ०९:४९ शुक्रबार

कोरोना संक्रमित अस्पताल