१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

खोटेहाङमा सवारी साधन आवत–जावतमा रोक

छिमेकी नगरपालिकामा कोरोना संक्रमित फेला परेसँगै खोटाङको खोटेहाङ गाउँपालिकाले सवारी साधनको आवत–जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक युवालाई कोरोना संक्रमण भएको पुष्टी भएपछि खोटेहाङ गाउँपालिकाले सवारी साधनको आवत–जावतमा कडाई गर्ने निर्णय गरेको हो ।  

अनियन्त्रितरुपमा गाउँपालिका भित्रिने र बाहिरिने स्थानीयबाट संक्रमण भित्रिने खतरा बढेको भन्दै गाउँपालिकाको संयोजनमा बुधबार बसेको बैठकले गाउँपालिकाको क्षेत्रभित्र सवारी साधनको आवागमन पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो । अत्यावश्यकीय काम तथा निर्माणको कामका लागि ढुवानीमा प्रयोग हुने सवारी साधनका लागि गाउँपालिकाबाट सवारी पासको व्यवस्था मिलाइने गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।  

सवारी साधनको आवागमन नियन्त्रणका लागि खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको दुईतिर प्रहरी परिचालन गरिएको छ । गाउँपालिकाले औषधि पसल बाहेक खाद्यान्न पसल दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुला गर्ने निर्णय गरेको छ । यसको अनुगमनका लागि ९ वटै वडामा वडाध्यक्षको संयोजकत्वको पाँच सदस्यीय अनुगमन समितिले अनुगमन गरिरहेको अध्यक्ष राईले बताए ।

 गाउँपालिकाले लकडाउनको पूर्ण पालना गर्न तथा लकडाउन उल्लंघन गरेको पाइए संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । गाउँपालिकाभन्दा बाहिरबाट आउने जो कोहीलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित: ८ जेष्ठ २०७७ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App