२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङका बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

बेग्ला बेग्लै घटनामा परी ताप्लेजुङमा दुई जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । काठ र दाउराका लागि रुख ढाल्ने क्रममा फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुको मयायमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरल भनिने सन्तबीर तबेबुङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए । रुख काट्ने क्रममा रुखलाई बञ्चरोले हान्दा उछिट्टिएर सन्तबीरको पेटमा लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  

यता सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनका एक युवक हराएको १८ दिनपछि मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठका अनुसार याम्फुदिनका २५ बर्षिय ग्याबु शेर्पा मृत भेटिएका हुन् । बैशाख २१ गते दिउँसो घरबाट च्याउ खोज्न जान्छु भनी हिडेंका उनी घर फर्की नआएपछि उनका आफन्तले प्रहरीलाई जाहेरी दिएका थिए । उनको शव खोला किनारमा फेला परेको थियो ।  

यता मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा लप्सीबोटेका २१ बर्षिय युवक केशव खवास मिक्वाखोला र मेरिङ्देन गाउँपालिकाको बीच भाग भई बग्ने मेवाखालामा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले जानकारी दिए । मृतक २ जनाकै शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: ७ जेष्ठ २०७७ ११:०७ बुधबार

कोभिड १९ कोरोनाभाइरस