२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरी लगाएर अस्पताल पुर्‍याइएको थियो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाएकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया साबित्रा चालिसे धुलिखेल अस्पतालमा जान स्थानीय चिकित्सकले गरेको आग्रहलाई बेवास्था गर्दै घरमै फर्किएको खुलेको छ । उनलाई अस्पताल पठाउन प्रहरी नै खटाउनु परेको थियो ।  

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले निकै कर गरेपछि मात्र उनी उपचारमा धुलिखेल जान राजी भएकी थिइन् । धुलिखेलमा उपचारको क्रममा बिहीबार राती ज्यान गुमाएकी उनी १० दिनको सुत्केरी थिइन् । खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि यसअघि उनी बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी थिइन् । ‘जेठ १ गते बिहान खोकी लाग्यो । सास फेर्न गाह्ररो भयो भन्दै आउनु भएको थियो,’ सुरुमा साबित्राको उपचारमा संलग्न स्वास्थ्य केन्द्रकी डा.निसान्ता शर्माले भनिन्, ‘ज्वरो पनि थियो । एक्सरे गरेर हेर्दा दुबै छाती खराब देखियो ।’

१० दिने शिशु च्यापेर उनी आफन्तको साथमा स्वास्थ्य जाँचका लागि बाह्रविसे झरेकी थिइन् । कोरोनाको आशंकामा केन्द्रले सुरुमै उनको आरडिटी गरेको थियो । आरडिटीमा कोरोना भाइरस नेगेटिभ देखिएको डा. शर्माले जानकारी दिइन् । ‘आरडिटीले सँधै सही नतिजा नदिने र छातीसमेत खराब भएकाले धुलिखेल अस्पताल रिफर गरेको थिएँ,’ उनले भनिन् । बिरामी पुर्जीमै कोरोनाको आशंका गर्दै सोको परीक्षण गर्न अस्पताललाई सिफारिस गरिएको समेत उनले बताइन् ।  

स्वास्थ्य केन्द्रले केन्द्रकै एम्बुलेन्समा धुलिखेल जान अनुरोध गरेको थियो । उपचार खर्च जुटाउने र बलेरो रिजर्भ गरेर अस्पताल जाने बताउँदै साबित्रा केन्द्रबाट बिहान १० बजेतिर बाहिरिएकी थिइन् । दिउँसो २ बजेतिर धुलिखेल अस्पतालमा फोन गरेर डा. शर्माले साबित्राबारे जानकारी लिइन् । अस्पतालले उक्त नामको बिरामी नआएको बताएपछि उनले सिधै साबित्रालाई फोन गरिन् । ‘उहाँ (साबित्रा) अस्पताल नगएर घरै फर्कँनु भएछ,’ डा. शर्माले भनिन्, ‘हामीले स्लाइनपानी र केही औषधी चलाएका थियौँ । त्यसले काम गर्दा केही आराम अनुभव भएकाले अस्पताल नगएको हुन सक्छ ।’

डा. शर्माले नै साबित्रा र उनको अवस्थाबारे इलाका प्रहरी कार्यालय बाह्रविसेलाई जानकारी दिइन् । तत्काल राम्चे पुगेर प्रहरी टोलीले नवजात शिशुसहित सावित्रालाई बाह्रविसे ल्याएपछि केन्द्रको एम्बुलेन्समा राखेर साँझ सवा ७ बजेतिर धुलिखेल पु-याएको थियो । ‘राति ११ बजेतिर उनको मृत्यु भएको खबर पाएका थियौँ । मृत्युको कारण भने थाहा पाएनौँ,’ डा. शर्माले भनिन् ।  

 काठमाडौँको गोगंबुमा डेरा गरी बस्दै आएकी सावित्रा बैशाख २३ गते शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी थिइन् । त्यसै दिन भर्ना भएकी उनले अस्पतालको बेड नं.१३०३ मा छोराको जन्म दिएकी थिइन् । तीन दिन अस्पताल बसेर २५ गते उनी एम्बुलेन्समा राम्चेस्थित घर फर्केकी थिइन् । घर फर्कँदा एम्बुलेन्ससहित दुईटा गाडी प्रयोग गरेको पाइएको छ ।  

शिक्षण अस्पतालबाट नेपाल रेडक्रस सोसाइटी बाह्रविसे उपशाखाको एम्बुलेन्समा बाह्रविसेमा आएपछि एउटा बलेरोले उनलाई गाउँसम्म पु-याएको थियो । प्रहरी स्रोतका अनुसार एम्बुलेन्समा चालक, मृतक सावित्रा र शिशुसहित ६ जना आएका थिए भने बलेरोमा चालक र मृतकका जेठाजु थपिएका थिए । साबित्रालाई कुन ठाउँमा कोबाट संक्रमण स-यो भन्ने खुलेको छैन ।  

घर र माइती गाउँ सिल

कोरोनाबाट साबित्राको मृत्यु भएपछि सम्भावित संक्रमण फैलन नदिन जिल्लामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ । उनको घर र माइती गाउँ सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उनको घर रहेको बाह्रविसे नगरपालिका–९ र माइती रहेका बलेफी गाउँपालिका–७ र ९ नम्बर वडा सिल गरिएको बताए । ‘सिल गरिएको वडामा आउजाउ बन्द गरिएको छ,’ उनले भने ।  

मृतकको सम्पर्कमा आएका सबैको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ पनि थालिएको प्रजिअ ढकालले जानकारी दिए । उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्न चौतारा अस्पतालका डा. निश्चल बोगटीको संयोजकत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङमा खटिने पाँचै जनालाई चौतारास्थित फिल्ड ट्रेनिङ सेन्टरमा छुट्टै राख्ने व्यवस्था मिलाइएको छ । प्रजिअ ढकालले माइती गाउँबाट धेरै आफन्त सुत्केरी भेट्न मृतकको घरमा पुगेको पाइएको बताए । यो घटनापछि जिल्लामा भने त्रास फैलिएको छ ।       

प्रकाशित: ४ जेष्ठ २०७७ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App