१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लकडाउनका बावजुद गोरखनाथलाई सवालाख रोट चढाइयो

गोरखनाथ मन्दिरमा रोट बनाउँदै र पकाउँदै । तस्बिर : नागरिक

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा लकडाउनका बावजुद १७ औँ पटक सवालाख रोट अर्पण गरिएको छ । राजा पृथ्वीनारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णीमादेखि ११ दिनसम्म रोट चढाउँदै आएको छ ।  

‘यसअघिको १६ औँ वर्षमा सर्वसाधारण भक्तजनले पनि रोट अर्पण गर्नुहुन्थ्यो’ सिद्धाश्रम शक्ति केन्द्रका केन्द्रिय संयोजक रामजी अर्यालले भने ‘यस वर्ष शक्ति केन्द्रले आफैँ मात्र रोट चढायौँ, परम्परालाई निरन्तरता मात्रै दियौँ ।’ बैशाख पूर्णिमादेखि सुरु भएको रोट महोत्सव बैशाख ४ गते सकिँदैछ । सवालाख वटा रोट भने शुक्रबारसम्म चढाईसकेको उनले बताए ।  

गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, किर्तन, पूजापाठ गरेर सयौँ भक्तजनको उपस्थितीमा हुने रोट महोत्सव कोरोना प्रभाव र लकडाउनको असरले केही रौनक थिएन । केन्द्रको भवनमा हवन र गुफामा सिद्धाश्रम शक्ति केन्द्रका सिमित साधक साधिकाले पूजापाठ गरेका हुन् । बिगतका वर्षमा सदरमुकाम देखि रथ बोकेर गोरखनाथ मन्दिर लगिन्थ्यो ।

 यस वर्ष कलशयात्रा, रथयात्रा केही भएन । जिल्ला बाहिरबाट आउने भक्तजन आउन पाएनन भने रोट चढाइएको बारे स्थानीयले समेत पत्तो पाएनन् । ‘भिडभाड गर्न नहुने भएकाले हामीले नगरी नहुने पुजा र रोट मात्रै चढायौँ’ केन्द्रका संयोजक अर्यालले भने । बिगतका वर्षमा २० हजार भन्दाबढिले रोट महोत्सव अवलोकन गरेको दावी केन्द्रको छ ।  

गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मीक मान्यता छ । गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ । रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन ।  

रोट चढाउने ठाउँ गोरखनाथ मन्दिर र गोरखकाली दरबार सँगै छ । निर्माण जिम्मा लिएका ब्यवसायीको लापरवाहीले दरबार पुनर्निर्माणको काम समयमै नहुँदा तीन वर्ष यता रोट चढाउन, भक्तजनलाई पूजापाठ गर्न समस्या भएको छ । लकडाउनको बाहनामा निर्माण ब्यवसायीले अहिले पनि काम गरेका छैनन् ।

प्रकाशित: ३ जेष्ठ २०७७ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App