९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

चोरी निकासी गर्ने दुई भारतीयसहित चार जना पक्राउ

रौतहट- लकडाउनको समयमा नेपाल र भारत दुवैतिर बोर्डर सिल गरिएको तथा सुरक्षाकर्मीको कडा निगरानी रहेको भए पनि तस्करी भने रोकिएको छैन । बुधवारमात्रै चार जना तस्कर पक्राउ पर्नु र लाखौँको सामान बरामद हुनुले सीमा क्षेत्रमा आवश्यक कडाइ हुन नसकेको छर्लङ्ग भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मठिया नाका हुँदै भारतबाट नेपालतर्फ अवैध तरिकाले चोरी निकासी गरेर ल्याउँदै गरेको ७६ किलोग्राम सुर्तीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका वार्ड नम्बर ३ औरैयाका कोदई साह र राजेश साह रहेका छन् । यसै गरी भारतको चैनपुरका मुकेश साह र सुरेश पटेल पनि पक्राउ परेका छन् ।

सुर्तीको भारी टाउकोमा बोकेर सुरक्षाकर्मीको आँखा छली नेपालतर्फ आउँदै गरेका चारै जनालाई प्रहरी चौकी मठियाका असई गोविन्द यादवको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएका चारै जनालाई ईशनाथको औरैया क्वारेन्टाइनमा पठाइएको छ ।

यसैबीच सशस्त्र प्रहरीले गौर भन्सार क्षेत्रबाट डेढ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । भारतको बैरगनिया नाका भएर गौरतर्फ ल्याउँदै गरेको कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्रले पक्राउ गर्न खोजेपछि तस्करहरु कपडा फालेर भारततर्फ फरार भएका थिए ।

लकडाउनको समयमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको भए पनि तस्करी समेत निकै बढेको छ । भारतबाट नेपालतिर लुकीछिपी मानिसहरु धमाधम छिरिरहेको खबर आउँदा तस्करीको सामान बरामद हुनु र तस्करहरु पक्राउ पर्नुले सशस्त्र प्रहरीको काम कारबाहीप्रति शंका उठ्न थालेको सदरमुकाम गौरका युवा विक्रान्त विक्रम नेपालले बताएका छन् ।

प्रकाशित: ३१ वैशाख २०७७ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App