१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बढी मूल्यमा युरिया मल बेचेको आरोपमा एक पक्राउ

युरिया मलको चरम अभाव भएको मौका छोपेर सिन्धुलीमा बढी मूल्यमा युरिया मल बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मुलुक लकडाउन भएकै समयमा बढी मूल्यमा युरिया मल बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक व्यापारीलाई पक्राउ गरेको हो ।  

यहाँको कमलामाई नगरपालिका ६ रातमाटामा रहेको जय बागबानी कृषि सहकारी संस्थाका सञ्चालक युवराज दाहाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेका दाहाललाई अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीका अनुसार प्रतिबोरा युरिया मल ८ सय ५० रुपैयाँ मात्र पर्ने मललाई एक हजार रुपैयाँमा बिक्री गरेको आरोपमा उक्त सहकारीका सञ्चालक दाहाललाई नियन्त्रणमा लिइएको हो । उनको गोदामबाट ७ सय २४ बोरा मल युरिया मल समेत नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।  

प्रहरीले पक्राउ गरेका दाहालले एक जिल्लामा बिक्री गर्न ल्याएको मल अर्को जिल्लामा लगेर बढी मूल्य लिने गरेको आरोप समेत लागेको छ । गत बुधबार जिल्लाका किसानले जय बागबानी कृषि सहकारी संस्थाले बढी मूल्यमा मल बिक्री वितरण गरेको भन्दै गुनासो गर्दै उजुरी गरेपछि प्रहरीले मलको गोदाममा छापा मारेको थियो । दुईओटा गोदाममा छापा मारेरे प्रहरीले ७ सय २४ बोरा मलसहित तीनओटा मल बोक्न प्रयोग भएको ट्रक समेत नियन्त्रणमा लिएको थियो ।

किसानले मल नपाएको गुनासो गरिरहेको समयमा बढी मूल्यमा मल बिक्री गरेको उजुरीका आधारमा सहकारी सञ्चालक दाहाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन् । युरिया मल यो सिजनमा अभाव देखिएको छ, यस्तो बेलामा बढी मूल्य लिएको उजुरीका आधारमा छानबिन गरेका हौ, उनले भनिन्, पक्राउ परेका दाहाललाई कालोबजारी ऐन अन्र्तगत अनुसन्धान भइरहेको छ ।

प्रकाशित: ३० वैशाख २०७७ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App