५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अवरुद्ध पुलको काम सुरु गर्ने स्वीकृतिका लागि प्रशासनलाई आग्रह

खोटाङ, – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध भएको साप्सु खोला पुलको काम सुचारु गर्ने स्वीकृति दिन प्रशासनलाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका कारण ठप्प भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम सुचारु गर्न स्वीकृति प्रदान गर्न आग्रह गरेको हो । 

२०७८ साल जेठ १७ गते सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरिएको प्रिस्ट्रेस बिम पुलको निर्माणस्थलमा सोही आयोजनाका कामदारबाहेक अन्य व्यक्तिलाई प्रवेश नदिने सर्तमा पुल निर्माणको काम सुचारु गर्ने स्वीकृतिका लागि जिल्ला प्रशासन कार्याललाई सिफारिस पठाइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘लकडाउन अगाडि निर्माण कम्पनीले १५ जना कामदारलाई काममा लगाएको थियो, लकडाउनपछि पुलको सबै काम ठप्प छ,’ अध्यक्ष राईले भने, ‘पुलको काममा ढिलाइ हुने भएकाले तिनै १५ जना कामदारमार्फत काम अघि बढाउनका लागि स्वीकृति दिन प्रशासनसमक्ष सिफारिस गरिएको हो ।’ पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सूर्य एन्ड सन्स प्रालि सुनसरीले पनि पुलको काम अघि बढाउन प्रशासनसमक्ष स्वीकृतिको माग गरेको जनाएको छ । 

मूल्य अभिवृद्धि करसहित पाँच करोड ६० लाख १० हजार पाँच सय ४५ रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनी सूर्य एन्ड सन्स प्रालिले शिलान्यास भएको ६ महिनापछि पुलको काम सुरु गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको ४० मिटर लम्बाइ भएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए । 

दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने पुलको काम निर्धारित समयमा सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीका साइड इन्चार्ज हरिप्रसाद बरालले दाबी गरे । प्रिस्ट्रेस बिम पुल बिममा तार घुसाई तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रविधि हो । ‘हामीले विभिन्न ठाउँमा यस्ता पुल बनाएका छौं । अहिलेसम्म निर्धारित समयमै बनाएको रेकर्ड छ,’ निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले भने, ‘यो नयाँ प्रविधिको पुल हो । गुणस्तरमा पनि तलमाथि हुँदैन ।’ 

विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको हो । सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कात्तिक २९ गते सडक विभाग पाटनढोका ललितपुरमा निवेदन दिएको थियो । ‘पुल समयमै बन्नुपर्छ । तलमाथि गर्न दिइन्न,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘समयमा पुल बनेन भने निर्माण कम्पनीले फलामको चिउरा चपाउनुपर्ने अवस्था आउँछ ।’ 

 

प्रकाशित: २७ वैशाख २०७७ ०४:३४ शनिबार

लकडाउन मोटरेबल_पुल निर्माण