५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लकडाउनमा किसानका दुःख, लुकी–लुकी मल र बीउको जोहो

सामाजिक दूरी कायम गरी धानको बीउ लैजान तयारी गरिरहेका किसान। तस्बिरः पुष्पराज जोशी/नागरिक

कैलाली - बजारको कृषि सहकारीमा मल र धानको बीउ आएको खबर पाउने वित्तिकै गौरीगंगा–७, मट्कौना गाउँका किसान रणबहादुर बम आत्तिए। समयमै लाइन नलागे मल र बीउ सकिने भएकाले उनी बर्खे खेतीको जोहोका लागि आत्तिएका हुन्।

फेरि, सरकारले गरेको लक डाउनको पालना गर्दै आएका बमलाई प्रहरीको आँखा छल्दै बजार पुग्नु कम्ता डर छैन। ‘जे होला होला भनेरै मोटरसाइकल निकाले गर हुइँकिएँ गाउँको बाटो मसुरिया बजार,’ उनले भने,‘संयोगले बाटोमा प्रहरी भेटिएनन्, नत्र मोटरसाइकलको चाबी थुतेर प्रहरीले लैजान्थे।’ मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्थामा हत्तपत्त छिरे र आफ्नो पर्ची बनाई मल र बीउ बोकेर फर्किए। उनी मात्रै हैनन् अहिले ग्रामीण क्षेत्रका किसानले समयमै मल र बीउको जोहो गर्न लक डाउन छिचोल्दै दगुर्नु परेको छ।

एकातिर सरकारको लक डाउनको पालना गर्नुपर्ने र अर्कोतिर समयमै मल र बीउ नल्याए बर्खेबाली लगाउन नपाइने भयले किसान यतिबेला चिन्तित छन्। ‘लक डाउन उल्लङ्घन गरेर बजार जाउँ भने प्रहरीले समात्छ, जनाउँ त बर्खे बालीका लागि तारतम्य गर्नै भ्याउँदिन,’ अर्का किसान खुसीराम चौधरीले भने,‘त्यही भएर म पनि लक डाउन छिचोल्दै खेतैखेत साइकल गुडाउँदै बजार आइपुगेँ।’ 

बजारमा प्रहरीले देखेपछि गाउँबाट किन आएको भन्दै सताउने गरेका कारण लुकिछिपी सहकारीसम्म पुगेर मल र बीउको जोहो गरी फर्केको बताउँदै उनले भने,‘मल र बीउ त किने अब सिँचाइका लागि  पम्पसेट चलाउन डिजेल कहाँबाट किन्ने भन्ने चिन्ता थपिएको छ।’ मसुरिया क्षेत्रमा डिजेल नपाइने र इन्धनका लागि चौमाला जानुपर्ने भएकाले ठाउँठाउँमा प्रहरी चेकिङले गाह्रो हुने गरेको उनले बताए। ‘लक डाउनले यसपालिको बर्खे खेती पछाउने (पछाडि पर्ने) सम्भावना रहेको छ,’ उनले भने,‘जसोतसो मल र बीउ पाए पनि इन्धनका लागि टाढा जानुपर्ने बाध्यता रहेका कारण समयमै बीउ राख्न  नपाइने हो कि भन्ने चिन्ता थपिएको छ।’

किसानले यसपालि वैशाख पहिलो सातादेखि नै मल र बीउको जोहो गरेको बताउँदै कृषक सहकारीका अध्यक्ष तथा अगुवा किसान रमेश भाटले भने,‘लक डाउनका समयमा किसान गाउँबाट सहकारीको कार्यालयसम्म आइपुगेका थिए, उनीहरुलाई सामाजिक दूरी कायम गराइ हामीले सहज तरिकाले मल र बीउ उपलब्ध गरायौँ।’ मल र बीउ पाए पनि इन्धनका लागि भने यहाँका किसानलाई समस्या रहेको उनले बताए। ‘मसुरियामा रहेको एक मात्रै पेट्रोल पम्प बन्द अवस्थामा रहेका कारण इन्धन ल्याउन चौमाला या त पहलमानपुर जानुपर्ने भएकाले किसानलाई केही असहजता हुन्छ,’ उनले भने,‘यसका लागि पनि हामीले नगरपालिका र स्थानीय प्रहरी प्रशासनलाई केही सहजता बनाइदिन आग्रह पनि गरेका छौँ।’ 

मल ४ सय ५ जना र धानको बीउ १ सय ७३ जना मसुरिया क्षेत्रका किसानलाई अहिलेसम्म सहकारीबाट उपलब्ध गराइसकेको बताउँदै कृषक बहुउद्देश्यीय सहकारीका व्यवस्थापक लालबहादुर खड्काले भने,‘हामीले सामाजिक दूरी कायम गर्दै किसानलाई मल र बीउ सहज रुपमा बिक्रीवितरण गरिरहेका छौँ।’ यो समयमा किसानले मल र बीउ लैजान नपाएमा बर्खे बाली लगाउन कठिन पर्ने भएकाले पनि उनीहरु लक डाउन छिचोल्दै मल र बीउका लागि धाउन थालेको उनले बताए। सहकारीमा मल र बीउ खोज्दै दैनिक १८÷२० जना किसान आउने गरेको उनले बताए। 

मलखाद र बीउ बिजन लैजान किसानलाई सहजता होस् भनेर कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग पटक पटक समन्वयमै रहेको बताउँदै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने,‘यसका साथै हामीले इन्धन पनि सहज रुपमा किसानले पाऊन् भनेरै प्रहरी प्रशासनसँग समन्वय गरिरहेका छौँ।’ यस्तो समयमा किसान आफैले पनि सुरक्षाका उपाय अपनाउनु पर्ने भएकाले प्रहरी प्रशासनले सोधपुछ गरेमा नहडबढाइ कनै आफूलाई मल तथा बीउ बिजन र इन्धनका लागि भनेर वडा कार्यालय तथा नजिकको कृषि केन्द्रसँग पनि सहकार्य गर्नुपर्ने उनले बताए।

प्रकाशित: २६ वैशाख २०७७ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App