२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

समयमै नचेत्दा समुदायमा संक्रमण

लहान - वीरगन्ज महानगरपालिका–३ छपकैयामा एउटै परिवारका १७ जनामा बुधबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको आकस्मिक बैठक बसेको छ। बैठकले नियन्त्रणात्मक तथा उपचारात्मक राणनीति अपनाउने निर्णय गरेको छ।

संक्रमण फैलिएको क्षेत्रलाई सिल गरेर परीक्षणको गति बढाउने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए। ‘संक्रमित क्षेत्रलाई पूर्णरुपमा सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं’, उनले भने,‘छपकैयाका सबै घरका सदस्यको स्वाब संकलन गरी परीक्षण अघि बढाउँदैछौं।’

स्वाब संकलनका लागि उपलब्ध भएजति भाइरल ट्रान्सपोर्ट मिडिया(भिटिएम) दिएर जनशक्ति परिचालन गरेको उनले बताए। ‘आवश्यक थप भिटिएमका लागि संघीय सरकारसँग समन्वय गरिरहेका छौं’, उनले भने।

संक्रमितको संख्या थपिँदै जाँदा पनि रोकथाम तयारी भने सुस्त देखिएको छ। ६ वटा कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय अझै कार्यान्वयन हुन सकेको छैन।
 

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिनु चिन्ताजनक भएको उनले बताए। ‘समुदायमा संक्रमण फैलिनुमा कमजोरी भएकै हो। पहिलो संक्रमित भेटिएपछि छपकैयालाई हटस्पोट घोषणा गरेर स्वाब संकलन कार्य अघि बढाएकै हो। तर आवश्यक जति कार्य गर्न नसक्दा संक्रमण फैलिँदै गयो’, उनले भने।

संघीय सरकारले आवश्यक सहयोग समयमै उपलब्ध नगराउँदा नियन्त्रणात्मक कार्यलाई गति दिन नसकिएको उनको भनाइ छ।‘संघीय सरकारले पिसिआर मेसिन पठायो, त्यसले पनि सही रिपोर्ट दिएन। अर्को रियल टाइम पिसिआर मेसिन पठायो, त्यसलाई चलाउन आवश्यक उपकरण नै पठाइदिएन’, उनले भने।

भिटिएम र अन्य किट आवश्यकताअनुसार नपठाइदिँदा नियन्त्रणात्मक कार्य पर्याप्त हुनेगरी अघि बढाउन नसकिएको उनले बताए। ‘संख्या अझै बढ्न सक्ने देखिएको छ,’ उनले भने,‘परीक्षणको आयतन बढाएपछि समुदायका कति मानिस संक्रमित छन्, यकिन हुनेछ।’

क्वारेन्टिन, आइसोलेन र कोभिड विशेष उपचार अस्पताल थप्न लागेको मन्त्री यादवले बताए। उनले भने,‘सघन जनसंख्या भएको यस प्रदेशमा संक्रमण दू्रत गतिमा फैलिए अकल्पनीय परिस्थिति उत्पन्न हुन सक्नेमा सचेत छौं। दुईतीन दिनमै थप दुई थान रियल टाइम पिसिआर मेसिन आउँदैछ। पहिचान, परीक्षण र उपचारको गति तीव्र पार्ने निर्णय भएको छ।’

प्रदेश २ मा पहिलो संक्रमितछपकैयामै भेटिएका थिए। एक महिनाअघि छपकैयास्थित मस्जिदमा रहेका २१ जनाको स्वाब परीक्षण गर्दा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमितहरु भारतीय नागरिक थिए। उनीहरु नयाँदिल्लीको निजामुद्दिनमा मर्कज(धार्मिक भेला)मा सहभागी भएर धर्म प्रचारका लागि वीरगन्जको मस्जिदमा आएका जमाती थिए। 

जमातीको कन्ट्याक ट्रेसिङ गर्दा छपकैयामै थप तीनजना संक्रमित भेटिएका थिए। बुधबार भेटिएका १७ जना संक्रमित अघिल्ला संक्रमितको सम्पर्कमा आएका व्यक्ति छन्।

नारायणी अस्पताल वीरगन्जमा कोभिड–१९ बिरामीको उपचारको नेतृत्व गरिरहेका डा. निरज सिंहले भने,‘समयमै नचेत्दा अहिले समुदायमा संक्रमण फैलिसक्यो। जसको डर थियो आखिर त्यही भयो। यहाँको मुस्लिम बाहुल्य क्षेत्रमा घना बस्ती छ। यो बस्तीमा सघन परीक्षण आवश्यक छ। स्वाब परीक्षण नगरेसम्म समुदायमा कति संक्रमित छन्, अनुमान गर्न गाह्रो छ।

उनले भने,‘संक्रमणको अवस्था हेर्दा तत्काल पाँचदेखि सात हजार भिटिएम आवश्यक छ। मुस्लिम बस्तीमा घरघर स्वाब संकलन गर्नुपर्छ। समुुदायका कति मान्छेमा संक्रमण छ, त्यो यकिन गर्न जति ढिला भयो अवस्था उति गम्भीर हुँदै जान्छ।’ संक्रमित यकिन गर्न सकिए उनीहरुलाई एकल्याएरराख्न सकिने र अर्को मानिसमा संक्रमण नफैलिने उनले बताए। 
रोकथाम तयारी सुस्त
दिनप्रतिदिन संक्रमितको संख्या थपिँदै जाँदा पनि रोकथाम तयारी भने सुस्त देखिएको छ। प्रदेश२ मा ६ वटा कोभिड अस्पताल सञ्चालनमा ल्याउन एकैसाथ काम थालिए पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। महोत्तरीको जलेश्वर अस्पताल, पर्साको पोखरिया अस्पताल, सप्तरीको भारदह अस्पताल, धनुषाको डुमरिया अस्पताल, बाराको कलैया अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालकै परिसरमा रहेको नर्सिङ कलेजमा ५० बेडको कोभिड अस्पताल तयार गर्ने भनिएको थियो।काम सम्पन्न नहुँदा प्रदेशभरमा कोरोना संक्रमितको उपचार गर्ने एकमात्र अस्पतालका रुपमा नारायणीमात्रै सञ्चालनमा छ।

 

प्रकाशित: २५ वैशाख २०७७ ०२:३७ बिहीबार

संक्रमण काेराेना