२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नेपालगन्जबाट ३४८ जनाको उद्धार

वीरेन्द्रनगर, - कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका तीन सय ४८ अलपत्र नागरिकको शनिबार र आइतबार उद्धार गरिएको छ । कोरोना संक्रमितको संख्या १० पुगेको नेपालगन्जबाट हवाई उडानमार्फत कर्णाली प्रदेश सरकारले उनीहरूको उद्धार गरेको हो ।

नेपालगन्जबाट शनिबार पाँच र आइतबार १७ वटा हुम्लाका लागि उडान भएको नेपालगन्ज विमानस्थल सुरक्षा प्रमुख सन्तोष शाहले जानकारी दिए । उनका अनुसार शनिबार ७८ र आइतबार दुई सय ७० नागरिकको उद्धार गरिएको छ । ‘अझै बाहिर पाँच सयजना भन्दा बढी नागरिक छन् भन्ने सुनिएको छ,’ उनले भने । दुई दिनमा यति भए पनि नेपाल सरकारले लगाएको लकडाउन अवधिभरि एक हजारभन्दा बढी नागरिक हुम्ला पुगेको स्थानीयको भनाइ छ । सडक सञ्जाल नपुगेको हुम्लामा एक मात्र विकल्प भनेको हवाई उडान हो । यसभन्दा पहिला धेरै नागरिक मुगु हुँदै हुम्ला पुगेका थिए ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा हुम्लाभन्दा बाहिर रहेका र घर जान इच्छुकलाई उद्धार गरिएको हो । संघीय सरकारले हवाई उडानका लागि अनुमति दिएको थियो । प्रदेश सरकारले अलपत्र परेका नागरिकको उद्धार गर्ने जिम्मा पाएका थिए । यसमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावतले उद्धार गरिएका नागरिकको स्वास्थ्य परीक्षण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । ‘उद्धार गरिएका नागरिकको सामान्य स्वास्थ्य परीक्षण मात्र गरियो,’ उनले भने, ‘उनीहरूलाई क्वारेन्टाइनमा राख्न सकिएन । अनि अनिवार्य रूपमा आरडिटी परीक्षण गर्नु पर्ने हो त्यो पनि भएन ।’ यसले गर्दा हुम्ला कोरोनाको उच्च जोखिममा परेको उनले बताए ।

लकडाउन थपियो भने समस्या हुन सक्ने भन्दै काठमाडौंलगायत विभिन्न क्षेत्रकालाई उद्धार गरिएको थियो । प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नसक्नु नै ठूलो कमजोरी भएको उनको भनाइ छ । स्थानीय तहले नागरिक सुरक्षित राख्ने प्रतिबद्धता जनाएपछि मात्र उद्धारका लागि अनुमति दिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले बताइन् । ‘यसको जिम्मा स्थानीय सरकारले लिनुपर्छ,’ उनले भनिन्, ‘यसमा प्रशासन जिम्मेवारी छैन ।’ कोरोना संक्रमितको संख्या बढ्दै गएको नेपालगन्जबाट सामान्य स्वास्थ्य परीक्षण गराएर मात्र नागरिक भित्रिए पनि प्रजिअ भट्टराईले गैरजिम्मेवारीपूर्ण तर्क गरिन् । उनले अब प्रशासनले कस्तो सजगता अपनाउँछ भन्ने नागरिकको प्रश्नमा भनिन्, ‘सरकारले जस्तो गर्छ उसै हुन्छ ।’ उनको भनाइले उनी त्यति संवेदनशील नभएको र स्थानीय तहसँग खासै समन्वय नभएको प्रस्ट्याउँछ । 

योभन्दा अझ चीनमा कोरोना भाइरस फैलिँदै गएको र नेपालमा लकडाउन सुरु नहुँदा काठमाडांै आएकाहरू पनि त्यहीँ उडानमार्फत हुम्ला पुगेका छन् । उनीहरूलगायत उद्धार गरिएका नागरिक मनोमानी ढंगले हिँड्ने गरेका छन् । जसले यहाँ कोरोनाको थप जोखिम निम्त्याएको छ । कोरोना देखिएको क्षेत्रबाट नागरिक हुम्ला पुगेकाले यहाँ चुनौती थपिएको बताइएको छ । अब सरकारले उद्धार गरिएका सबै नागरिकको छिटोभन्दा छिटो आरडिटी परीक्षण गर्नुपर्ने स्थानीय महेश लामाको भनाइ छ ।

 

प्रकाशित: २२ वैशाख २०७७ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App