काठमाडौं, - राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कार्यकारिणीका नजरमा सञ्चार माध्यमलाई बाधकका रूपमा हेरिनु चिन्ताको विषय भएको जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आइतबार आयोजना गरेको संवाद कार्यक्रममा शर्माले पत्रकारको मुख थुन्न सकिए पनि मस्तिष्क बन्द गर्न सरकारसहित कसैले पनि नसक्ने बताएका हुन् ।
पत्रकारको पेशागत सुरक्षामा सुधार हुन नसकेको जनाउँदै शर्माले लोकतन्त्रप्रति प्रतिबद्ध सरकार प्रेससँग सहिष्णु हुन नसकेको गुनासो गरे । जनाताको मौलिक हक जोडिएका मुद्दालाई मिडियामा स्थान दिनुपर्नेमा राजनीतिक मुद्दालाई बढी प्राथमिकता दिएको पाएको धारणा राख्दै उनले सरकारले सञ्चार माध्यमलाई टेवा दिनुपर्नेमा त्यस्तो नदेखिनु दुःखद भएको बताए ।
त्यस्तै महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले नेपाली पत्रकारिता क्षेत्रमा कानुनी बन्देज र प्रेसप्रतिको असहिष्णु गरी दुईखाले चुनौती थपिएको बताए । त्यसका लागि सबै एकजुट भई लड्नुपर्ने धारणा राखे ।
कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको पत्रकारिता क्षेत्रमा नीतिगत असुरक्षा बढ्दै गएको धारणा राखे । लोकतन्त्र आएपछि पनि प्रेस स्वतन्त्रताका लागि लड्नुपर्ने अवस्था आउनु विडम्बना भएको जनाउँदै उनले कोरोना भाइरसका कारण अझ पत्रकारको पेशागत तथा भौतिक सुरक्षामा चुनौती थपिएको बताए ।
प्रकाशित: २२ वैशाख २०७७ १२:३० सोमबार