२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नेपालगन्जका १५ जना संक्रमितलाई आइसोलेसनमा राखियो

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुनसान बनेको नेपालगन्ज बजार।तस्बिर ः अर्जुन ओली/नागरिक

नेपालगन्ज - नेपालगन्जमा एकै दिन फेला परेका १५ जना कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा राखिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित ‘जोलहनपुर्वा’ टोलका १५ जना संक्रमित फेला परेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण पुष्टि गरेपछि प्रहरीले टोलमै पुगेर खोजी गरी आइतबार मध्य रातिसम्म सबैलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा पुर्याएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) बीरबहादुर ओलीले नयाँ संक्रमित १५ जनालाई आइतबार राति आइसोलेसनमा पुर्याइएको जानकारी दिए। ‘संक्रमण पुष्टि भएपछि टोलमा पुगेर उनीहरुको पहिचान गर्न सुरुमा धेरै कठिन भयो, बल्ल तल्ल पत्ता लगाएर सबैलाई आइसोलेसनमा राखेका छौं,’ उनले भने। अहिलेसम्म प्रहरी, प्रशासनले संक्रमित ब्यक्तिलाई मात्र पहिचान गरेर आइसोलेसनमा पुर्याएको छ। ओलीले भने, ‘संक्रमित ब्यक्तिका परिवारसम्म त हामी पुग्न सकेकै छैनौं, तिनको परिवार संख्या कति छ, कुन अवस्थामा छन्, प्रहरीले प्रोफाइल तयार पार्दैछ।’

यसअघि शुक्रबार नेपालगन्ज–७ डिएसपी रोडस्थित ‘मोसीटोल’ निवासी ६० बर्षिय पुरुषमा कोरोना संक्रमण देखा परेको थियो। उनी पनि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमै बसेका छन्। उनको परिवारका ७ जना सदस्यलाई भने महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको एसपी ओलीले बताए। ‘उनीहरुको स्वाब परिक्षण गर्न पाइएको छैन,’ उनले भने।  

एउटै टोलमा संक्रमण फैलिएको पत्ता लगाउन अन्यौल

अहिलेसम्म नेपालगन्जमा कोरोना संक्रमितको संख्या १६ पुगिसकेको छ।  एउटै टोलका ब्यक्तिमा एकैपटक कसरी कोरोना संक्रमण फैलियो ? भन्नेबारे स्वास्थ्य अधिकारी नै अन्यौलमा छन्। यद्यपि ६० बर्षिय पुरुषबाटै संक्रमण फैलिएको हुन सक्ने सबैको अनुमान छ।

‘एउटै टोलका यति धेरै मानिसमा कसबाट र कसरी संक्रमण फैलियो, यसको मुख्य कारण पत्ता लगाउनै सकिएको छैन, हामी पनि अन्यौलमा छौं,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह भन्छन् ‘अहिलेसम्मको आशंका अनुसार ६० वर्षकै ब्यक्तिले अरु ब्यक्तिसँग सम्पर्क बढाउँदा फैलिएको हुन सक्छ।’ नेपालगन्जमा कोरोना भाइरसको महामारी भयावह हुन सक्ने भन्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार लगायत सिंगो क्षेत्रको ध्यान यहाँ केन्द्रित गर्न स्वास्थ्यकर्मीको आग्रह छ।

६० बर्षिय संक्रमित जोलहनपुर्वा टोलमा रहेको एक मस्जिदमा साँझ–बिहान नमाज पढ्न तथा मदरसाका बिद्यार्थीलाई पढाउथ्ये। उनीबाटै अन्य ब्यक्तिमा संक्रमण फैलाएको हुन सक्ने शंका गरेपनि पुष्टि भएको छैन। दुई महिनाअघि आफू भारतबाट फर्केको उनले यसअघि बयान दिइसकेका छन्। मुस्लिम अगुवाका अनुसार उनी ‘जमाती’ समुदायका हुन्। उनले अन्य ब्यक्तिलाई पनि सम्पर्क गरेको आशंकामा शनिबार महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोलका ८३ र डिएसपी रोडस्थित मोसीटोलका ७ जनाको स्वाब संकलन गरिएको थियो।

संकलित कुल ९० वटा स्वाब मध्ये ६० वटाको मात्र रिपोर्ट आउँदा आइतबार बेलुकीसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो। अझै बाँकी ३० वटा स्वाबको रिपोर्ट आउन बाँकी रहेको र सोमबार बेलुकासम्म सबै रिपोर्ट आउने भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए।

‘६० वटा स्वाबको रिपोर्ट आउँदा १५ जनामा देखिएको हो, अझै ३० वटा स्वाबको रिपोर्ट आउन त बाँकी नै छ,’ उनले भने ‘सबै स्वाबको रिपोर्ट आज(सोमबार) बेलुकीसम्म आउँछ।’ डा. थापाका अनुसार आइतबार दिउँसो पनि थप १५ जनाको स्वाब संकलन गरिएकोमा उक्त रिपोर्ट पनि आउन बाँकी छ। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन ४० बेड क्षमता बढाउनुपर्ने अवस्था देखिएको मेसु थापाले बताए।

‘कोरोना संक्रमितको संख्या बढ्न थालेको छ, त्यहाँ ४० बेडको मात्र क्षमता छ, आइसोलेसनमा काम गर्ने कर्मचारीलाई त्यही बस्ने ब्यवस्था गरिएको छ, त्यसकारण आइसोलेसनको क्षमता बढाउने अवस्था आयो,’ उनले भने। टोलभरी संक्रमण फैलिएको आशंकामा महेन्द्रपार्क क्षेत्र, डिएसपी रोड लगायत स्थानलाई पुरै शिल गरिएको छ। स्थानीय प्रशासनले डोरीको घेरा हालेर सुरक्षाकर्मी परिचालन गरी त्यो क्षेत्रमा आवत–जावत गर्न रोक लगाएको छ।

प्रहरी प्रमुख एसपी ओलीले नेपालगन्जका चारैतिरका नाकामा अत्यावश्यक काम बाहेक कसैलाई पनि आवत जावत गर्न नदिइएको बताए। संक्रमितको संख्या बढ्न थालेपछि नेपालगन्जबासी त्रसित भएका छन्। नेपालगन्जको मुख्य बजार क्षेत्र पुरै सुनसान बनेको छ।

प्रकाशित: २२ वैशाख २०७७ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App