७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मुख्यमन्त्री पौडेलद्वारा कोरोनाविरुद्धको लडाइँमा झा र अन्य चिकित्साकर्मीलाई बधाई

फाइल तस्बिर : नागरिक

हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताएका छन्। आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय महिला मिसन युएन वुमनले छनोट गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य मोर्चाको अग्रपङ्क्ति सम्हाल्ने विश्वका पाँच महिलाभित्र नेपालकी डा रुना झा पनि पर्न सफल भएकामा हार्दिक बधाई ज्ञापन गरे।

तपाईँ र तपाईँजस्ता चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुनेछ, मुख्यमन्त्री पौडेलले जारी गरेको बधाई सन्देशमा उल्लेख गरेका छन्। मुख्यमन्त्री पौडेलले यो सफलता देशको सबैभन्दा ठूलो सरकारी प्रयोगशालामा रहेर दैनिक औसत ७० बिरामीको स्वास्थ्य परीक्षण रिपार्टको अन्तिम टुङ्गो लगाउनुहुने डा झा र उनको समूहकोे अद्वितीय सफलता हो भनेका छन्। पौडेलले यो सफलता कोरोना भाइरसको कहरका बीचमा प्राप्त अवसरको समुचित प्रयोगबाट निस्किएको राष्ट्रिय उपलब्धि  पनि भएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री पौडेलले नेपालका लागि कोरोना भाइरस एक महामारी मात्रै नभई संसारलाई नेपाली जनताको विवेक, स्वास्थ्यकर्मीको क्षमता, सुरक्षाकर्मीको लगन र सरकारको व्यवस्थापन देखाउने सुनौलो अवसरका रूपमा पनि आएको उल्लेख गरेका छन्। उनले सन्देशमा कोरोनाविरुद्ध सरकारले व्यवस्थित र चुस्त रणनीति अपनाएको, देशभर परीक्षणको व्यवस्था गरेको तथा वाग्मती प्रदेशमा मात्रै विभिन्न छ स्थानबाट कोरोनाको परीक्षण भइरहेको उल्लेख गरेका छन्। कोरोनाविरुद्ध हामी सबै डटेर लागेका छौँ, हामी चाँडै नै कोरोनालाई सधैँका लागि बिदा गर्दैछौँ, मुख्यमन्त्री पौडेलले सन्देशमार्फत भनेका छन्। रासस

प्रकाशित: २१ वैशाख २०७७ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App