७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोरोनाविरुद्धको कोषमा रकम जम्मा गर्ने समाजसेवी राईको घोषणा

कोरोनविरुद्धको कोषमा रकम जम्मा गर्ने घोषणा गरेका समाजसेवी जनकराज राई । तस्बिर : नागरिक

खोटाङ– खोटाङका समाजसेवी जनकराज राईले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । हाल ललितपुरमा बस्दै आएका समाजसेवी राईले हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको नगरस्तरिय विपद व्यवस्थापन कोषमा ३० हजार २ सय ३७ रुपैयाँ जम्मा गरिदिने घोषणा गरेका हुन् ।

ललितपुर महानगरपालिका–१५ सातदोबाटो र महालक्ष्मी नगरपालिका–८ लुभुमा रहेको दुई वटा घरमा बसिरहेका व्यक्तीलाई चैत महिनाको घर भाडा छुट दिएका राईले पुनः नगरस्तरिय विपद व्यवस्थापन कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् । कोरोना भाइरसविरुद्धको लडाईमा नगरपालिकासँग हातेमालो गर्ने प्रयास स्वरुप कोषमा रकम जम्मा गर्ने घोषणा गरेको समाजसेवी राईले बताए । राईले लकडाउनका कारण बन्द बैंक खुला भए लगत्तै नगरस्तरीय विपद व्यवस्थापन कोषको नाममा माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा रकम जम्मा गर्ने बताएका छन् ।

विपद व्यवस्थापन कोषमा सहयोग गरेर कोरोना भाइरस विरुद्धको अभियानमा साथ दिनका लागि नगरपालिकाले आग्रह गरेको केही समयपछि समाजसेवी राईले सहयोगको घोषणा गरेका हुन् । भर्नाको भएको ७ वर्षमै ब्रिटिस आर्मीबाट फर्काइएका राई हाल शहरमा बसेर आफ्नो गाउँ–ठाउँको सेवामा क्रियासिल छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम ठेगाना भएका राईकै अगुवाईमा २०७२ सालमा दुर्छिममा ‘होलेसुङ–जनकराज राई मार्ग’ निर्माण गरिएको थियो ।

कोरोना भाइरस निवारणका लागि सचेतनामुलक गतिविधि सञ्चालन गर्न, आवश्यक जनशक्ती परिचालन गर्न, उद्धार तथा सहयोगका सामग्री जुटाउने लगायतका प्रयोजनका लागि नगरपालिकाले विपद व्यवस्थापन कोष स्थापना गरेको हो । हाल विपद व्यवस्थापन कोषमा सहयोग जुट्नेक्रम जारी रहेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । सो कोषमा हलेसी तुवाचुङ नगरपालिकाका होटल व्यवसायीबाट २५ हजार, कांग्रेसका महाधिबेसन प्रतिनिधि जितेन्द्र ठकुरीबाट २५ हजार लगायतका रकम जम्मा भइसकेको छ ।

 

प्रकाशित: २० वैशाख २०७७ १५:३७ शनिबार

कोरोना कोष घोषणा