५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाह्य तरकारी आयातमा खुल्ला गरेपछि सिन्धुलीमा बढ्यो त्रास

सिन्धुलीको तरकारी बजारमा बाहिरी जिल्लाबाट आयात भएको हरियो तरकारी । तस्बिर : अनिल/नागरिक

सिन्धुली- भारतीय तरकारीलाई सिन्धुलीमा आयात गर्न खुल्ला गरेपछि स्थानीयलाई कोरोनाको त्रास बढेको छ । झन्डै तीन साता अगाडीबाट सिन्धुलीमा भारतीय तरकारीसहित तराई तथा बाह्य जिल्लाबाट आउने तरकारी फलफूल अण्डामा प्रतिवन्ध लगाइएको भएपनि हाल खुल्ला गरिएपछि स्थानीय त्रसित बनेका छन् ।

व्यापारीहरुको दबावपछि जिल्ला प्रशासन कार्यालयले सर्वदलिय छलफल गराएर सिन्धुलीमा प्रतिबन्ध गरिएको तरकारी आयात गर्न खुल्ला गरिएको स्थानीयको आरोप छ । तरकारी बजारमामा तराईका जिल्लासहित भारतीय बजारबाट समेत तरकारी आउने गरेकाले कोरोना संक्रमण हुनसक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । आजसम्म जतिपनि संक्रमित छन्, ति सबै देशबाट आएका छन्, यसैले नेपाल हालसम्म सुरक्षित नै छ भन्ने अवस्था थियो तर बाहिरबाट तरकारी आयात हुन थालेपछि त्यसको सक्रमण सिन्धुलीको तरकारी बजारमा नआउला भन्न सकिदैन, स्थानीय प्रलाद पोखरेलले भने, हाल बाह्य तरकारी आयात गर्नु उचित थिएन ।

जिल्लाका विभिन्न स्थानमा किसानले उत्पादन गरेको तरकारीले बजार भाउ नपाएको तथा बिक्री वितरण नभएको गुनासो आइरहदा बाहिरी जिल्लाको तरकारी आयात गरेर त्रास बढाउनुका साथै किसानलाई मर्कामा पारिएको किसान बताउँछन् । विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले मुलुक बन्दाबन्दी गरेसँगै सिन्धुलीमा हरियो तरकारी, फलफूल माछा अण्डा आयातमा प्रतिबन्ध लगाइएको थियो । तर सरकारले बन्दाबन्दी जारी राखेको भएपनि सिन्धुलीमा प्रतिबन्धलाई फुकुवाग गर्दै लक डाउनसमेत कमजोर बन्दै गएकाले त्रास बढेको छ । पहुँचवाला सबैलाई स्थानिय प्रशासन तथा स्थानिय सरकारले पासको व्यवस्था गरेपछि सवारी बाक्लै चलेको छ भने कमजोर बर्ग त्यसको प्रत्यक्ष मारमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठक बसी अण्डा हरियो तरकारी आयातमा खुल्ला गरेका हौ, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले भने, जिल्लामा हरियो तरकारीको भाउ अस्वभाविक बृद्धि भएको गुनासो बढेपछि बाह्य तरकारीलाई समेत खुल्ला गरेका हौ । सिन्धुलीमा तरकारी खानै अभाव हुने अवस्था थिएन, मेरो व्यक्तिगत बिचारमा हाल तरकारीलाई आयात खुल्ला गर्नुपर्ने अवस्था थिएन, यहाँको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले भने, यो आयात खुल्ला गर्नु बेठिक थियो तर सर्वपक्षिय बैठकले खुल्ला गरेको हो । बाह्य जिल्लाबाट तरकारी आयात गर्न खुल्ला गरेपछि तरकारी कुन जिल्लाबाट आयो भन्नेनै हुदैन मनपरी छ, उनले भने ।

तरकारी बजारका व्यवसायी स्वयम् भारतीय तरकारी आयात भएको स्वीकार गर्छन्, हरियो तरकारी कागती इन्डियाबाटै आउने हो, तर इन्डियाबाट आयात गर्छौ भन्दा व्यापार खस्किन्छ, एक तरकारी व्यवसायीले भने, व्यापारनै छैन । जिल्ला समन्वय समितिका प्रमुख शंकर बर्मा तिवारी पनि बाहिरी जिल्लाको तरकारी आयात गर्न बन्दगर्नुपर्ने बताउछन् । कोरोनाको त्रास बढिरहेको समयमा बाहिरी तरकारी सिन्धुलीमा आयात गरेर थप त्रास बढाउन नहुने र जिल्ला भित्रका र केहि उत्तरी छिमेकी पहाडी जिल्लाबाट तरकारी ल्याउदा सिन्धुलीमा प्रसस्त पुग्ने उनको भनाई छ ।


                                 

प्रकाशित: २० वैशाख २०७७ १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App